December 1, 2020, Tuesday
२०७७ मंसिर १६

उपचार प्रभावकारी नभएपछि धरानको कोभिड अस्पतालमाथि अख्तियारको छानविन

156

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा संक्रमित बिरामीको उपचार प्रभावकारी नभएको उजुरी परेपछि अख्तियारले छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले सोमबार रातीसम्म कोभिड अस्पतालमा छानविन गरेको हो ।

कोभिड अस्पताल संचालनका लागि संघीय सरकार र प्रदेश सरकारले दिएको करोडौं रकममा प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरी लगायतका पदाधिकारीहरुले कमसल औषधि उपकरण खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारको टोली कोभिड अस्पतालमा गएर स्थलगत निरीक्षण गरी छानविन प्रक्रियालाई अगाडि बढाएको छ ।

कोभिड अस्पतालमा खरिद गरिएका १० भेण्टिलेटर मध्य ६ वटा बिग्रिएर बिरामीले उपचार नपाएको विषय बाहिर आएपछि अख्तियारको टोलीले कोभिड अस्पतालको स्थलगत निरीक्षण समेत गरेको छ । 

कोभिड अस्पताल संचालन भएपछि बिरामीको उपचारलाई प्राभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामाग्री र खानपिनको व्यवस्था समेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले विरोध जनाएका थिए । प्रतिष्ठानमै उपचाररत सुनसरीका एक जनप्रतिनिधिले कोभिड अस्पतालको सेवा सन्तोषजनक नभएको गुनासो समेत गरेका छन् । 

कोभिड अस्पताल संचालन गर्नु अगाडि आवश्यक भेण्टिलेटर र अन्य औषधि उपकरण खरिद गर्दा आर्थिक अनियमितता भएको र खरिद गरिएका भेण्टिलेटर दुई महिना नपुग्दै बिग्रिएर काम नलाग्ने भएपछि अख्तियारले स्थलगत निरीक्षण गरी छानविन अगाडि बढाइएको अख्तियार इटहरीका प्रमुख प्रकास पौडेलले बताए। 

Recent Update