January 28, 2021, Thursday
२०७७ माघ १५

काफल पाक्यो तर फर्केनन् मुस्ताङी

272

हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बनेकी छिन । गत मङ्सिरमा (पोखरा) झरेकी उनी गाउँ फर्कन नपाएर हैरान भएकी हुन । गाउँ फर्कने तयारीमा रहेका बेला सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरेकाले पोखरामै अलपत्र परिएको
हिमाली भेकका बासिन्दालाई गर्मी ठाउँ फाप्दैन, यस्तो व्यथा छिरिङ एक्लैको मात्र होइन, पोखरा सहित अन्य ठाउँमा जाडो छल्न झरेका मुस्ताङीका अहिले साझा पिरलो हो कहिले होला मुस्ताङ फर्कने भन्ने ।

मुस्ताङ बाट पोखरा झरेका संख्या ५५० भन्दा बढी परिवार भएको अनुमान छ । गाउँ जान नपाएर मुस्ताङी अलपत्र परेका छन, गण्डकी प्रदेशसभा सदस्य एवं उपल्लो मुस्ताङ लो–मन्थाङका बासिन्दा इन्द्रधारा विष्ट भन्छन । “हामीले सम्पर्कमा आएका ३४९ जनालाई प्रदेश सरकारमार्फत राहत वितरण गरिसक्यौँ ।

जाडो शुरु हुनेबित्तिकै मङ्सिरमा मध्यपहाड र तराईमा झर्नु र गर्मी शुरु हुँदा हिमालतिर उकालो लाग्नु मुस्ताङीको जीवनशैली हो । पोखरा, काठमाडौँ र भारत झर्नेहरू जिम्बु, जडीबुटीसहित खिच्रिङमिच्रिङ र कपडाको व्यापार गर्थे । कतिपय जाडो छल्नका लागि मात्र कोठा भाडामा लिएर दिन बिताउँथे । उनीहरू गाउँ फर्कंदा पहाडी भेगमा चराको आवाज सुनिन्थ्यो, ‘काफल पाक्यो ! काफल पाक्यो !’ यही परिवेशमा पहाडी समुदाय बीचमा एउटा भनाइ नै प्रचलित बन्यो, ‘काफल पाक्यो, भोटे फर्कियो ।’

त्यतिमात्र होइन, भोटेहरू घोडा, खच्चड, काम्लो, रासन र बक्खु लगाएर उकालो लागेपछि पहाडिया र तराईवासी बर्खामासको स्वागतमा तयार हुन्थे । भोटेहरू पनि औल फाप्दैन भनेर काफल चरीको आवाज सुन्दै थातथलो फर्कन्थे । समयको परिवर्तनसँगै, तराई, पहाड र भोटमा स्वास्थ्य, यातायात र शिक्षा क्षेत्रमा विकास हुँदै आयो । भोटेहरू पनि सधैँ पहाड र तराईमा बस्न थाले, औलोको डर कसैलाई भएन ।

पुर्खाहरू पैदल वा घोडामा व्यापार गर्थे, अहिलेको नाति पुस्ता मोटर वा हवाई यात्रा गरेर भारतसम्म पुगेर व्यापार गर्न थालेका छन् । सधैँ बेलैमा उनीहरू गाउँ फर्कन्थे । तर यसपालि नसोचेको भयो । नचाहँदा नचाहँदै उनीहरूले एक महिनाभन्दा बढी समय बेँसीमै बस्नुपरेको छ । हिमाली भेगमा फागुन महिनादेखि खेतीको समय शुरु हुन्छ ।

वर्षमा एक बाली मात्र लगाइन्छ, त्यो बाली असोजमा भित्र्याइन्छ । तत्काल बाली लगाउन नपाए खेती बाँझो रहने सम्भावना हुन्छ । लकडाउनले पुस्तौँपुस्ताको व्यापार र स्थानीयवासीको दिनचर्या नै परिवर्तन गरिदियो । त्यसैले परापूर्वकालदेखि चलेको भनाइ ‘काफल पाक्यो, भोटे फक्र्यो’ यसपालिका लागि ‘काफल पाक्यो तर भोटे फर्केन’ भनेझैं भयो ।रासस