November 25, 2020, Wednesday
२०७७ मंसिर १०

हाम्रो समाज,आमा समर्पण र त्याग

2.7K

दिपिका भुसाल

कति फरक छ है, एक नारीको जीबन । समय परिस्थिति सदैब एकैनास नरहने ! वालापन,किशोर अवस्था र यौवन कसरि बित्यो भन्ने कुरा सम्म पत्तै नहुदै जीबन नै समाप्त भए जस्तै लाग्ने । हो आज त्यो नारीको जीवनको कुरा गरी रहेकी छु ,जुन किशोर अवस्थामा नै आमा बन्नु पर्छ । एक जिम्मेवार आमा , कतिपय परिस्थिति र कति सामाजिक परिवेश अनि कति वाध्यता को कारणले आमा बन्नु परेको हुन्छ ।

हाम्रो समाज निकै परिवर्तन भयो अहिले । २५-३० वर्ष नहुन्जेल विहे नगर्ने अडान लिन सक्छन् किशोरीहरु तर त्यो समय बेग्लै थियो । पारिवारिक निर्णय मन नपरेपनि मौन स्विकृती जनाउनु बाहेक अन्य उपाय कहाँ थिए र !

समाज र परिवारलाई कसले बुझाई देओस त्यो कुरा । उमेर नपुग्दै गरेको बिहेले बढ्दो उमेर संगै थप समस्या खडा गरिदिन्छ भनेर । त्यहाँ त बस महिलाको जिबन त्याग हो भनेर लेखिएको छ । त्याग नै पढीएको छ र जीबन के हो नबुझी त्याग नै भोगीएको छ । कहीले छोरी बनेर,कहीले बुहारी , अनि श्रीमती र आमा बनेर । खै कहाँ छ महिला को स्वतन्त्र अस्तित्व ?

त्यस भन्दा पर जव किशोर अवस्था मा गरिएको बिहे र बिहे पछिका अवस्था पार गरे र जब जीवनलाई बिस्तारै बुजिदै गईन्छ तब मनमा पनि धेरै उतार चढाब आउदा रहेछन् । ति उतार चढावहरु ले जीवनमा गम्भीर समस्या र परिकल्पना नगरिएको परिस्थिति लाई अगाडि ल्याईदिन्छ । त्यस अवस्थामा विकसित भएको चेतनाले महिलहरुलाई थप समस्यामा पारिदिन्छ ।बरु जीन्दगी नबुझेकै वेस , बुझेपछी केवल दुई वटा विकल्प हुन्छन । विद्रोह गर्नु या अस्तित्वको पराजय स्विकार गरेर त्यागको जीवन बाँच्नु ..!

विद्रोह यस मानेमा असम्भव देखिन्छ की बिहे गर्न साथ आमा बन्नु पर्छ । आमा बनेपछिकाे बढ्दो जिम्मेवारि ले विद्रोही हुन बाट रोक्छ । तर जव कुनै किशोरी आमाको श्रीमान जिम्मेवारी बिहीन बनेर आफ्नै सन्तानको लालन पालन शिक्षाको जिम्मेवारी वहन गर्न सक्दैन या चाहदैन तव विद्रोह वाध्यता बन्दछ एउटी किशोरी को लागि । सन्तान को मायाले जस्तो विद्रोह पनि गराउछ मान्छे बाट । भलै पुरुषहरु जिम्मेवारी बाट भाग्लान तर एउटि महिलालाई सन्तान प्रेमले विद्रोही बनाउछ ।

सन्तान प्रेम कै कारण कति महिलालाहरु विदेश पलायन हुनु पर्ने अवस्था रहेको छ,त्यसको एकिन तथ्यांक कसैसँग होला नहोला त्यो बेग्लै पाटो हो । एक्लै आफ्नो सन्तानको पालन पोषण गर्नको लागी आफैलाई बेचिरहेका आमाहरु लाई घृणाको दृष्टी ले हेर्दछ समाज ।

रात दिन नभनी घरमा नै अर्काको दास बन्नु त्याग हो परिवार प्रेम हो भनेर परिभाषित गर्छ यहीँ समाज ले । दासता स्विकार नगर्ने एक आमाको चरित्रमा प्रश्न उठाउछ यहीँ समाज ले ।

के पुरुषको सन्तान प्रतिको जिम्मेवारी वोध त्यति कमजोर हुन्छ र ? के सन्तान को आर्तनाद मा पुरुषको छाती चिरीदैन र ? अवश्य चिरीन्छ । पिडा त हुन्छ पुरुष लाई तर त्यो पिडा एक असल वावु ले मात्र अनुभव गर्न सक्छ । खराब बाबु ले आमालाई दिएको यातना को कारण छोराछोरी चिच्याएर रुदा पनि मनोरन्जन गर्छ ।

