April 19, 2021, Monday
२०७८ बैशाख ६

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान

2.4K

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको विवरण आएको छ।बिबिसीले जनाए अनुसार दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा आइतबार  घटना भएको हो।दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो।त्यसपछि आफूहरूले चेतावनी दिएको र पछि गोली हानाहान शुरू भएको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार बिहान ७ बजेर ४१ मिनेट (दक्षिण कोरियाली समय अनुसार) मा उत्तर कोरियाको तर्फबाट गोली प्रहार भएको थियो, जुन गोली सीमावर्ती शहर चेरोवनमा रहेको एक दक्षिण कोरियाली सुरक्षा पोस्टमा लागेको थियो । गोली हानहान भए पनि कुनै धनजनको क्षति नभएको दक्षिण कोरियाले जनाएको छ!

दक्षिण कोरियाली सेनाले निकालेको बयानमा भनिएको छ–जबाफमा दक्षिण कोरियाले दुई राउण्ड गोली प्रहार गरेको छ र चेतावनी दिइएको छ । किन गोली प्रहार भयो भन्नेबारेमा थाहा भइसकेको छैन । मिलिट्री हटलाइनको माध्यमबाट सम्पर्क गरेर गोली प्रहारको कारण खोज्न प्रयास गरिरहेको ज्वाइन्ट चिफ अफ् स्टाफले बताएको छ । 
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सेनाले सिधै दक्षिण कोरियामाथि गोली चलाएको बताइएको छ । 

करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ-उन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो।दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन्।