December 6, 2020, Sunday
२०७७ मंसिर २१

जारको पानीमा यसअघिकै मूल्य कायम

153

काठमाडौं : आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ। सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ।

संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमति भएको विभागले जनाएको छ। विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको हो।

नेपाल वोटल वाटर उद्योग सङ्घले एकतर्फी रुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेको थियो। उनका अनुसार विभागले सङ्घले गरेको परिपत्र भेटेपछि सङ्घका पदाधिकारीसँग संसदीय समितिको निर्देशनपछि थप अध्ययन गर्ने गरी सहमति गरिएको हो।

‘हामी निरन्तर बजार अनुगमनका नै हुन्छौँ, तत्काल पानीको बोतल तथा जारमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कारवाही गर्नेछौँ’, उनले भने, ‘हामीले व्यवसायीलाई नै भनेका छौँ, यदि आजबाट पुरानै मूल्यमा प्रशोधित पानीको बिक्री वितरण नभए तत्काल पक्राउ गरेर कालोबजारी मुद्दा दर्ता गर्छौं।’

बजारमा उद्योगअनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरुपता ल्याउन भन्दै भदौ १० गतेदेखि काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोकमा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो।

Recent Update