November 27, 2020, Friday
२०७७ मंसिर १३

डाक्टरको बाबालाई पत्र : कोरोना बिरुद्ध सिन्धुली गढीमा गोरखाली लडेझैँ लड्नेछौ

576

डा. विप्लव लामिछाने

मलाई थाहा छ, यो चिठी मेराे मात्र नभई सम्पूर्ण नेपाली स्वास्थ्यकर्मीकाे हो । सेवा नै धर्म हो । बिरामीहरूको सेवा हामी सम्पूर्ण युवा स्वास्थ्यकर्मी त्यत्तिकै उच्च प्राथमिकता साथ गर्नेछौँ जसरी पहिलेदेखि गर्दै आएका छौँ । । यसो गर्दागर्दै सहिद भइएछ भने पनि गर्वको कुरा हो ।

तर त्यो युवा डाक्टर आफै बिरामी भए के गर्ने ? किनकि रोग लागेको डाक्टर त अब रोग सार्ने कीरा हुन्छ । जतिको जाँच गरिन्छ उतिलाई रोग सार्दै जाने स्थिति हुन्छ । आफ्ना सहकर्मी साथीलाई पनि सार्छ । उसले लगेर आफ्नै घरमा पनि सार्छ । यसरी मर्दा त डाक्टर बिरामीको अनुपात यो महामारी अन्त्यमा ११०००० नभई ११०,००,००० हुन आउला !

हाम्रो प्रिय ‘कम्युनिस्ट’ सरकारका स्वास्थ्यमन्त्रीज्यूले स्वास्थ्यकर्मीलाई पीपीई दिने कुरा हप्ता दिन बितिसक्दा पनि प्रत्यक्ष देख्न पाइएको छैन, बरु यो पीपीई के हो ? भात पकाउने एप्रोन हो ? भनेको सुन्न पाइयो । अनि एक नेताका परिवारले पीपीई लगाएर फेसबुकमा तस्बिर हालेर नाचेको देख्न पाइयो । त्यो पीपीई नेपालकी एक फ्लारेन्स नाइटिङ्गेललाई दिएको भए हुन्थ्यो ।

मैले युवा डाक्टर किन भनेको छु भने इटालीमा रोग लागेर मृत्यु हुने डाक्टर प्रायः सबै ५० वर्ष नाघेका विशेषज्ञ डाक्टर परेकाले नेपालका कतिपय विशेषज्ञ डाक्टरहरू पनि हामी मरे त नेपालमा विशेषज्ञता प्राप्त डाक्टर नरहलान् भनेर मुसाको दुलोमा पसिसक्नुभएको छ जसलाई सेल्फ क्वारेन्टाइन भनिन्छ ।

तैपनि आशा छ, सरकारले परिवारलाई मरेपछि २५ लाखको लोभले हैन, अहिले नै सबै अस्पतालमा पीपीई दिइयोस् र बस्ने व्यवस्था मिलाइदेओस् ता कि हाम्रो परिवार र सधैँ क्वारक्वार गर्ने घरधनीलाई पनि नसरोस् । तबसम्म हामी सम्पूर्ण स्वास्थ्यकर्मी हनुमान कट्टु लगाएर हातमा गुलेली बोकी त्यो तोप–बारुद (पीपीई) बिना अङ्ग्रेजविरुद्ध सिन्धुलीगढीमा गोरखालीले लडेझैँ लड्नेछौँ । बिरामीको सेवा गर्न पछि पर्ने छैनौँ किनकि हामीले नगरे गरिदिने अरू कोही छैन ।

सिन्धुुुुली निवासी डा. विप्लव लामिछाने
सिभिल हस्पिटल, बानेश्वरमा कार्यरत हुन

( हामीले केही समय अगाडी डाक्टर छोरालाई एक बाबुको मार्मिक पत्र विश्वम्भर लामिछाने ज्युले लेख्नु भएको पत्र प्रकाशित गरेका थियौ । धेरै पाठकबर्गले रुचाउनु भएको थियो । त्यसकै प्रतिउत्तरमा आज विप्लव लामिछानेले बुवालाइ लेखेको पत्र हामीले यहाँ प्रस्तुत गरेका छौ ) सम्पादक

Recent Update