September 19, 2021, Sunday
२०७८ आश्विन ३

रुकुमकोटका सिसा रानिकोटमा व्यवस्थापन

234

मदन बिसी / रुकुम पुर्व

सिस्ने गाउँपालिका रुकुम पुर्वले सदरमुकाम रुकुमकोटका विभिन्न स्थानमा रहेका सिसा तथा सिसाका टुक्रा व्यवस्थापन गर्न सुरु गरेको छ । गाउँपालिकाले सदरमुकाम रुकुमकोटका विभिन्न स्थानमा रहेका सिसा तथा सिसाका टुक्रा ६ नम्बर वडाको रानिकोटमा व्यवस्थापन गर्न लागेको हो ।

गत श्रावन ३१ मा बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार रुकुमकोटमा भएका सिसा तथा सिसाका टुक्रा तत्कालको लागि रानिकोटमा लगेर व्यवस्थापन गर्ने निर्णय भए अनुसार रुकुमकोटका सिसा रानिकोटमा व्यवस्थापन गर्न सुरु गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले जानकारी दिए।

विशेष गरी रुकुमकोट उपत्यका भित्र ठुला ठुला होटेल व्यवसाय गर्ने व्यापारीहरु लगायत अन्य साना व्यापारी तथा नागरिकले जथाभावी सिसा फालेर मुख्य छिप्रि दह बजार, कमलदह बजार र चोकबजार अव्यवस्थित बनाएकाले त्यसको व्यवस्थापनको लागि गाउँपालिकाले यस्तो उपाए अपनाएको दाहालले जानकारी दिए ।

जथाभावी फालिएका सिसाले अप्रिय घटना घटन सक्ने भएकाले पनि सिसा व्यवस्थापन गर्न सुरु गरिएको हाे । सिसा संकलनको लागि गाउँपालिकाले महिनामा दुई पटक बजार क्षेत्रमा ट्याक्टर तथा टिप्पर पठाउने भएको छ । आज गाउँपािलकाले दुई टिप्पर सिसा तथा सिसाका बोतलहरु व्यवस्थापन गरेको छ ।

अव देखि गाउँपालिका आफैले सिसा व्यवस्थापन गर्न सुरु गरेकाले जथाभावि सिसा नफालि सुरक्षित ठाउँमा मात्र राख्न पनि सिस्ने गाउँपालिकाले सवैलाई अनुरोध गरेको छ ।