December 1, 2020, Tuesday
२०७७ मंसिर १६

परिणाम देखिने गरी काम चाहियो: प्रधानमन्त्री ओली

105

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्तसहित सबै मन्त्रीहरुलाई ढुक्कसँग काम लाग्न भनेका छन्। बिहीबार साँझ सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिँदै प्रम ओलीले यस्तो बताएका हुन्। 

‘सबैलाई ढुक्कसँग काममा लाग्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, एकजना मन्त्री प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘सरकारलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ सबैजना केन्द्रित हुनु होला। परिणाम देखिने गरी काममा लाग्नु होला।’

ती मन्त्रीका अनुसार तीनजना नयाँ मन्त्री क्याबिनेटमा थपिएसँगै नौ जना सचिवहरूको पनि सरुवा गरिएको छ। उनका अनुसार विभिन्‍न मन्त्रालय र विभागका नौ जना सचिवहरूको सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ। 

ती मन्त्रीका अनुसार जलश्रोत तथा सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। उपराष्ट्रपतिको कार्यालयका सचिव खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। 

जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहको सरुवा सहरी विकास मन्त्रालयमा भएको छ। सहरी विकास मन्त्रालयमा बुधबार मात्रै कृष्णगोपाल श्रेष्ठ मन्त्री भएका छन्। त्यहाँ रामवीर मानन्धर राज्यमन्त्री छन्। 

Recent Update