April 19, 2021, Monday
२०७८ बैशाख ६

एक प्रेम कथा जहाँ सुरु नभई यसरी अन्त्य गराइदिइयो…….

515

तृप्ति केसी – तपाईले प्रेमको धेरै कथाहरु पढ्नु भएको होला, प्रेमका चलचित्रहरु पनि हेर्नु भएको होला, भनिन्छ साँचो प्रेममा ठुलो बल हुन्छ, यो सायद माया गर्ने व्यक्तिलाई थाहा होला प्रेम वास्तवमा पारस्परिक खुशी र स्नेहको एक विस्तृत रुप हो । अझ भनौँ, यसको गहिराई नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिन्न । त्यस्तै, समाजमा प्रेमका कारण विभिन्न घटनाहरु पनि घटेका हामीले सुनिरहेका हुन्छौँ आफूले चाहेको प्रेम नपाउँदा आत्महत्या गर्ने, प्रेमलाई जातभात सँग जोडेर हत्या गर्ने जस्ता काण्डहरु हामीले देख्दै सुन्दै आएका छौँ । टाढा जानै पर्दैन केहि महिना पहिला रुकुम हत्याकाण्ड पनि हामीले सुनेका छौँ, जहाँ प्रेमीले आफू तल्लो जातको कारण ज्यान गुमाउनु परेको थियो । हो, त्यस्तै यो कथापनि प्रेममा आधारित छ । जहाँ छोरीमान्छेले कसैलाई प्रेम गर्दा विरामी समाजले विभिन्न लालछना, झुटो आरोप लगाएर दोषी बनाई एउटा प्रेमील जोडीलाई टाढा बनाएको थियो ।

कथा यसरी शुरु हुन्छ………….
यो कथा एउटा गाउँको हो, जहाँ सुरु नभई अन्त्य भएको एउटा प्रेम कथालाई समेटिएको छ । त्यो, बेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुत रहन सकेन लामो समय लकडाउन हुने कुराले हामीहरु पनि आफन्त सहित स–परिवार गाउँ जाने निधो गर्यौँ । त्यसपछि हामीले गाडीको व्यवस्था मिलाएर गाउँ गयौँ । वसन्त ऋतुको समय थियो यो आफैँमा रमाइलो र मनमोहक ऋतु भएकोले होला प्रकृतीमा सुन्दर बहार आएको थियो । नीरव आकाशमा उडिरहने चराचुरुङ्गी हरदम मन आल्हादित बनाउने सौन्दर्यका अनेकौँ फूलहरू, अविचल पहाडहरू, झरनाहरू, खोलाहरू, देउरालीहरू, भञ्ज्याङहरू र थकानमा भारी बिसाउने चौतारीहरूको बिचमा रहेको मैले बालापन बिताएको मेरो सुन्दर गाउँमा पुग्दा मन आनन्दित भयो, लकडाउनले गर्दा होला गाउँमा मानिसहरुको ठुलै चहलपहल थियो । आफन्तसँगको भेटघाटले झन मनमा छुट्टै खालको उमङ्ग छाएको थियो । जे होस् ठुलो बस्तीमा रहेको मेरो गाउँमा त्यो बेला एकखालको रमाइलो माहोल थियो ।

गाउँमा साथीभाईसँग कहिले खोलामा पौडी खेल्न, कहिले जंगलमा, कहिले वर–पिपलको चौतारीमा घुम्न र कहिले पिकनिक खान जान्थ्यौँ । हामी प्रायजसो हाम्रो गाउँको एकछेउ (डाँडा) मा एक कम्पनीद्धारा नवनिर्मित ठूलो स्कुलको भवन बन्दै थियो, जहाँ हामी दिनहुँ जस्तो गइरहेका हुन्थ्यौँ । गर्मीको समय थियो स्कुलको छतबाट वरिपरि डाँडाकाँडा र हरियाली जंगलको मनमोहक दृश्य देखिने भएर होला हामीजस्तै गाउँका अरु मान्छेहरु पनि जाने गर्थे त्यहाँ । यसै क्रममा संयोगवश एकजना इन्जिनियरसँग मेरो भेट हुन पुग्यो उक्त कम्पनीले उसलाई सर्वेक्षणको लागि हाम्रो गाउँमा पठाएको रहेछ ।

खै कताबाट सुरु गरौँ ? लेखुँ त म के लेखुँ ? खै उसलाई भेट्नु मेरो भाग्य होकी दुर्भाग्य हो, आफूलाई भाग्यमानी सोचौँ मेरो साथमा छैन उ, दुर्भाग्य सोचौँ उसको आगमनले थोरै समय भएपनि मेरो जीवनमा खुशीको बहार ल्याएको थियो र एउटा अनौठो संयोग साबित भएको थियो । उ आफ्नो कामको शिलशिलामा हाम्रो गाउँमा बस्थ्यो, उसको गाउँपनि हाम्रो गाउँबाट नजिकै थियो । स्कुलमा जाने क्रममा उसलाई देख्दा परिचित अनुहार जस्तो लागेको थियो मलाई, मेरो बहिनीहरुलाईँ थाहा रहेछ उ इन्जिनियर हो भनेर…… केहि समय पछि खै कसले पो हो उसलाई मैले मन पराउँछु भन्ने कुरा सुनाएका रहेछन्, कोहि केटीले मनपराउँछ भन्ने कुरा सुन्दा सायद उसलाई स्वभाविकैले उत्सुकता लाग्यो होला त्यसैले उसले मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ, मैले एसेप्ट गरेँ… फेसबुकमा हल्का बोलचाल र चिनचान भएको थियो, एकदिन स्कुलजाने क्रममा फेरि उसँग भेट भयो ।

