September 19, 2021, Sunday
२०७८ आश्विन ३

धितो राखेको सुन लिएर पसले फरार

239

विराटनगर – मोरङ बुढीगंगा २ टंकीसिनुवारीकी देवी थापा निरौलाले  व्यवहार टार्न साढे चार तोला सुन धितो राखेर स्थानीय ‘चन्दा ज्वेलर्समा १ लाख रुपैयाँ कर्जा लिएकी थिइन्।

तर देवी थापाले सुन धितो राखेको सुनसहित लिएर चन्दा ज्वेलर्सका सञ्चालक चन्दन स्वर्णकार र संगीता स्वर्णकार बेपता भएका छन्। ज्वेलर्समा ४ लाख ५० हजार मुल्य बराबरको सुन लिएर सञ्चालक नै बेपता भएपछि दुःख गरेर आर्जेको सम्पत्ति डुब्ने खतरा बढेकामा अहिले देवी ठूलो समस्यामा परेकी छिन्।

उनीमात्र होइन बढीगंगा ३ बासवारीकी राधा बरालको समस्या पनि उस्तै छ।  तत्काल गर्जो टार्न राधाले पनि ‘चन्दा ज्वेलर्स’मा १४ हजार रुपैयाँमा आधा तोला सुन धितो राखेर घर व्यावहार चलाएकी थिइन्। ‘लकडाउनले गर्दा समस्या भएपछि भएको आधा तोला सुन २ भदौमा पैसा लिएको थिए, ’उनले भनिन्, ‘अहिले धितो राखेको सुन उकास्न आउँदा सुनपसल बन्द छ।’ देवी र राधा जस्तै अहिले एक सय बढी स्थानीयले धितो राखेको सुन लिएर चन्दा ज्वेलर्स सञ्चालक फरार भएपछि सुन उनीहरुको बिचल्ली भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनुवारी स्वर्णकारको सुन पसल गएको एक सातादेखि पसल बन्द छ। सर्वसाधारणले धितोमा राखेको सुनचाँदी लिएर चन्दा ज्वेलर्स सञ्चालक चन्दन र संगीता सबै सुनचाँदी लिएर फरार भएका हुन्।