धिरेन्द्र भट्ट/काठमाडौ
नेपाल क्रीकेट संघ(क्यान) को बिरोधमा आज काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। नाबालिक बलात्कारको अभियोग लागेका क्रीकेटर सन्दीप लामिछानेलाई क्यानले गरेको निलम्बन फुकुवाको बिरोधमा प्रदर्शन भएको हो।
प्रदर्शनकारीहरुले बलात्कार आरोपीलाई क्यानले साथ दिएको भन्दै आरोपी र क्यान दुबैलाई बहिस्कार गर्नुपर्ने नारा सहितका पम्प्लेट बोकेका थिए।
सन्दीप विरुद्ध नाबालिक बलात्कार अभियोगको मुद्दा काठमाडौ जिल्ला अदालतमा विचाराधीन छ। यद्यपि, पुस २८ गते पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रकम धरौटीमा रिहा गर्न आदेश सुनाइसकेको छ। त्यसको भोलिपल्ट अर्थात पुस २१ गते उनले धरौटी रकम उच्च अदालतमा बुझाएर घर फर्किएका थिए।
क्यानले सन्दीपको रिहाई पछि माघ १७ गते उनी माथिको सम्पुर्ण निलम्बन हटाएको छ। हाल सन्दीप फागुन पहिलो साता कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइसिसी विश्वकप लिग-२अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा छन्।
अदालतले सन्दीपको धरौटीमा रिहा गर्ने आदेश केहि सर्तहरु सहित सुनाएको थियो। उनको रिहाई भए पनि अदालतले उनलाई विदेश जान भने रोक लगाइएको छ। यस्तै, काठमाडौ बाहिर जानुपरेमा काठमाडौ प्रहरी बृतलाई खबर गरेर मात्र जान पाउने जस्ता सर्त रहेका छन्।
तर, सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेलाउन नपाउने अथवा टिममा समावेश गर्न नपाउने भन्ने बारे अदालत मौन रहेको छ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक टेलिभिजन अन्तर्वार्तामा अदालतले समेत सन्दीपलाई क्रीकेट खेल्न रोक नलगाएको कारण उनी माथिको निलम्बन फुकुवा गरिएको बताएका छन्।
‘अन्तिम फैसला मुद्दाको १० वर्ष चल्यो अनि उनी निर्दोष भए? एउटा खेलाडीलाई अनुशासन को दायरा मा ल्याइरथ्यो अनि उनको निलम्बन फुकुवा गरियो’, चन्दले भने, ‘हाम्रो क्रिकेट बोर्डमा पीडित लाई यता उता भन्ने हुँदैन ।’
सन्दीपमाथीको निलम्बन फुकुवा पश्चात् समाजिक सञ्जाल प्रयोगकर्ताहरु दुई पक्षमा बाडिएका छन्। एक थरिले क्यानको निर्णय सन्दीप माथी गरिएको न्याय र उनको प्रतिभाको कदर भएको बताउदै छन्। अर्का थरीहरुले क्यानले बलात्कार आरोपीलाई साथ दिएको भन्दै आरोपी र क्यान दुबैलाई बहिस्कार गर्नुपर्ने स्टाटस एवं कमेन्टहरु मार्फत समाजिक सञ्जाल तताइरहेका छन्।
एक किसिमले हेर्ने हो भने सन्दीपलाई क्रीकेटबाट अलग गर्नु भनेको उनिमाथीको अन्याय नै देखिन्छ। हाम्रो देशको कानुनले फौजदारी अभियोगमा पीडितलाई कतिसम्मको न्याय र आरोपिलाई हदैसम्मको दण्डको ब्याख्या गरेको छ।
आरोप प्रमाणित नहुदा सम्म आरोपीलाई थुनामै राख्ने कानुन नेपालमा छ। तर, विश्वमा यस्ता कतिपय देशहरुमा बलात्कारको आरोपमा आरोपीले बाहिर रहि आफुबिरुद्दको मुद्दा लड्न पाउने हक त्यहाँको कानुन र संविधानले दिएको छ।