मलाई समय ठ्याक्कै याद त छैन तर उसँगको पहिलो भेट मेरो मानसपटलमा अहिलेपनि घुमिरहेको छ । त्यसदिन मैले उसलाई राम्रोसँग याद गरेँ ! लामो दारी र कपाल पालेको, चश्मा लगाएको हेर्दा नै इन्जिनियर जस्तो देखिन्थ्यो उ ! ईनोसेन्ट र हिस्सी परेको गहुँगोरो वर्णको हाँस्दा एकदमै राम्रो देखिन्थ्यो । मलाई उसको हाँसो यति मिठो लाग्छ, अझैपनि उसको हाँसो सम्झिँदा जिन्दगीका सबै दुःखहरु टाढा भएजस्तो लाग्छ । पहिलो भेटमै उसको हाँसो नोटिस गरेको थिएँ, मनमनै भने कति राम्रो स्माइल रहेछ । स्कुलको छतमा भएको त्यो पहिलो भेट मेरो जिन्दगीको अमूल्य र यादगारको क्षण बनेको छ । त्यो दिन उ पनि बोल्न अफ्ट्यारो मान्दै थियो, त्यै पनि के छ ? भनेर सोध्यो, मपनि लजाउने स्वभावको मान्छे लजाउँदै जवाफ फर्काएँ ठिकै छु ।

उसलाई भेट्नु अगाडी नै मैले उसको फेसबुकको प्रोफाइल चेक गरेको थिएँ । त्यसबाट नै केहि कुराहरु थाहा पाएँ ‘उ इन्जिनियर मात्र नभएर उ एउटा रंगमञ्जको कलाकार पनि रहेछ, पहिलो भेटमा नै यहि विषयमा कुरा भयो । मिठो बोली र नरम स्वभावको देखिने उ ! हल्का हाँस्दै सोध्यो तिमीले मलाई मन पराउँछौ रे हो ? मैले हाँस्दै जवाफ दिएँ म हजुरलाई आज त देख्दै छु, कसरी मन पराउनु ? तर मैले उसलाई पहिला नै देखेको थिएँ । स्कुलमा उ कामदारहरुसँग केहि कुरा गर्दै हाँस्दै थियो त्यहिबेला मेरो साथीहरुले उसको हाँसोको प्रशंसा गर्दै थिए त्यसैले मैलेपनि उसलाई याद गरेको थिँए । अनि उसले भन्यो अँ ! मैले विश्वास त गरेको थिइन नदेखेको मान्छेले कसरी मन पराउली भनेर ! यस्तै सामान्य कुरा पछि हामी घर फक्र्यौ । पहिलो भेटमै खै उसको बोली र हाँसो खुब मन परेको थियो मलाई, घरमा पुगेर पनि उसँग भाको छोटो र मिठो भेटको कुराहरु याद आइरह्यो ।

घर पुगेपछि फेसबुक खोलेर फेरि उसैको प्रोफाइल हेर्न मन लाग्यो ! खासै फोटो खिच्न र पोस्ट गर्न नरुचाउने उ, उसको फेसबुक र ईन्स्टाग्राममा भएको फोटोहरु हेरेँ, फोटोमा बिलकुलै फरक देखिन्थ्यो । मैले बहिनीहरुलाई फोटो देखाउँदै भने फोटोमा भन्दा रियलमा राम्रो है ? कस्तो मान्छे भन्दा फरक फोटो आएको ! बहिनीहरुको जवाफ पनि त्यहि आयो ।

त्यो स्कुलमा हामी दिनहुँ गइरन्थ्यौँ, उसँग भेटेको भोलीपल्ट पनि सबैजनासँग स्कुलमा गएँ, त्यहाँ जाँदा फोटो खिच्ने, बच्चाहरुसँग जिस्किने म, त्यो दिन मनमा अजिब महसुस भइरहेको थियो । मनले पर्खिरहेको र आँखाले उसैलाई खोजिरहेको आभास भयो । तर त्यो दिन उ स्कुलमा आएन । घरमा आएर एकछिन अनलाइनमा आएँ, सुरुमै उसको हाई ! लेखेको म्यासेज आएको रहेछ, मैले अरु केहि नसोधी सिधै आज हामी स्कुलमा आएका थियौँ हजुरलाई देखिन नी भनेर रिप्लाई दिएँ । अँ आज दिउँसो नै गाको थिएँ त्यहि भएर आइन उसको रिप्लाई आयो, यस्तै सामान्य कुरापछि हामीले फेसबुकबाटै नम्बर साट्यौँ सुरुमा त खासै फोनमा कुरा हुँदैन थियो । स्कुलमा अनायासै भेट हुँदा सामान्य कुराकानी गथ्र्यौ । हामीसँगै हिँड्ने एउटा सानो भाई थियो उ एकदमै चुलबुले र कमेडी थियो, उसको त्यस्तै स्वभाव देखेर होला इन्जिनियरले पनि उसलाई जिस्काउँदै बोलाउँथ्यो । उसैले गर्दा हामी नजिक भएका थियौँ । बिस्तारै उसँग बोलचाल हुन थालेपछि स्कुलमा जान कम गरेँ किनकी समाजमा सबै मान्छेहरु राम्रो हुँदैनन्, उपनि सबैको अगाडि खासै कुरा गर्दैन थियो सायद समाजले गलत अर्थ लाउलान् भनेर होला ।
हाम्रो भेट नभएपनि कहिले–कहिले फोनमा कुरा हुन थाल्यो । निकै मिठो बोल्ने सरल स्वभावको उ एकदिन कुरैकुरामा फोनमा गीत गाएर सुनाएको थियो, कुन गीत त याद छैन तर एकदमै रोमान्टिक गीत गाएको थियो । उसको गीत सुनेपछि झन म उप्रति प्रभावित भएँ । यत्तिकै त म उसको बारेमा सोच्न थालेकी थिएँ बारबार मेरो सम्झनामा आइरहन्थ्यो उ । म आफैँसँग प्रश्न गर्थे किन यति छिटो उ मनमा बसेको होला ?

