September 19, 2021, Sunday
२०७८ आश्विन ३

स्वास्थ्य सजगता बिना नै आवतजावत गर्दै बागलुङबासी

229

बागलुङ – बागलुङबासी पछिल्लो समय स्वास्थ्य सजगता बिना नै आवतजावत गर्न थालेका छन्।

कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएपनि बागलुङमा स्वास्थ्य सतर्कता निकै घटेको हो। सरकारी तथा निजी संघ-संस्थाहरुमा पहिले अपनाइएको सावधानी कमजोर हुँदै गएको पाइएको छ।

सजगता नअपनाउँदा समुदायस्तरमा कोरोना संक्रमण बढ्ने जोखिमका कारण सरोकारवाला चिन्तित छन्। गत चैतमा लकडाउन गर्नुअघि बागलुङ नगरपालिकासहितका अधिकांश कार्यालय प्रवेशमा हेल्थ डेक्स राखिएको थियो। जिल्ला प्रवेशमा पनि कडाइ थियो। काम विशेषले कार्यालयमा पुग्नेले ज्वरो नाप्ने र सेनिटाइजर लगाएर मात्रै भित्र जान पाइन्थ्यो।

त्यतिबेला देशभर कोरोनाका संक्रमित एकदुई जना मात्रै थिए। लकडाउन भएकै समयमा चैतमा बागलुङमा दुईजना संक्रमित भेटिएपछि सामान्य हिँडडुल गर्न पनि कडाई भयो। घरबाट बाहिर ननिस्कने, निस्कनै पर्दा अस्पतालको बाटो नहिँड्ने बागलुङबासी अहिले भीडभाड गर्न थालेका छन्। देशभर कोरोना संक्रमितको संख्या बढेको छ।

समुदायस्तरमै कोरोना संक्रमण देखिएको छ। तर, जिल्लाबासीले स्वास्थ्य सजगता र सतर्कता अपनाउन छाडेका छन्‌।  पहिले प्रवेशमै कडाई गरिएका कार्यालयमा अहिले निर्वाध आवतजावत हुने गरेको छ। यसअघि खोलिएका हेल्थ डेक्सहरु अलपत्रजस्तै देखिन थालेका छन्। हात धुन पानी राखिएका ड्रम रित्तिएका छन्। साबुन र सेनिटाइजर देखिन छाडेका छन्।

प्रहरी कार्यालयमा प्रवेश गर्दा मात्रै अनिवार्य हात धुन लगाइन्छ। अन्यत्र त्यो व्यवस्था छैन। जिल्ला प्रशासनमा समेत चासो गरिँदैन। बागलुङ नगरपालिका र अन्य सरकारी कार्यालयमा पनि अहिले सिधै मानिस प्रवेश गर्छन्। सुरक्षाको चासो गरेको भेटिँदैन। 

नगरपालिकामा स्वास्थ्य शाखा पनि छ। तर शाखाका कर्मचारी र स्वास्थ्यकर्मीहरु बिहानैदेखि कन्टयाक्ट ट्रेसिङका मानिसको स्वाब संकलनमा व्यस्त भइरहन्छन्।