December 6, 2020, Sunday
२०७७ मंसिर २१

नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो

180

काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिका-६, लाप्चा क्षेत्रमा रहेको नेपाल-चीन सीमाको ११ नम्बर सीमास्तम्भ फेला परेको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुखहरूको टोलीले हराएको भनिएको सीमा स्तम्भ फेला पारेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए।  ‘बुधबार सिडियो सा’पहरूले हराएको भनेको सीमा भेट्नुभएछ,’ उनले भने, ‘११ नम्बरको पिल्लर टाकुलेमा भेटिएको खबर आएको छ।’ लाप्चा क्षेत्रमा चीनले बनाइरहेको भवनको स्थलगत निरीक्षण गरेर प्रमुख जिल्ला अधिकारी गिरीको टोली गत आइतबार हिल्सा क्षेत्र गएको थियो।

११ नम्बरको पिल्लर हिल्सा प्रहरी चौकीबाट केही माथि भेटिएको अध्यक्ष तामाङ बताउँछन्।  ‘असाध्यै माथि रहेछ पिल्लर, पाँच हजार २ सय मिटर भन्दा पनि धेरै उचाइमा भेटिएको छ,’ उनी भन्छन्। उनले हराएको सीमा स्तम्भ भेटेको खबर पाएपछि अब चीनले बनाइरहेको भवन कुन देशमा बनेको एकिन हुनुपर्ने बताएका छन्। ‘हिजो सिडियो सा’प, मेजर सा’प र अन्य सुरक्षाकर्मीको टोलीले हिँड्ने क्रममा हिउँको थुप्रोसँगै सिमेन्टको पिल्लरको टुप्पो देख्नुभएछ,’ प्रमुख जिल्ला अधिकारी गिरीलाई उदृत गर्दै उनले भने, ‘के होला भनेर हिउँ पन्छाएर र केही माटो खनेपछि त सीमा स्तम्भ पो भेटियो। अनि त्यसलाई हिउँले नै पखालेर हेरियो, ११ नम्बरको पिल्लर बकाइदा लेखेकै रहेछ।

अब चीनले बनाएको भवन कतातिर पर्छ भन्ने टुंगो लाग्नु पर्छ।’ शशस्त्र प्रहरीले हराएको भनिएको ११ नम्बरको पिल्लर खोज्नका लागि डिएसपी मोहन विष्टको नेतृत्वमा टोली खटाएको थियो। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको सुरक्षा प्रमुखहरूको टोली अझै जिल्ला सदरमुकाम फर्केको छैन।

हिल्सा क्षेत्रमा ११ नम्बरको पिल्लर भेटेपछि उक्त टोली सोही क्षेत्रमा रहेका अन्य सीमा स्तम्भको निरीक्षणमा लागेको बताइएको छ।

Recent Update