December 1, 2020, Tuesday
२०७७ मंसिर १६

काठमाडौंमा भाडामा बस्नेलाई सास्ती

198

काठमाण्डाै – सरकारले असोज १ गतेदेखि निषेधाज्ञा हटाएपछि काठमाण्डौ उपत्यका भित्रिनेको संख्या बढ्दो छ । चैत ११ गतेदेखि लकडाउन हुँदा कामबिहीन बनेर घर गएकाहरु कार्यालय र बजार पसल खुलेपछि काठमाण्डौ आउन थालेका हुन् ।

गएको १० दिनमा मात्रै विभिन्न नाकाबाट एक लाख ७४ हजार ८ सय ४४ जना उपत्यका भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यसरी भित्रिएकाहरुलाई घरबेटी, छिमेकी र काम दिनेहरुले पीसीआर रिपोर्ट खोजेपछि कोरोना परीक्षण गर्नेहरुको संख्या बढेको छ । पीसीआर रिपोर्टकै लागि रातभरि पालो पर्खनुपर्दा धेरैलाई सास्ती भएको छ  ।

 भाडामा बस्नेलाई धेरै समस्या

बाराका शाहिल अन्सारी काठमाण्डौ आएकाे झण्डै एक महिना भयो । गएको चैत ११ गते सरकारले भाडामा बस्नेलाई धेरै समस्याकोरोना संक्रमण रोकथामको लागि लकडाउन घोषणा गरेपछि झण्डै डेढ महिना उनि घरमै बसे । 

पाँच वर्षदेखि ललितपुरको सातदोबाटोमा वर्कसप खोलेर बसेका उनि काम नहुने देखेपछि परिवारसहित वैशाख अन्तिमतिर गृहजिल्ला लागे । तर असार १ गतेदेखि सरकारले काठमाण्डौ उपत्यकामा लकडाउन खुकुलो बनाएपछि उनको मनमा हुटहुटी चल्यो । 

काम बन्द भएपछि वर्कसप र कोठाको भाडा कसरी तिर्ने भन्ने चिन्ताले उनलाई सतायो । जसोतसो मिलाएर भदौ दोस्रो हप्ता उहाँ बाराबाट काठमाण्डौं आए । काठमाण्डौ आउनेबित्तिकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण गराए। 

‘यता काम नहुने भएपछि वैशाख २६ गते घर गयौं । लकडाउन हटेपछि त के गरौं, कसो गरौं भइहाल्यो । अनि त नआएर के गर्नु ? घर चलाउन परिहाल्यो’ उनले भने , ‘तर घरबेटीले कोरोनाको नेगेटिभ रिपोर्ट लिएर आउनु भन्नुभएको थियो । त्यही भएर टेकु गएर जँचाएँ, रिपोर्ट आउनै ३ दिन लाग्यो । अनि नेगेटिभ रिपोर्ट आएपछि पनि छिमेकीले निस्कन दिएनन् । १४ दिन क्वरण्टीनमा बसेर १५ दिनपछि मात्र घरबाट निस्किएँ ।’ 

ललितपुर सुनाकोठी बस्ने वीरगन्जका सन्तोष यादव (नाम परिवर्तन) सोमबारमात्र काठमाडौं फर्किए । तर, उनलाई घरबेटीले प्रवेश नदिएपछि मंगलबार बिहानै एक निजी ल्याबमा गएर पीसीआर गराएर साथीको डेरामा बसे भएको छ । ‘घरबेटीले पीसीआरको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर आउनु भनेका छन्’, उनले भने ‘म कन्सल्टेन्सिमा काम गर्छु । यसको काम अलिअलि हुने देखेपछि उपत्यका फर्किएको हुँ । तर, यहाँ आएपछि समस्या भयो ।’ कुनै लक्षण नदेखिएकाले पीसीआर रिपोर्ट नेगेटिभ आउने उनको विश्वास छ । 

भिडले झन् जोखिम

बाराका शाहिल र वीरगन्जका सन्तोष प्रतिनिधि पात्र मात्र हुनु । बाहिरी जिल्लाबाट आएकाहरुलाई घरबेटी, छिमेकी र काम दिनेले समेत कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउन दबाब दिएका छन् । जसका कारण कोठा भाडामा लिएर बसेकाहरु कुनै लक्षण नै नदेखिए पनि कोरोना परीक्षण गराउन बाध्य छन् । बाहिर जिल्लाबाट आएकाको निःशुल्क परीक्षण हुने भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण गराउन जानेको भिड बढेको छ ।

भिड बढेसँगै दैनिक ३ सयको स्वाब लिइरहेको अस्पतालले दैनिक ५ सयको स्वाब संकलन गर्न थाल्यो । तर निश्चित कोटा हुँदा अस्पताल पुगेका जोकोहीले परीक्षण गराउन पाएनन् । त्यसैले धेरै जना रातभर लाइनमा बस्न बाध्य भए । यसले कोरोनाको जोखिम झन् बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमको भनाइ छ । 

‘यात्रा गरेर आएपछि त्यसरी रातारात पीसीआर गराउन सार्वजनिक गाडी चढेर जाँदा र लाइन बस्दा अरु यात्रु र तपाईसँगै लाइनमा बस्नेलाई पनि कोरोना सर्ने जोखिम हुन्छ । त्यसैले लाइनमा बस्दा र गाडीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउने र व्यक्तिगत दूरीको ख्याल गरौं ।’

    कोरोना परीक्षण कसले गराउने ?

