December 1, 2020, Tuesday
२०७७ मंसिर १६

खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुख रातारात कारागार विभाग सरुवा

402

सरूवा गरिएका लेखाप्रमुख केशव प्रसाईं

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखा प्रमुखलाई सरकारले रातारात कारागार विभाग सरुवा गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट १५ दिनअघि मात्र स्वास्थ्य सेवा विभागमा सरुवा गरिएका लेखाप्रमुख केशव प्रसाईंलाई मंगलबार राति कारागार विभाग डिल्लीबजार सरुवा गरिएको छ ।

कोरोना महामारी फैलिएर चीनको वुहान लकडाउन भएको अर्को दिन अर्थात् १० माघमा नेपालमा पनि एक संक्रमित भेटिएका थिए । पूर्व तयारी स्वरूप स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य सेवा विभागले टेन्डर खोलेको थियो ।

तर, २५ माघमा खुलेको टेन्डर करिब तीन महिनासम्म अलपत्र पारेर सरकारले चैतमा खारेज गरेको थियो । तर, १४ चैतमा तीन घन्टाभित्र नयाँ प्रस्ताव मागेर विनाप्रतिस्पर्धा सरकारले ओम्नी समूहलाई एक अर्ब २४ करोडको ठेक्का दिएको थियो ।

यति ठूलो आर्थिक कारोबार हुने निर्णय गर्दा आर्थिक प्रशासन र कानुन शाखाको राय लिनु अनिवार्य हुन्छ । तर, सार्वजनिक खरिदसम्बन्धी सारा नियम मिचेर गरिएको सम्झौताबारे समाचार प्रकाशित भएपछि मात्र विभागले आर्थिक प्रशासन र कानुन शाखाको राय लिएको थियो । दुवै शाखाले नियम मिचिएकाले यो विषय भविष्यमा भ्रष्टाचारको मुद्दा बन्न सक्ने चेतावनी दिएका थिए । यो विषयमा दुवै शाखाका अधिकृत र सरकारका उच्चपदस्थ पदाधिकारीबीच विवाद भएको थियो ।

निर्धारित समयमा गुणस्तरीय सामान नल्याएको भन्दै सरकारले ओम्नी समूहसँगको सम्झौता रद्द गरेको छ । ‘ओम्नीको धरौटी जफत गर्ने भनिएको थियो, तर प्रक्रिया अघि बढाउन उच्च अधिकारी तयार छैनन, यो पनि भ्रष्टाचारमा मिलेमतो हो,’ विभागको आर्थिक प्रशासन शाखाका कर्मचारीहरूको भनाइ छ ।

ओम्नीको ठेक्का ठेगान लाग्न नपाउँदै सरकारले आफ्नै निर्णय मिचेर विभागलाई खरिदमा अघि सारेको छ । ओम्नीसँगको खरिद प्रक्रिया विवादमा परेपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले १६ चैतमा ‘गभर्नमेन्ट टु गभर्नमेन्ट (जिटुजी) प्रक्रियाबाट मात्र सामान खरिद गर्ने र त्यसको समन्वय गर्न सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।

सुरक्षाको जिम्मेवारी लिएको सेनालाई आर्थिक कारोबारमा लगाएको भनेर सरकारको तत्कालै आलोचना भएको थियो । तर, मन्त्रिपरिषद् निर्णयमा पुनर्विचार नगरी सरकारले खरिदको नयाँ प्रक्रिया सुरु गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिक बाट लिएका हौ ।

Recent Update