बिस्तारै हाम्रो दिनहुँ जस्तो फोनमा कुरा हुँदै गयो प्रायजसो म उसलाई सँधै गीत गाउन लगाउँथे बोलीमा निकै माधुर्यता थियो उसको । त्यस्तै गीतपनि मिठो गाउँथ्यो, नेपाली, हिन्दी गजलहरु पनि सुनाउने गथ्र्यो, लाग्थ्यो उ इन्जिनियर मात्र होइन एउटा गायक र गजलकार पनि हो । प्राय फोनमा कुरा हुँदा सधैं नै गीत गाउन लगाउथेँ म, उ सकेसम्म मेरो स्वर राम्रो छैन भन्दै टार्न खोज्थ्यो कहिले आफैँ गाएर सुनाउँथ्यो । म उसले गाएका गीत र गजलहरु उसलाई थाहा नदिई रेकर्ड गरेर राख्थे अनि एक्लै हुँदा सुन्ने गर्थेँ । त्यसरीनै त्यो प्रक्रिया दिनहुँ चल्दै गयो, उसँगको सामिप्यता मलाई एकदमै मिठो लाग्दै गयो बिस्तारै भावनात्मक रुपमा म उसँग नजिकिँदै गएँ, उसँग बिताएका ती पलहरु मेरालागी बहुमूल्य छन् मलाई अझै ती मीठा यादहरुले झस्कारहन्छ । योे दुखेको मनले ती खुशीका पलहरु सम्झेर एक्लै मुस्कुराउने गर्छु कहिलेकाँही । कसरी व्यक्त गरुँ म ‘स्कुलमा कहिलेकाहिँ भेटेको त्यो रमाइला दिनहरु अनि उसँग दिनहुँ फोनमा बोलेका ती रमाइला क्षणहरु, उ मेरो आँखाको बाटो गर्दै मनमा बस्दै गयो । मलाई यस्तो आभास हुँदै गयो कि मैले उसलाई प्रेम गर्न थालिसकेँ त्यसैले होला उसका सबै कुराहरु मलाई प्यारो लाग्न थाले, उसले हिँडेका बाटोहरु, त्यो स्कुल, उसँग फोनमा कुरा गर्दा बसेको त्यो ठाउँ, यतिकै त प्यारो लाग्ने मेरो गाउँ उसको उपस्थिती र उसँगको भेटले झनै प्यारो लाग्न थाल्यो मलाई । उसँग सँधै एउटा डाँडाको बाँसघारीमा गएर फोनमा कुरा गर्थेँ, उसले सँधै कँहा छौ भनेर प्रश्न गर्दा म त्यहि ठाउँको नाम लिन्थे, उसले जिस्काउँदै भन्थ्यो, तिमी र म बोलेको सबै रुखहरु, हावा, बादल, बाटोहरु, चराचुरुङ्गीहरुले समेत थाहा पाइसके है ? म हाँसेरै टारिदिन्थेँ ।

कहाँबाट कसरी सुरु भयो र कस्तो थियो हाम्रो प्रेम, ‘न मैले उसलाई प्रेम गर्छु भनेर भन्ने आँट गरेँ न त उसले मलाई प्रेम गर्छु भन्यो’ महसुस मात्र भयो हामी एकअर्कालाई माया गछौँ भन्ने, मलाई लाग्छ माया भनेकै यही हो माया देखाएर देख्ने कुरा पनि होइन, यो त महसुस र अनुभूत गर्ने कुरा हो, यदि यो देखिने भए सायद यसको अर्थ र मूल्य पनि हुँदैन थियो होला । हामीले खुलेर प्रेम गर्छु नभने पनि दुबै एकअर्कासँग खुशी थियौँ ! प्रेमलाई विशुद्ध रुपमा अनुभूत गर्न मैले उसैबाट सिकेको हुँ । प्रेमलाई परिभाषित होइन, अनुभूत गर्नुपर्छ भन्ने ज्ञान उसैले सिकाएको थियो । उसँगको प्रेमको तुलना अरु कुनै व्यक्ति वा वस्तुसँग हुन त सक्दैसक्दैन नै । र, यस्तो विशिष्ट प्रेमभावलाई तुलना गर्न मेरो आत्माले पनि अनुमति दिँदैन । म यो पवित्र प्रेमलाई कुनै वस्तु या भावसँग तुलना गरेर बिटुल्याउने हर्कत राख्दिन पनि । प्रेमका पूजारीहरुले प्रेमलाई संसारका अमूल्य, अटल र कहिल्यै अस्तित्व नाश नहुने अजरअमर वस्तुहरुसँग तुलना गरेको पढेको छु, सुनेको छु । तर मेरा निम्ति उ एक अतुलनीय अनुभूति बन्दै थियो । प्रेमको एउटा पूर्ण स्वरुप थियो । हाम्रो प्रेम यस्तै अमूर्त रितले हुर्कँदै आएको छ भन्ने हामी दुवैले महसुस गर्दै थियौँ । मान्छेहरुले त्यसै भनेका हैन रैछन् प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर । त्यसैले त म हराएछु उभित्र , रंगिएछु उसको प्रेमको रंगमा । मैले सोचेको थिइन यति छिटो उ मेरो जिन्दगीमा खुशीको बहार बनेर आउँछ भनेर तर त्यो खुशी मेरो लागि आकाशमा चम्किएको बिजुली जस्तै भयो क्षणभरमै चम्किएर क्षणभरमै हरायो ।

