April 19, 2021, Monday
२०७८ बैशाख ६

अप्पर डोल्पालाई फन्को मारेकि सिर्जना, उनले देखका अदभूत दृश्य र अनभुतीहरु

986

६ वर्ष अगाडि काठमाडौ महल छेउमा रहेको निमन्त्रणा क्याफेमा पहिलो पटक भेट भएर छुट्टिएकि सिर्जना ओली ६ वर्ष पछि यो पंक्तिकार सँग भेट हुदा उनले जिन्दगीका कठोर तर निकै रमाइला यात्राहरु पार गरिसकेकी रहेछिन् । रुकुमबाट अध्ययनको शिलशिलामा काठमाडौ शहर झरेकी सिर्जनाको मन त आफ्नो घर रुकुम भन्दा अझ माथीको प्रकृतिसँग मितेरी गाँस्न पुगेछ ।

नयाँ पर्यटकिय ठाउँमा घुम्ने र त्यहाँको प्राकृतिक सुन्दरता र वास्तविकता सुन्न रुचाउनेलाई धितमरुन्जेल सुनाउछिन् । तर यात्राहरुको महत्व वा मतलब नहुनेलाई सुनाउदैनिन् ।काठमाडौकाे नागपाेखरी स्थित हाम्रो अफिसमा पुगेकि सृजनाकाे यात्रा संस्मरण सुन्न हामी यति धेरै प्रतिक्षामा थियौं ।हाम्रो काैतुहलता मेटाउन सिर्जना तयार भइन ।केही महिना अगाडि अत्यन्तै जोखिम मानिने डोल्पाको शे–फोक्सुन्डो हुदै अप्पर डोल्पाको धो गाउँ हुदै फन्को मारेर फर्केपछि त्यो कठिन यात्रा उनको जीवनमा निकै रमाइलो यात्रा बन्न पुगेको छ ।यहि यात्रा हाम्रो भेटको महत्त्वपूर्ण पक्ष मानियाे ।

अत्यन्तै कम मान्छेहरु काम विषेशले मात्रै हिड्न सक्ने शे–फोक्सुन्डोदेखि कान्जिरोवा हिमश्रृखलाको फेदै फेद अक्करिला पहाड, घाँसे बुट्यान,मानव बस्ती बिहिन ठाउँ यो रुट पार गर्नु चानचुने मानिदैन । तर सृजनाले यो यात्रामा धेरै दुख पाएपनि केही मानेकी छैनन्।

रुकुमको सदरमुकाम मुसिकोट देखि ९ जनाको उनको समूह मोटरसाइकलमा एक दिनमै डोल्पा सदरमुकाम दुनै सम्म पुग्छ ।अब भने उनीहरू मोटरसाइकल दुनै छाडेर पैदलमार्ग हुदै शे–फोक्सुन्डो तिर पाइला अगाडी बढाउनु पर्ने हुन्छ । दुनैबाट दुई दिन हिडेपछि उनीहरुको टोली शे–फोक्सुन्डो पुग्यो । शे–फोक्सुन्डोबाट धो गाउँ सम्म पुग्न अत्यन्तै कठिन अवस्थाको सामना गर्नुपर्छ ।

शे–फोक्सुन्डोबाट ४ घण्टाको यात्रा पछि छोलुपोगु क्याम्प खाना खान पुगिन्छ ।त्यहा सम्म पुग्दा सिर्जनालाई यात्रा ठिकै लाग्छ । जब त्यो भन्दा अगाडी काञ्जिरोवा हिमश्रृखलाको फेदै फेद यात्रा अगाडि बढछ्, समुद्र सतहबाट करिव ५६ सय मिटर अग्लो स्थान,जहाँ मानव बस्ती नै भेटिदैन अब भने यात्रा हेरक दृष्टिकोणले कठिन हुन्छ ।

त्यो रात उनीहरु घ्यामघार गुफा बाँस बस्छन । एउटा ओडारमा बाँस बस्न पुगेको उनीहरूको टोली जीवनकै अनौठा दृश्यहरु हेर्दै रात बिताउँछ । आँखा अगाडी झल्कने हिमालले रातभरी सिर्जना निदाउन सकेकी हुदैनिन् । उनले त्यो मनोरम अनौठो दृश्यलाई यसरी सुनाउँछिन…

आजको रात म विपनामा सुते या सपनामा ? मलाई छुट्याउन गाह्रो भैरहेको यो रात, छेउमा नदिको चिसो सन्को आइरहेको छ ,त्यो सन्को छेक्नलाई झोला को बार लगाएको छु, शेर्पा दाईले हामीले बोकेर लिएको बत्ति निभाउनु भयो, तर अचम्म लाग्यो झन उज्यालो भैरहेको छ । हिमालको सेतो प्रकाश गुफामा ठोकिएर गुफा उज्यालो छ । ओहो म त उज्यालोमा सुत्नै सक्दिन आफुले आफैंलाई प्रश्न गरे ? मनलाई शान्त पार्दैँ भने, यो त अविस्मरणीय रात हो, अविस्मरणीय कुरा जीवनमा कहिले काही पो हुन्छन, यहाँ मेरा मर्जी चल्दैन, जे छ त्यो स्वीकार्नु पर्छ ।

