November 28, 2020, Saturday
२०७७ मंसिर १३

हामी भ्रष्टाचार गर्दैनौँ, हुन पनि दिँदैनौँ: ओली

111

काठमाडौं –  आफूसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लगाएको आरोपलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्। 

भट्टराईले लगाएको आरोपबारे पहिलो पटक मुख खोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले त्यस्तो अनैतिक काम गर्न सक्ने बताएका हुन्।  ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘हामीबाट त्यस्ता अनैतिक हर्कत कदापि हुनसक्दैन्। हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुनसक्दैनौं।’ 

सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढिरहेको प्रधानमन्त्री ओलीको दाबी थियो। ‘केहीले गैरजिम्मेवार तरिकाले बोलेका छन्। कामै सुरु नभएको आयोजनामा भ्रष्टाचार भयो भन्ने अभिव्यक्ति निराधार र गैरजिम्मेवार छ’ डाक्टर भट्टराईको नाम नलिई ओलीले भने,  ‘सरकार जिम्मेवारीका साथ अघि बढि रहेको छ, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता कार्यान्वयन गर्न प्रहरीको मुख्य भुमिका हुन्छ।’

केही दिनअघि गोरखाको एक सार्वजनिक कार्यक्रममा डाक्टर भट्टराईले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए। 

Recent Update