उसँगको दैनिक लामो समयसम्मको फोनमा भएको कुराकानीले कता कता मलाई पनि उसँगको सामीप्यता सुमधुर लाग्न थाल्यो अझै भनौं रमाइलो अनुभुति दिन थाल्यो । एक अर्काको बानी, व्यवहारसँग अझै राम्रोसँग परिचित हुँदैथियाँै, मिठा पलसँगै रमाउँदै थियौँ, मसँग उ कति खुशी थियो त्यो म भन्न सक्दिन र म उसँग कति खुशी थिएँ म कुनै शब्दमा व्यक्त पनि गर्न सक्दिन । हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन् । यस्तो लाग्थ्यो साँच्चै मायाललेु छोएछ क्यारे मलाई उसको प्रेमको रंगले, उसको मायालु नजर अनि प्रेमिल स्पर्शले, त्यसैले त कति हसिन थिए उसकोे रंगले छोएका मेरा ती सुन्दर पलहरु जहाँ उ प्रेमको बहार र मिठो प्रित बनेर छाएका थियो मेरो जीवनमा ।

यसरीनै फोनबाट एकअर्कासँग माया साट्दै थियौँ, गाउँमा खै कता–कता हल्ला चल्न थालेछ हामी लुकिछीपी भेट्छौँ, कुरा गर्छोँ, हाम्रो लभ परेको छ यस्तै अरु अरु धेरै कुराहरु पनि जुन हामीबिच भएकै थिएन । यस्तो नभाको हल्ला सुनेर अचम्म परेँ, हामी त फोनमा मात्रै बोल्दै छौँ कहाँबाट यस्तो हल्ला फैलियो भनेर । रिस, शोक, ईश्र्या, निर्भरताले भरिएको मेरो समाज, देवताको उपासना र अपराध सँगसँगै गर्ने मेरो समाज, आफू कुन धरातलमा छु भन्ने कुरा बिर्सिएर मेरो व्यक्तिगत कुरामा यसरी हस्तक्षेप गर्ला भनेर कहिले सोचिन ।
गाउँमा यस्तो हल्ला चलेको रहेछ भनेर उसलाई सुनाएँ ,हामी स्वयंमलाई थाहा नभएको कुराको हल्ला चल्दा उपनि अचम्मित थियो । उसले भन्यो– कस्तो अचम्मको ठाउँ रहेछ ठिकै छ हाम्रो गल्ती केहि छैन बिना प्रमाण कसैले केहि गर्न सक्दैन, मलाई नी त्यस्तै लाग्यो के भाको छ र कसैलाई प्रेम गर्नु पाप पनि त होइन । तर, कहिलेकाँहि नखाएको विष पनि लाग्दो रहेछ । त्यो बेला मेरो समाज र आफन्तहरु स्वार्थी बनेर मेरो खुशीलाई मबाट टाढा बनाईदिए….

उसँगको अन्तिम कुराकानी
भाद्र ६ गते, जुन दिन तिज दिन थियो । तिजभन्दा दुईदिन अगाडी बाबाको मुख हेर्ने दिन भएकोले उ आफ्नो हजुरबुवा र आमालाई भेट्न आफ्नो गाउँ गएको थियो । सधैंझै हाम्रो फोनमा कुरा भयो तिजको दिन भएकोले उसले मलाई ब्रत नबसेको भनेर प्रश्न ग¥यो, ‘मनमनै जवाफ दिएँ तिमीलाई आफ्नो बनाउनु छ त्यसैले बसेको छु’ त्यो दिन स्वास्थ्यमा थोरै समस्या आएकोले म मन्दिर जान सकिन तर केहि नखाई ब्रत बसेको थिएँ, तीजमा ब्रत बस्दा आफुले चाहेको मान्छे पाइन्छ भन्ने विश्वास छ, त्यसैले मपनि ब्रत बसेँ । त्यो दिन उ हाम्रो गाउँमा फर्किदैँ थियो । उसको गाउँबाट हाम्रो गाउँ आउन करिब डेढ घण्टा लाग्थ्यो उ हिँडेरै आउने भएकोले उ हाम्रो गाउँमा आइपुग्दा सम्म हामी फोनमा बोल्यौँ सायद हाम्रो अन्तिम फोन नै त्यहि रहेछ । उसले हाम्रो गाउँ पुगेपछि अब बेलुका फोन गर्छु है म स्कुलमा पुगेँ भनेर फोन राख्यो । के थाहा नियतीलाई अर्कै मञ्जुर थियो होला उसको फोनको प्रतिक्षामा न आफुले फोन गर्न सके न उसको फोन आयो…..
तिजको दिन भएकोले गाउँका सबै दिदीबहिनीहरु रमाउँदै गाउँको शिव मन्दिर तर्फ जानुहुँदै थियो । उसको फोन राखेपछि एकछिन त्यहि डाँडाबाट हेरे रमाईलो फाँट हरियो धानबारी, आनन्दित लाग्ने ठाउँ सबैजना रातो सारीमा सजिएर हिँडिरहेका थिए । मैलेपनि त्यस डाँडाबाट देखिने शिव मन्दिरको दर्शन गर्दै भने “भगवान यदि तिमी साँच्चिनै छौ भने सधैंको लागि उसलाई मेरो बनाईदेउ, हजुरको कृपाले हाम्रो माया अझ प्रगाढ हुँदै जाओस् उ मात्र मेरो होस्’’ यस्तो भन्दै म घर फर्केँ । तर भगवानले मलाई त्यो दिन आर्शिवाद होइन सराप दिएछन्, नत्र किन त्यहिदिन मबाट उ टाढा भयो ? खै, भगवानको विश्वास नी कसरी गरौँ…

