August 1, 2021, Sunday
२०७८ श्रावण १८

द्वन्द्व भुल्दै, परिचय बदल्दै : व्यावसायिक उत्पादनमा पूर्वलडाकु

352

बाह्र वर्षको उमेरमा सशस्त्र द्वन्द्वमा होमिएकी तिलाकुमारी अहिले द्वन्द्वको कुरा लुकाउन खोज्नुहुन्छ । जनयुद्धमा घरपरिवार त्यागेर लाग्नुभएका सल्यानको बागचौर नगरपालिका– ४ की तिलाकुमारी अहिले बागलुङमा आएर द्वन्द्व भुल्दै कृषि कर्ममार्फत व्यावसायिक उत्पादनमा लाग्नुभएको छ ।

पढ्ने, रमाइलो गर्ने उमेरमा योद्धा बन्नुभएको तिलाकुमारीले जनयुद्धमा होमिएर आफ्नो समय खेर फालेको तीतो अनुभव सुनाउनुभयो । उहाँ द्वन्द्वको घाउ मेटाउँदै व्यावसायिकरुपमा कुखुरा, टर्की र बङ्गुरपालनमा लाग्नुभएको छ । विसं २०५२ फागनु १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सशस्त्र द्वन्द्व थाल्दा तिलाकुमारी १२ वर्षकी हुनुहुन्थ्यो ।

जनयुद्धमा होमिएपछि तिलाकुमारीको दैनिकी र बाटो मात्र फेरिएन, उहाँको नामसँगै गन्तव्य र लक्ष्य पनि फेरियो । उहाँलाई समीक्षाको उपनामले चिनाउन थाल्यो । उहाँ समानताको लडाईंका लागि युद्धमा होमिनुभयो तर आज बिर्सन चाहानुहुन्छ पुराना यादहरू । उहाँले परिवर्तनका लागि युद्धमा होमिए पनि अन्त्यमा आफू शुन्य अवस्थामा आए पनि नयाँ जीवनको शुरुआत गरेको बताउनुभयो । तत्कालीन समयमा माओवादीकी निडर, आत्मविश्वासी, भरोसायोग्य लडाकु र स्वास्थ्यकर्मीको भूमिकामा रहनुभएकी तिलाकुमारी अहिले बाटो बदलेर सामान्य जीवयापनमा फर्कनुभएको छ । युद्धमा घाइतेको उपचार मात्र होइन, आवश्यकता पर्दा हतियार उठाएर युद्धको अग्रभागमै रहेर २४ वटा युद्ध लडे पनि शान्ति प्रक्रियामा आएपछि आपूmलाई बेवास्था गरेको दुखेसो गर्नुभयो । “चौबिस वटा युद्ध आफू नै लडेको अनुभव छ”, तिलाकुमारीले भन्नुभयो, “तर आज आफ्नो जीवनमा मात्र हैन नेपाली समाजमा समेत कुनै परिवर्तन आएन, अहिले साधारण तरिकाले जीवन जिउन थालेकी छु ।” समाज र देश बदल्नका लागि गरेको युद्ध र सङ्घर्षबाट देशमा केही अभूतपूर्व परिवर्तन भए पनि आफ्नो जीवनमा समय र परिवार गुमाउनुपरेको उहाँको भनाइ छ ।

तिलाकुमारीमा क्रमशः एकपछि अर्को निराशाका बादल मडारिँदै आयो । त्यसैले आजभोलि फेरि तिलाकुमारीको दैनिकी फेरिएको छ । उहाँ अहिले कुखुरा, चल्ला, घर व्यवहार र चुला चौकामै सीमित भइरहनुभएको छ । महिलाले दासताबाट मुक्ति पाउँछन्, असमानताका सबै जञ्जिर तोडिन्छन्, महिला र पुरुषको मात्र होइन, समाजमा हुने सबै खालका भेदभावको अन्त्य हुन्छ भनेर हत्केलामा प्राण लिएर माओवादीबाट १९ वर्षको उमेरमा २०५९ साल चैत २७ गते जनमुक्ति सेनाबाट युद्ध लड्नुभएकोे तिलाकुमारीले तिनै मीठा सपना देखाएका नेताबाट आपूm विभेद र अन्यायमा परेको अनुभूति गर्नुभएको छ । जनमुक्ति सेना बनेर रुकुमको खारा युद्ध, भालुवाङलगायतका २४ स्थानमा युद्ध लड्नुभएको तिलाकुमारीलाई अहिले पछुतो भएको छ ।