हाम्रो समाजमा त्यस्ता बाबु धेरै छन् जसले सन्तान उत्पादनको लागी बिर्य स्खलन सँगै उनीहरुको जिम्मेवारी पनि स्खलित गरेका हुन्छन् । उनीहरु सन्तान त जन्माउछन तर आफ्नो कर्तब्य बिर्सन्छन् । त्यस्ता पुरुष समाजमा थुप्रै छन् । त्यस्ता पुरुषको बर्णन कसरी कुन शब्दमा उनिहरुको पुरुषार्थ वर्णन गर्न सकिएला र ! जुन पुरुष आफ्नै श्रीमती लाई बलत्कार गर्दछ, उसको कर्तुत लाई कसरी सहवास थियो भनेर परिभाषित गर्न सकीएला र !

त्यसमाथी पनि एक किशोरी बलत्कारबाट आमा बन्न परेको अबस्थामा नौ महिना गर्भमा राखेर सन्तान जन्माउछिन एउटी आमा तर सन्तानको नामको पछाडी त्यही वलात्कारी पुरुषको तिरस्कार पच्छायत बाबूको “थर” झुण्ड्याउन समेत नपाइने र जीवनभर आतंकित बन्नुपर्ने विषम परिस्थिति बाट गुज्रिनु पर्छ महिला हरुलाई यहाँ ..।

जव एउटी किशोरी आफ्नो ईच्छा विपरीत आमा बन्नुपर्छ, एक नारी जसको इच्छाकाे रहरको कुनै सम्मान हुदैन र एउटी आमा जसको ममता र मर्मको चिर हरण गरिन्छ भने कसरी हामीले वर्तमान लाई एकाइसौ शताब्दी हो भनेर परिभाषीत गर्न सक्छौं ? कसरी समानता र स्वतन्त्रताको कुरामा भाषण गर्न सक्छौं? यहाँ साच्चिकै स्वतन्त्रताको कुरा गर्दा भित्र भित्र रिस उठेको हुन्छ । एका तिर मन दुखेको पनि हुन्छ । नारीहरु केही थोरै मात्रै बोल्यो भने ‘बाईफाले’ र चरित्रहीन को ट्याग लगाईदिने सामाजिक अगुवाहरु नै नारी स्वतन्त्रताको मुल्यांकन गर्न अग्रस्थानमा रहेका हुन्छन् ।

आफ्नो खुट्टामा उभिएकी नारीलाई बढी स्वन्तत्रता दियो ,यति धेरै स्वतन्त्रता पनि ठिक हैन भनेर वकालत गर्न अगाडी सर्नेहरुको जमात ठुलो हुन्छ । तर अरुलाई के थाहा आफ्नो कर्म गरीरहेकी त्यो नारी कति पीडामा छ, कति तड्पियर बसेकी छ !

आफुलाइ मायाँ गर्ने आफ्नो जीबनको सर्वस्व सुम्पेर कुनै एक पुरुष सँग जव समर्पित भएकी हुन्छे एक कीशोरी । तर पुरुष एक छिनको आफ्नो यौन प्यास लाई तृप्त पार्ने साधन सम्झन्छ । यातना दिन्छ प्रताडीत गर्छ र बेईज्जत गर्दै खेदो खन्छ । हुन त सबै जना पुरुषहरुलाई मैले दोषी मानेकि छैन् । सबैलाई म आरोप लगाएकि पनि हैन तर कतिपय पुरुषहरु यस्तो पनि छन् आफ्नो छोरा छोरिको जिम्मेवारि बिर्सेर फेरी अर्कै सँग नाता कायम गर्न पुग्छ ।

आफ्नै सन्तानलाई र आफ्नो जीवन संगिनीलाई नाना थरि लाल्छना लगाउदै श्रीमती बाट टाढा रहन खोज्छन् । अन्ततः त्यस्ता नारीलाई एक्लै जीबन सँग लड्न बाध्य बनाउछ समयले त्यो अवस्थामा विद्रोह नगरेर के गर्ने नारीले ?

जव बाध्य बनाउछ परिस्थितिले ! अबोध दिमागले कति नै सोच्न सक्ला र कति नै बोझ झेल्न सक्ला र ! आफ्नै दिमाग बच्चै हुन्छ त्यसमाथी जन्माएका सन्तानहरुको जिम्मेवारी ..! …कमजोर दिमाग र मन हुनेहरुले त आत्महत्या नै गर्छन् । आत्महत्या नै गरेपनि सुख दिदैन समाज ले ।

दिपिका भुसाल नारीबादि लेखक हुन ।उनका लेख रचनाहरु नारी हिंसाको विरुद्धमा हुन्छन् ।उनी हाल इजरायलमा कार्यरत छिन ।

Recent Update