ब्रत भएकोले बेलुका फलफूल खाएर सबेरै आफ्नो सुत्ने कोठामा गएँ, सधैंझैँ म उसको फोनको प्रतिक्षामा थिएँ । राति उसँग फोनमा बोल्ने बानी परिसकेको थियो त्यसैले कहिले १० बज्ला र उसको फोन आउला भनेर घडि हेर्दैँ थिएँ । उसले फोन गर्छु भनेपछि ५ मिनेट पनि कुर्न गाह्रो हुन्थ्यो मलाई त्यसैले गीत सुनेर समय बिताउँदै थिएँ, त्यत्तिकैमा निदाएछु । ‘‘मलाई समय अझै याद छ, खै मैले त्यो बेला के सपना देखेँ एकदमै तर्सिएर बिउँझेछु, हतार–हतार उसको फोन आयोकी भनेर मोबाईल हेर्दा ११ बजेर ९ मिनेट गएको रहेछ, तर उसको फोन आएको थिएन, सधैं फोन गर्ने मान्छे त्यो दिन फोन नगर्दा अलि मन खल्लो भयो, फेरि सोचेँ पार्टी छ भन्दै हुनुहुन्थ्यो पक्कै त्यतै व्यस्त भएर होला । पछि मेरो मोबाइलमा त टावरनै दिएको रहेनछ फेरि फोन लाग्ने बनाएर फेसबुक खोलेँ, म्यासेन्जरमा उसको फोन आएको रहेछ । यस्तो राती भइसक्यो ठिकै छ अब भोली बिहान आफैँ गर्छु भनेर मोबाइल सिरानीमा राखेर सुतेँ । चकमन्न, सुनसान अँधेरी रात त्यहिमाथि झ्याउँकिरी कराएको आवाज मज्जाले सुनिन्थ्यो, निन्द्रै लागेको थिएन कताबाट मेरो आँखा झ्यालबाट बाहिर गएछ, हाम्रो गाउँको डाँडामा, जँहा बसेर म उसलाई घण्टौँ फोन गर्थेँ, त्यो मेरो कोठाबाट प्रस्टै देखिन्थ्यो, पसलमा आउँदाजाँदा प्रायजसो उ त्यहि रोडको बाटो हिँडिरहेको हुन्थ्यो । त्यो राती, त्यस डाँडामा झिलीमिली बत्ति बलेको र अलि–अलि मान्छे कराएको आवाज सुनेँ, आँत्तिदै उठेर मसँग सुतेको बहिनीलाई बोलाएँ किन–किन मलाई अति डर लाग्यो ।

किनकी हाम्रो प्रेमसम्बन्धको कुरामा ईश्र्याले जलेका अमानविय र नकरात्मक सोच बोकेका अरुको व्यक्तिगत जीवनलाई औँल्याउँदै हिँड्ने समाजका अराजक व्यक्तिहरुले उसलाइ पिट्ने हल्ला गरेका थिए रे, कारण मैले उसलाई प्रेम गरेँ भनेर । मलाई त्यहि कुराको याद आयो र डरले मुटु ढुकढुक भइसकेको थियो कतै उसलाई केहि त गरेनन् भनेर । मेरो ध्यान त्यतैतिर खिचिएको थियो, कहिले झ्यालबाट हेर्दैै, कहिले घरको बार्दलीमा निस्किएर त्यहि हल्लालाई निहाल्दै थिएँ, मन आँत्तिएर के गरुँ गरुँ भइसकेको थियो । केहिबेर पछि त्यो आवाज मेरै घरको नजिक सुनिन थाल्यो र ती मान्छेहरु मेरै घरमा आएजस्तो लाग्यो म हतारिँदै कोठाभित्र पसेर सुनेँ, हल्ला खुब मच्चिएको थियो तर के भनेका मैले बुझ्न सकिनँ । केहिबेर पछि चिनेँ तिनीहरु मेरै आफन्त रहेछन् । उनीहरु भन्दै थिए भोली कुरा गरौँला अब घर जान्छौँ हामी, त्यसो भनेर घरतिर लागे । त्यहाँ मेरा भाइहरु पनि रहेछन्, उनीहरु हामी सुत्ने छेउको कोठामा सुत्थे र उनीहरुपनि आफ्नै कोठामा आए, मैले लुकेर सबै निहालीरहेको थिएँ । अँध्यारो थियो को–को छन् भनेर चिन्न सकिन, कोठामा आएर उनीहरु फेरि गफ गरेको आवाज सुनियो, त्यहाँमध्ये कता–कता उसको बोली मेरो कानमा गुन्जियो बिस्तारै ध्यान दिएर सुन्दा उसले भनेको यहि सुनेँ ‘म तिमीहरुलाई सबै कुरा भन्न खोज्दै थिएँ’ तिमीहरुले मलाई हानीहालेउ’ यो सुनेपछि म छाँगाबाट झरेजस्तो भयो मैले जे अनुमान गरेको थिएँ त्यहाँ त्यहि घटना घटेको रहेछ, मेरा केहि आफन्तले उसलाई निर्घात कुटपिट गरेर घाइते बनाएर त्यहाँ ल्याएका रहेछन्, त्यो रात कसरी बिताएँ म व्यक्त गर्न सक्दिन…