कोरोना संक्रमण जो कोहीलाई हुन सक्छ । कोहीलाई लक्षण देखिन्छ भने कसैलाई कुनै पनि लक्षण नै देखिंदैन । घरबेटी, छिमेकी र काम दिनेले कोरोनाको नेगेटिभ रिपोर्ट खोज्न थालेपछि सरकारले त्यसो नगर्न अनुरोध गरेको छ ।

‘उनिहरुले पाँच दिन नपुगी पीसीआर जाँच गरेर आएको रिपोर्टले तपाईं र तपाईंको परिवार नै जोखिममा रहने हुँदा आफ्नो घरमा भाडा गरेर बस्नेलाई बाहिरबाट आएको दुई हप्तासम्म आफ्नै घरमा एक्लै बस्ने वातावरण सिर्जना गरिदिनुहुन विनम्र अनुरोध छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भने ‘लक्षण नदेखिएका कसैको पनि परीक्षण गराउनुपर्दैन । 

तर लक्षण देखिएको भए कोरोना परीक्षण गर्न आवश्यक छ । ज्वरो तथा सुख्खा खोकी लागेका, श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला लागेका, कुनै स्वाद वा गन्ध थाहा नपाउनेहरुले पीसीआर परीक्षण गर्नुपर्छ । त्यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुलाई ५ दिनपछि, विदेशबाट फर्किएकाको, डाक्टरको सल्लाहअनुसार शल्यक्रिया गर्नुपर्नेहरु तथा जटिल अवस्थामा रही डिस्चार्ज गर्नुपर्ने बिरामीहरुको पीसीआर गर्नुपर्छ । 

त्यसैगरी आइसीयूमा राख्नुपर्ने सबै बिरामीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरु, ५ देखि ७ दिन क्वरेण्टीनमा रहेका, दीर्घरोगी, ६० वर्ष नाघेकाहरु, अग्रपंक्तिमा रहेर काम गर्नुपर्नेहरु, कुटनीतिक नियोग र भिसा प्रयोजनाका लागि आवश्यक परे परीक्षण गर्न सकिन्छ ।  

किन १४ दिन छुट्टै बस्नुपर्छ ?

पछिल्लो समय कोरोना परीक्षणको लागि अस्पताल पुग्नेको संख्या बढेसँगै सरकारले जोकसैले परीक्षण गर्न नपर्ने स्पष्ट पारेको छ । तर घरबेटी, छिमेकी र काम दिनेहरुकै दबाबले धेरैजना परीक्षण गर्न बाध्य छन् । 

‘सरकारले गर्नु पर्दैन भन्छ तर घरबेटीले कोरोनाको नेगेटिभ रिपोर्ट नभई भित्र पस्न पाइँदैन भन्छन् अनि के गर्ने हामीले ?’ काठमाण्डौमा भाडामा बस्ने बाराका शाहिल अन्सारी प्रश्न गर्छन। सरकारले कोरोना संक्रमण भए १४ दिन आइसोलेशनमा बसेपछि पहिलेकै दैनिकीमा फर्कन सकिने बताइसकेको छ । तर यसको कार्यान्वयन भने भएको पाईंदैन । 

‘शरीरमा भाइरस भए १० दिनसम्म सक्रिय हुन्छ । त्यसपछि अरुमा सर्दैन । त्यही भएर १४ दिनको आइसोलेशन भनेका हौं’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारी भने, ‘१४ दिन आइसोलेशन बसेपछि भाइरस कमजोर भइसक्छ । अरुलाई सर्ने जोखिम हुँदैन । त्यसैले १४ दिनपछि नियमित काममा जान सकिन्छ ।’ 

सरकारले कोरोना परीक्षण गर्नको लागि देशभरी १० वटा निजीसहित ३६ वटा प्रयोगशालालाई अनुमति दिएको छ । १० वटा प्रयोगशालालाई प्रतिव्यक्ति दुई हजार रुपैयाँमा कोरोना परीक्षण गर्न सरकारले शुल्क तोकिदिएको छ । 

यस्तै काठमाण्डौ उपत्यकामा टेकुसहित पाटन, त्रिवि शिक्षण र वीरसँगै देशभरका २६ वटा सरकारी अस्पताललाई निःशुल्क कोरोना परीक्षण गर्न भनेको छ ।  उज्यालो

Recent Update