धिरेन्द्र भट्ट/काठमाडौ
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ। आज सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी भएको दावी गर्दै उनलाई रिहा गर्न आदेश सुनाएको हो।
भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाई नाटकीय रूपमा अदालत परिसरबाटै पक्राउ गरिएको थियो।
उनका वकिलहरूले उक्त गिरफ्तारी गैर कानुनी रहेको तर्क गरेका थिए भने उनको दल पाकिस्तान तहरिक-ए-इन्साफले त्यो राजनीतिक रूपमा प्रेरित रहेको जनाएको थियो।
खानको पक्राउसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै २,००० भन्दा धेरै मानिसहरू पक्राउ परेका थिए।
मङ्गलवारको गिरफ्तारीले खान र सेनाबिच समेत तनाव उत्पन्न गराएको थियो।