बिहान उठ्दा तिनै कुटपिट गर्नेहरु मेरो घरमा जम्मा भएका थिए । सबैले मलाई रिसको अनुहार बनाएर हेरिरहेका थिए । मैले के भयो किन यसरी हेर्दै छौ ? यति मात्र के बोलेको थिएँ । के भयो के भएन एकछिनमा थाहा पाउँछेस भन्दै जबरजस्ती तान्दै बारीमा लगेर, अब तैँले त्यो इन्जिनियरसँग बिहे गर्नुपर्छ, हिजो राती त्यसलाई हामीले समातेर ल्याएका छौँ, त्यसले बिहे गर्छु भनेको छ, त्यो सुनेपछि मेरो बोलिनै अड्कियो तिनीहरुले गरेको त्यो व्यवहारलाई मैले के सोच्ने ? विवाह भन्ने कुरा दुईजनाको मन मिलेर परिवारको सहमतिमा गर्ने कुरा हो । त्यो बेला हामी दुबै बिहेको तयारीमा थिँएनौँ, एकअर्कालाई बिस्तारै चिन्दै थियौँ, उसलाई बिना कसुर कुटपिट गरेर जबरजस्ती त्यहाँ ल्याएको देख्दा सहन सकिन मैले, यति मात्र बोल्न आएछ उसलाई त्यहाँबाट जानदेउ । मनमा एकदमै डर बढिरहेको थियो उसको अगाडी कसरी मुख देखाउने ? यो घटना पुरै गाउँमा हल्ला भयो भने के होला भनेर मन आँत्तिरहेको थियो । त्यो घटना बुझ्दा गाउँका अराजक व्यक्तिहरुले हामीलाई झुटा आरोपहरु लगाएर, हाम्रो बारेमा बनावटी कुराहरु फैलाएर त्यो घटना घटेको रहेछ । यथार्थ के हो नबुझी बिना कसुर मैले माया गरेको मान्छेलाई त्यसरी दोष लगाएर पिट्दा र त्यस्तो बेजत हुँदा सुसाइड गर्छु भन्ने सोच आएछ र त्यहि बोलेछु पनि । तरपनि कसैको मनमा दयाको भाव देखिएको थिएन ।

केहिछिन पछि उसले मलाई भेट्छु भनेको रहेछ र उ बसेको कोठामा जाँदा त्यहाँ उसलाई त्यो अबस्थामा देख्दा बोल्नै सकिन म । उसले जुन कुराको सजाय पाइरहेको थियो त्यहाँ उसको कुनै गल्ती थिएन । सामान्य कुटपिट होला भन्ने लागेको थियो तर मैले सोचेको भन्दा बिलकुलै फरक थियो त्यो दृश्य । उ नै होइन जस्तो पुरै अनुहार निलडाम, सुन्निएको यो भन्दा अरु व्याख्या म गर्न सक्दिन । मलाई के भयो भन्न आएछ, मैले के बोले नै मलाई थाहा थिएन, उसले लडेर यस्तो भयो भन्दै हाँस्यो, कति पिडा थियो उसलाई, कस्तो महसुस भइरहेको थियो होला कोठामा थुनेर राख्दा, म बुझ्न सक्थेँ तरपनि उसले मलाई केहि भएको छैन जस्तो अभिनय गरिरहेको थियो । मैले के–के सोधेँ सायद उसलाई मेरा कुराले पनि नराम्रो लागेको छ होला, त्यो बेला मलाई केहि बोल्न नआएर के भने, भने मलाई नै थाहा छैन । उसले मेरो कुरा सुनेर हाँस्दै ‘सोचेझँै जिन्दगी रैनछ’ भन्दै आफ्नो पिडाहरु लुकाउन खोजीरहेको थियो ।

घटना भएको कुरा एककान, दुईकानहुँदै चारैतिर हल्ला भएछ, सबैको गाली, त्यतिठुलो बेइजति, मलाई सहन धेरै गाह्रो भयो । त्यो दिनबाट उसले पनि मेरो फोन उठाउन छोड्यो ४÷५ पटक फोन गरेँ धेरै पटक म्यासेज गरेँ न फोन उठ्यो न त म्यासेजको रिप्लाई आयो । परिवारका सदस्य, आफन्तहरु पनि मबाट टाढा भएजस्तो लाग्यो, त्यहि घटनाबारे बुझ्न होला सबैको फोन आउँथ्यो म हतारिँदै हेर्थे न उसले ग¥यो कि भनेर तर त्यो फोन उसको हुँदैन थियो । कति पटक डाँको छोडेर रुन्थेँ । उसको फोन नआएपछि अरुको फोन देख्दा पनि दिक्क लागेर फोन स्विच अफ, फेसबुक डिएक्टिभेट गरेर बसेँ, कतिदिन म कोठाबाट बाहिर निस्किन, उसँगको बिछोड, गालीबेइजतिले म उदास भैसकेको थिएँ । म कति तड्पिएँ, मेरो जिन्दगी यतिनै रैछ जस्तो लाग्यो, जीवनका पानाहरु शुन्यशुन्य लाग्न थाल्यो, निरासै निरासको संसारमा हराए जस्तो लाग्यो हरेक पल, हरेक दिनरात, उसँगै हुन्छु भनेर देखेका रङ्गीन सपनाहरु बिस्तारै हराउँदै गए, जीवनमा सबैभन्दा धेरै भगवान पुकारेको र सबैभन्दा धेरै भगवानलाई गाली गरेको क्षण थियो त्यो मेरो । कहिले बहिनीको फेसबुकबाट उसको फोटोहरु हेरेर रुन्थेँ, कहिले उसले गाएका गीतहरु सुनेर रुन्थेँ, कहिले उसँग फोनमा बोलेका ती ठाउँहरुमा गएर डाँको छोडेर रुन्थेँ । यस्तो लाग्यो उ हुँदा सबैकुराहरु थिए मसँग उ गएसँगै सबै चिजहरु खोसीए मबाट, साँच्चीनै त्यो बेला मेरो लागि कोहि रहेनछ यो संसारमा जस्तो भयो । यसरीनै तड्पिदैँ रुँदै दुईमहिना बितेछ तर उसँग बाँडेका ती खुशीका पलहरु र छुटिएका दुःखका क्षणहरु मेरो मानसपटलमा ताजा नै रह्यो, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले–कहिले) भन्ने फत्तेमान राजभण्डारीको गीत याद आइरहन्थ्यो । दुईमहिना बितिसक्दा पनि उसको याद र त्यो घटनालाई मैले बिर्सिन सकिन । गाउँमा हुँदा उसका नराम्रा कुराहरु सुनाउथे झन मन रुन्थ्यो, सायद मलाईजस्तै उसलाई पनि मेरो नराम्रा कुराहरु सुनाउँथे होला मेरो दुःखमा हाँस्ने मान्छेहरु । उ पनि त्यो घटनापछि त्यो गाउँ छोड्यो भन्ने सुनेँ । मलाई पनि त्यो ठाउँमा बस्दा उसैको याद आइरह्यो मपनि केहि समय गाउँबाट अन्तै गएँ । कतिले त यस्तो पनि आरोप लगाएछन् उसलाई कुट्न लगाउने नै म हो भनेर, हो त्यो घटनाको कारण म थिँए तर कर्ता होइन । उसलाई त थाहा पनि थिएन म उसको लागि त्यति तड्पिएको छु भनेर । यदि मेरो त्यो पागलपन देखेको भए उ मबाट टाढा हुँदैन थियो होला, त्यो घटना र उसँगको बिछोड मलाई मृत्यु जस्तै सहन गाह्रो भयो ।

