November 27, 2020, Friday
२०७७ मंसिर १३

चीनले नाका बन्द गरेपछि केरुङमा रोकिए ११ लाख सिरिन्ज 

234

चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएका छन् ।

रसुवागढीमा कोभिड–१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो । स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो ।

विभागले भन्सारलाई लेखेको पत्रमा भनिएको छ, ‘बालबालिकाको खोपलाई चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम रहेको छ ।’ सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी विभागले स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ । भन्सारले भने आफ्नो पहलबाट सामान ल्याउन नसक्ने जानकारी माथिल्लो निकायमा दिएको छ ।इकान्तिपुर

Recent Update