November 30, 2020, Monday
२०७७ मंसिर १५

गौतम बुद्ध विमानस्थल : ३५ चिनियाँ प्राविधिक भ्याक्सिनको पर्खाइमै रोकिए

198

काठमाडौं–भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै उपकरण जडानका लागि आवश्यक चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन्।अधिकांश प्राविधिकले नेपाल आउन भिसा पाइसके पनि भ्याक्सिनको पर्खाइका कारण उनीहरु नेपाल नआएका हुन्।

विमानस्थल निर्माणको काम गरिरहेको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले उपकरण जडानका लागि नेपाल आउने दक्ष प्राविधिक भ्याक्सिनको पर्खाइमा रहेको जानकारी गराएको विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

नेपाल आउन लागेका ३५  प्राविधिकमध्ये २२ देखि २३ जनाले भिसा पाइसकेको अधिकारीले बताए। 

अन्य प्राविधिकको हकमा भने कतिपयलाई कम्पनीले नै नेपाल ल्याउन नचाहेको र कतिपय भने मानसिक रुपमै नेपाल आउने नचाहेको जानकारी  कम्पनीले आफूहरुलाई गराएको उनको भनाइ छ।

प्राविधिक कामदार नेपाल नआउँदा विमानस्थल निर्माणको काममा पनि असर गरेको उनको भनाइ छ। ‘चीनमा बनिरहेका कोरोनाको भ्याक्सिन तेस्रो चरणमा परीक्षण भइरहेको  छ। सोही भ्याक्सिन लगाएर मात्रै कामदार नेपाल आउने जानकारी पाइएको छ,’ अधिकारीले भने, ‘चिनियाँ प्राविधिक कामदार नआउँदासम्म बाँकी रहेको उपकरण जडानको काम अगाडि बढने अवस्था छैन। कम्पनीले पनि चिनियाँ सरकारसँग भ्याक्सिन प्रयोगका लागि अनुमति मागिरहेको छ। भ्याक्सिन पर्खाइका कारण कामदार कहिले नेपाल आइपुग्ने हो निश्चित छैन।’

कामदार आउन ढिला भए पनि अधिकांश उपकरण भने निर्माणस्थलमा आइसकेका छन्। इन्जिनियर अधिकारीका अनुसार ९८ प्रतिशत उपकरण साइटमा आइसकेका छन्। उनका अनुसार अब आउन बाँकी भनेको एक्सरे मेसिन र एसिकका केही उपकरण छन्।

एसी जडानका ३० कन्टेनर उपकरणमध्ये अब १÷२ कन्टेनर बाँकी रहेको  अधिकारीले बताए। तर, एक्स–रे मेसिन भने ४÷५ महिनादेखि नै ल्हासामा रोकिएको उनको भनाइ छ। योबीचमा ब्यागेज ह्यान्डलिङ र लिफ्टका उपकरण भने नेपाल आइसकेको अधिकारीले नेपाललाइभसँग बताए।

विमानस्थल निर्माणको काम गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ प्रतिशत सम्पन्न भइसकेको थियो। सरकारले पनि चालू आर्थिक वर्षभित्रै विमानस्थलबाट व्यावसायिक उडान सञ्चालन गर्ने तयारी गरिरेहेको छ। निर्माण कम्पनीले पछिल्लोपटक थप भएको समय अनुसार डिसेम्बरभित्र निर्माणको काम सम्पन्न गर्नु पर्ने छ। तर, कोरोनाका कारण डिसेम्बरभित्र पनि काम सम्पन्न नहुने अवस्था आइसकेको छ।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि पुनः समय थप भएको छ। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल निर्माण थालिएको थियो। विमानस्थलको रनवे ३ हजार मिटरको हुनेछ। साथै विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो। विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ।nepallive

Recent Update