त्यो घटना पछि मैले उसलाई कहिले देखीन केहि समय बाहिर गएपछि मन हल्का होलाकी भन्ने आशले बाहिर गएँ, गाउँ छोडेपनि मलाई उसको सम्झना धेरै सताउँथ्यो डिप्रेशनमा जान्छु की जस्तो लाग्थ्यो । उसको याद नआओस् भनेर मोबाइल, फेसबुक सबै चलाउन छोडेँ, उसको खबर नपाउँदा मन साह्रै व्यथित हुन्थ्यो । तर केहिसमय बाहिर बस्था केहि हदसम्म मन अलि शान्त भयो, दशैं नजिक आइसकेको थियो त्यसैले केहि समय पछि गाउँमा फर्केँ, के गर्नु सबै सम्झनाहरु त्यही ठाउँमा छन् उसँग भेटेका, बोलेका सबै–सबै पलहरु तर केवल उ थिएन । त्यसैले फेरि तिनै घटना मेरो मनमा बल्झिन थाल्यो । गाउँमा गएपछि सुने स्कुलको उद्घाटन हुँदै छ रे, त्यसैको लागी उपनि त्यहाँ आएको छ भनेर । लाग्यो, भौतिक दुरि त त्यति टाढा छैन तर के गर्नु मनको दुरि टाढा भएपछि एउटै ठाउँमा भएपनि भेट नहुने रैछ भनेर भक्कानिएँ । गाउँमा गएको एकहप्तापछि स्कुलमा उद्घाटन कार्यक्रम थियो । गाउँका सबै मान्छेहरु स्कुलको कार्यक्रम हेर्न जाने भनेर हतारिँदै थिए । मेरो मनमा भने चिसो पस्यो, मलाई लाग्थ्यो त्यो स्कुल मेरो र उसको हो जहाँ हाम्रो कहानी सुरु भएको थियो । अरु जाँदापनि मनमा डाहा भएजस्तो हुन लाग्यो सबैको लागि खुल्ला भएको त्यो स्कुल मेरालागि ठुलो पर्खाल लगाएर बन्देज गराईएको झैँ लाग्यो ।

स्कुलमा कार्यक्रम हेर्न भनेर मेरो नजिकको आन्टिहरु जाने तयारी गर्दै थिए, बहिनीहरु पनि जाऔँ हामीपनि भन्न थाले, म दोधारमा परेँ मलाई जान मन त धेरै थियो तर उसले मलाई देख्यो भने उसलाई नराम्रो लाग्ला त्यस्तो खुशीको उत्सव मनाइरहेको ठाउँमा म कसरी उसलाई नराम्रो बनाउँ ? फेरि सोचेँ मैले माया गरेको मान्छे अब उ यो गाउँ छोडेर जाँदैछ सायद अब उसलाई देख्ने यति नै हो, उसलाई अन्तिम पल्ट भएपनि हेर्न जान्छु भन्ने लागेर डराई–डराई जाने सहमत गरेँ र भाइ बहिनीसँगै गएँ । तर मेरा पाईलाहरु हिँड्न लडबडाई रहेका थिए, मुटुको धड्कन बेजोड सँग धड्किरहेको थियो , मनमा धेरै कुराहरु खेलिरहेका थिए, थोरै खुशी पनि थिँए धेरैपछि उसलाई देख्दै छु भनेर, बाटोभरि पुराना कुराको याद आइरह्यो पहिला कति खुशी हुन्थे यो ठाउँमा आउँदा, ती बाटोबाटोमा उसका सम्झनाहरु थिए । लाग्यो आज टुटेको मुटु लिएर उसलाई एक झलक हेर्नको लागि तड्पिएर हिँड्दै छु भनेर मनमा एक किसीमको कालो बादल छाएको थियो । स्कुलमा पुगेँ कार्यक्रम हुँदै थियो मान्छेहरुको चहल–पहल धेरै थियो । मेरो मनमा भने ला.. के होला अब भन्ने डरले ढुकढुक बढिरहेको थियो यसरीकी मैले ठुलो गल्ती गरेँकी भनेर । यस्तो सोच्दै कार्यक्रम भैरहेको ठाउँमा पुग्दा सुरुमै उसलाई देखेँ उ फोटो खिचिरहेको थियो किन–किन उसलाई देख्ने बित्तिकै मेरो पुरै शरिर काँप्न थाल्यो उसले नदेखोस् भनेर हतार–हतार एक कुनामा लुकेर बसेँ उसले मलाई देखेको थिएन, गाउँभरिको मान्छेहरु मलाई नै हेरिरहेका थिए सायद त्यो घटनाको कुराले होला, एकटक्क भएर……..

