सुख ल्याउन भनी दुख मोलेर
पैसा कमाउने आशाले ऋण बोकेर
परिवारको मायाँ मुटुभरि साँचेर
आफन्तको भरोसामा परिवार छोडेर
आशा र बिश्वासलाई काखी च्यापेर
संगी-साथी, इष्ट-मित्र
तल-माथि, बाहिर-भित्र
इच्छालाई अग्निपरिक्षामा होमेर
आवश्यकतालाई थाँती राखेर
सपना साकार पार्ने अठोट लिएर
मातृभूमिको माटो छुँदै
बनावटी मुस्कानभित्र रुँदै
परदेशिएका मेरा प्रियजनहरु !
यतिबेला कोरोनाको कहर काटिरहेछन्
परिवार, आफन्तकाेे भलाे चिताउन
अस्वस्थ भएपनि आफैलाई ढाँटिरहेछन्
परिवार, लाला-बाला बचाइदेऊ भन्दै !
आस्थाका परमेश्वरलाई पुकारिरहेछन्
कोही फर्कदैं गर्दा सिमापारी रोकिएका छन्
कोही क्वारेन्टाइनमा कोरोना कैदी भएका छन्
लकडाउनमा भोकमरीको खबर आउदा
परिवार सम्झेर भक्कानिरहेका छन् ।
मन थाम्दै- मुटु छाम्दै
आफ्नो मन आफै सम्हाल्दै
परिवार, आफन्त , इष्ट-मित्रसंग
अनुभव, ज्ञानहरु बाँडिरहेका छन्
बिदेशी भूमिमा पसिना बगाइरहेका
परदेशिएका मेरा प्रियजनहरु !
हुनसक्छ कोही सन्तान
देशले मलाई केही दिन सकेन
नेताले केहीपनि गर्न सकेनन् !
आफ्नोले अप्ठ्यारोमा तार्न सकेनन्
सपनाका तारा बिपनामा झार्न सकेनन्
भन्दै आक्राेस र गुनासाका
पोकाहरु बोकेर हिडेका होलान्
जुन कुरा स्वभाविक छ !
गुनासो र आक्राेसहरु भएपनि
रेमिटान्सले देश धानीरहेका छन्
मातृभूमिलाई प्राणभन्दा प्यारो मानिरहेका छन्
मातृभूमिलाई पनि यहाँ
कोरोनाको कहरले छोएको छ
परदेशीएका सन्तानहरु सम्झेर रोएको छ
तैपनि पुकार गर्छिन् आमा
परदेशिएका सन्तानहरु बचाइदेऊ कोरोना ।
बरु तिमी म भित्रै हराऊ
मेरा सन्तानलाई बिचलित नगराऊ
मातृभूमिको ऋण तिर्नकै लागि भएपनि
परदेशिएका सन्तानलाई बचाइदेऊ कोरोना !
बचाइदेऊ कोरोना ! बचाइदेऊ प्रभू !
उपेन्द्रलाल कामी
२०७७/०१/०४ खलंगा रुकुम (पश्चिम )