November 27, 2020, Friday
२०७७ मंसिर १२

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

294

काठमाडौँ – प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो ।

विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो ।

देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो ।

Recent Update