मलाई विभिन्न लालछना, झुटो आरोप र अमानविय व्यवहार गरी फसाएर बिरामी बनाएको यो बिरामी समाज मलाई कहिले नदेखेको जसरी हेर्दै छ भनेर रिसपनि उठ्यो र पिडापनि भयो । म त्यहि कुनामा बसेर उसका क्रियाकलापहरु निहालीरहेको थिएँ । धेरैबेर त्यहाँ लुकेपछि मलाई मेरो दिदीले सबैले तँलाई हेरिरहेका छन् किन लुक्छेस् तेरो के गल्ति छ र भनेर त्यहाँबाट बाहिर लैजानु भयो । त्यहिबेला उसले मलाई देख्यो, तर नदेखे जस्तो गरिरहेको थियो, मेरो नजर भने उहितीर थियो । उ निकै व्यस्त देखिन्थ्यो हामी गएको केहि समयमै कार्यक्रम सकियो र केहिबेर पछि उ जाने तयारी गर्दै थियो, थाहा नपाए जसरी मैले सबै कुरा नियालीरहेको थिएँ, केहि समयपछि उ कसैको बाईकको पछाडी बसेर गाउँको भाई–बहिनीहरुलाई बिदाईको हात हल्लाउँदै थियो, म उसलाई अथाह प्रेम गर्थेँ समाज र आफन्तले उसले मलाई नचिन्ने बनाईदिएछ भनेर आँखामा आँशु टिलपिल भरियो, अरुले नदेखुँन भनेर मेरो भुन्टो (कुकुर)लाई जिस्काउने निहुँले उसलाई देखिने ठाउँमा गएँ, उ स्कुलको गेटनिर बाईकमा चढेर अरुसँग गफिँदै थियो, मैले मनमनै भनेँ यहि ठाउँमा भेट भएको थियो आज यहि ठाउँमा आएर बिदा गर्दैछु भनेर निराश थिएँ । उसले मलाई नचिनेको व्यवहार गर्दैछ तरपनि मलाई उप्रति कुनै गुनासो थिएन, यो त समाजले निम्त्याएको उपज थियो । एक्लिएकी त म पहिलानै थिएँ झन उ जाने कुराले मलाई एक्लो महसुस भइरहेको थियो, उ जाने कुराले म खुशी पनि थिएँ किनकी उसले त्यो गाउँबाट नसोचेको चोट सहनु परेको थियो । त्यसैले त्यो गाउँ उसको लागि बस्न लायकको छैन भन्ने सोचेँ । नबोलेपनि मनले उसलाई बिदाई गरिरहेको थिएँ, तिमी जहाँ हुन्छौ खुशी रहनु विगतमा जे भयो अब आउने दिनहरु तिम्रो राम्रो होस्, जीवनमा सबै कुरा भोग्दै सिक्दै जाने हो, यो घटनाबाट पनि हामीले केहि पाठ सिकेका छौँ, तिमी मेरो साथमा नभएपनि सम्झनास्वरुप यो स्कुल उपहार दिएर गएको छौ, म रहुन्जेल, यो स्कुल रहुन्जेल तिमीसँग बिताएका सुन्दर पलहरु मिठो याद बनेर बस्ने छन् यहि सोच्दै आँखाबाट आँशु झरिरहेको थियो । उ त्यहाँबाट सबैलाई बाईबाई गरेर गयो…..। उ गएपनि उसँग हिँडेका पैतालाका डोबहरु ताजै थिए… त्यो स्कुल, डाँडाहरु, बाटोहरु, हावा, रुखहरु, चराचुरुङ्गीले उसैलाई खोजेको भान हुन्थ्यो मलाई ।

प्रिय (बच्चा) तिमीसँग सप्तरंङ्गी सपनाहरु साँचेर स्वप्नील संसारमा रमाउँदै थिएँ, मायाको आठौँ रंगमा रङ्गीएर तिमीसँगै लामो यात्रा गर्ने चाहा थियो तर समाजले हाम्रो मायालाई सुरु नहुँदै अन्त्य गराईदियो । सायद तिमीले यो कथा पढ्छौ होला, कति कुरा तिमीलाई भनेको छैन, सबैको अगाडी ती कुराहरु बिर्सेजस्तो गरेपनि मैले तिमी र तिमीसँगको ती मीठा पलहरु भुल्न सकीन अहिलेपनि, सायद तिमी मेरो साथमा भएको भए यो दुनियाँको अगाडि म दाबा गरेर भन्थेँ ‘मुना मदन’ , ‘रोमियो– जुलेट’ जस्ता नमुना जोडीको नाम लिने समाजले तिमी र मेरो नाम लिने थियो । हो , साँच्चै आज तिमीसँगै भएको भए म कति खुसी हुन्थे होला, सबैको सामु म भन्दैछु– ‘मेरो नामको फेसबुक एकाउन्ट तिम्रो नामको पासवर्ड नहानी चल्दैन, मेरो मोबाइल तिम्रो नम्बरको पिनकोड नहाली खुल्दैन । असम्भव भन्ने केहि छैन, यसलाई सम्भव बनाउने की नबनाउने त्यो आफैँमा निर्भर हुन्छ यदि सम्भव छ भने आउ फर्केर पुनर्मिलन गरौँ, तिमीलाई फेरि दोस्रो पटक प्रेम गर्छु भन्ने हिम्मत सिधै आएन किनकी तिमी झनै टाढा हुन्छौ भन्ने डरले, तिमी सहमती छैनौ भने तिम्रो सहमती बिना म केहि गर्न सक्दिन तर म तिमीलाई त्यस्तै माया गर्छु, मेरो मनको ढोका मात्र तिम्रो लागि सधैं खुल्ला हुनेछ…… ।

(कसैको जीवनमा मेल खान गए संयोग मात्र हुनेछ)