उहाँले माओवादीमा लागेर समय र आफ्नो भविश्य मात्रै खेर फाल्नुभएन युद्धमा आफ्ना दाजु झलकमान, भाउजु र भतिजीसमेत गुमाउनुभयो । पातलो र मोटो मसाल भन्दै दाजुले गरेको राजनीति देखेर कम्युनिष्ट बन्नुभएकी तिलाकुमारीलाई उहाँका दाजुले तत्कालीन समयमा माओवादीको उपचार गर्नका लागि दाङको राप्ती हेल्थ इन्स्टिच्युटबाट अनमीसमेत पढाउनुभएको थियो । अनमी सकिँदा साथ प्रमाणपत्र झोलामा राखेर युद्धभूमिमा होमिनुभएकी तिलाकुमारीको भालुवाङ लडाईमा प्रमाणपत्र हराए पनि ज्ञान, सीप र क्षमताले धेरै घाइतेले नयाँ जीवन पाएको सम्झना दिमागमा ताजै रहेको उहाँको भनाइ छ । नेत्रविक्रम चन्द ‘विप्लव’ र नन्दकिशोर पुन ‘पासाङ’को युद्ध तयारी र प्रशिक्षणले उम्लिएको रगत लिएर युद्धभूमिमा जानुभन्दा अघिल्लो दिन आफ्नै हातले आफू र आफ्ना साथीका लागि डोका, काप्रा र बाँसका स्टेचर तयार पारेका हात यतिबेला युद्धको स्मरण गर्दा काप्ने गरेको तिलाकुमारीले बताउनुभयो । “सारा कुरा बिर्सेर जनयुद्धमा लागे पनि देशमा परिवर्तन आयो, नेतामा परिवर्तन आयो तर आफूलाई निरासाबाहेक केही भएन”, थापाले भन्नुभयो, “अहिले पुराना कुरा, माओवादी त सम्झनै चाहन्न, जनयुद्धका तस्बिरसमेत च्यातिदिएँ ।” तत्कालीन समयमा देश र जनताका लागि गरेका बलिदानको कदर हुन छाडेपछि पुराना सबै स्मरण मेटाउनका लागि उक्त समयमा खिचाएका तस्बिर च्यातिदिएको उहाँले बताउनुभयो ।

शान्ति सम्झौतापश्चात् आफूलाई जिम्मेवारीविहीन बनाएको तिलाकुमारीको भनाइ छ । उहाँ पुराना सबै कुरा पछाडि छोडिएको भए पनि जनमुक्ति सेनामा भेटिएका बागलुङको काठेखोला गाउँपालिका वडा नं १ पालाका विजय रोकासँग २०६२ असोज २५ गते जनवादी विवाह गरेर जोडिएको साइनोले उहाँलार्ई बाँच्ने आधार भने सिर्जना गरेको छ । श्रीमान्, एक छोरा र एक छोरीसहित बागलुङ नगरपालिका–३ हाडेपाखामा अहिले तिलाकुमारीको सानो कुखुरा फार्म छ । तिलाकुमारी दम्पती अब गुनासो मात्र गरेर संसार नचल्ने भन्दै बाटो बदलेर व्यावसायिक उत्पादनमा लागेका हुन् । करिब रु आठ लाख लगानीमा उहाँले कुखुरा फार्म सञ्चालनमा ल्याउनुभएको छ । उहाँले पहिलो पटक ४०० बोइलर कुखुरा बिक्री गरिसक्नुभएको छ । अब नयाँ चल्ला हाल्ने तयारीमा हुनुहुन्छ ।

यस्तै उहाँ अण्डा दिने ५० लोकल कुखुरा र १५ टर्कीचरासमेत पाल्दै आउनुभएको छ । उहाँका श्रीमान्ले सवारी चालकको काम गरेर घर खर्च आएको छ । उहाँले हालै १० वटा बङ्गुरका पाठापाठी खरिद गरेर पाल्न थाल्नुभएको छ । आफूले जस्तै परिवर्तनका लागि, देश र जनताका लागि माओवादी बनेका र युद्ध लडेकालाई सत्तामा पुगेपछि पार्टी र नेताले भुल्दै गएको प्रति भने उहाँको तीव्र आक्रोश छ । “नेताले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडे”, उहाँले भन्नुभयो, “उनीहरूसँगै परिर्वतनको लडाई लड्दा हात खुट्टा गुमाएका, अङ्गभङ्ग भएका मागेर खाने भएका छन्, अरु हजारौँ योद्धा बेरोजगार छन्, जनताको अवस्था उस्तै छ ।” हातखुट्टा गुमाएका, शरीरमा जनयुद्धका निशानी बोकेर बाँचेकाको दयनीय अवस्था देख्दा अझै पीडा थपिने गरेको बताउँदै उहाँले आफूहरूको त्याग, समर्पण र आफन्तको रगत खेर गए जस्तो अनुभूति हुने गरेको बताउनुभयो ।rss