मुख छोपे ओहो यति ठुलो हिमाल हेर्दै निदाउँनु छ, किन मुख छोप्नु ? सोचे र मुखनिर को सिरक हटाए , हटाउँदा त हिमाल पनि निदाउँन लागेछ, पूरा हिमाल कुहिरोले ढाकेको थियो, हिमालमा हिउँ पर्न सुरु गरेछ क्यारे, अब त मज्जा ले निदाइन्छ ।घरका भित्तामा अडे्स लाग्दै निदाउने म, पत्थर संग टासिंदै निदाँए ,घरका थारा हेर्दै निदाउने म खुल्ला आकाश हेर्दै निदाए, म कति भाग्यमानी हिमाल हाँसेको अनि नदिको कलकल सुँन्दै निदाँए, यात्रा क्रमका अरु रात भन्दा धेरै निदाँए मस्तले निदाँए ।
बिहान उठ्ने बित्तिकै मुखबाट सिरिक हटाउँदा देखेको दृश्यको को बयान म कसरी गरुँ ? ओहो पुरै रातो घाम लागेर हिमाल त टल्कै, रातभर हिमाल त आफू लाई सिङ्गारन पो लाग्दो रहेछ, बादलको को गुम्टोले आफूलाई लुकाएर ।

जताततै हेरे हिमाल टल्कै टल्केका, साथीहरु उठेर आलु पोल्दै खाँदै रहेछन् । आगो पनि कति ठूलो बालेका मुस्लोले चुचुरो छोएर हिमाल नै पखाल्छ जस्तो । त्यो सबै दृश्य मोवाइल कदै गरे । रिग्जिन दाइ ले दिउँसो को लागि फापर को डोसा पोलिदिनु भयाे १ वटाले तीन जनालाई पुग्ने ।खाना खाइयो रिग्जिन दाइ ले सबै सामान प्याक गर्नु भयो । हामी ले पनि झोला बोक्यौ । ओहो अब त हिजो रातीको न्यानो ओछ्यान छेउमा भोजपत्र को दाउरा को रापिलो आगो, सेतो हिमाल र आरामदायी गुफा छुट्ने भयो ।

त्यो गुफाबाट हिडने बेला मन भारी भयो, कोहि प्यारो मान्छे छुटेको जस्तै भयो, कुनै –कुनै स्थानहरु त कति प्यारो, अब त त्यो रात त्यो स्थान त्यो रिग्जिन दाई ती दुइओटा माईकल गोडा छुट्ने भए । अनि त्यो सेतो हिमाल छुट्ने भयो झोला त भारीे भएकै थियो, झन यादहरु थपिएर मन गरुँगो भयो। रिग्जिन दाइ हामी संगै उकालो लाग्ने ठाउँसम्म छोड्नु जानु भयो । बाटोहरुको बारेमा जानकारी दिनु भयो। मिजासिलो रिग्जिन दाई त्यहा बाट फर्कनु भयो ।

यहाँबाट अगाडि बढेपछि कान्लापास,कान्लापास समुन्द्र सतहबाट करिव ५६ हजारको उचाइमा रहेको छ ।जहाँ अक्सिजनको कमि हुन्छ । यहाँ पुग्दा सिर्जनालाई लाग्छ म त सगरमाथा चढनलाई पनि अब त फिट भएछु ।

यो क्षेत्रमा यात्रा सबैभन्दा कठिन भयो ।किन भने सृजना शारीरिक रुपमा अस्वस्थ र मानसिक रुपमा निकै थकित भइन ।तर पनि उनले हिमालका जति सुन्दर दृश्य देखिन त्यसले उनको दुख हराउथ्यो ।उनलाई प्रकृतिले भन्थ्यो म यहाँ के सुन्दर छु र ? मलाई अझै सुन्दर देख्ने भए अझ अगाडि बढ, म अगाडि अझै सुन्दर छु ।सिर्जनालाई त्यस्तै लाग्थ्यो उनी जति अगाडि बढ्छिन त्यति पछाडिको भन्दा अगाडि सुन्दरता भेटाउथिन । से गुफा,साल्दाङ गाउँ ,तिन्जे,कोमास गाउँ ,सिमेन गाउँमा भोगेका अनुभव उनको जिन्दगीमा कहिले मेटिने छैनन् ।

यो यात्रामा ,टलकै टल्कने अच्चमका सेता हिमाल, चौरी चरेका दृश्य ,मृगका बथान उफ्रेका दृश्य बाटोमा भेटिएका गाउँका मानिसको माया, उनले कहिले भुल्ने छैनन् ।यस्तो विकट बस्तीमा चाइना बाट ल्याएका बाइकले उवा ओसारेको दृश्य,विकास निर्माणका सामाग्री सवारीसाधनको रुपमा चौरीले बोकेको यस्ता अनेकौं दृश्य अझै उनको आखा अगाडि झल्कन्छन ।

भौगलिक रुपमा चाइनाको सिमा नजिकै भएकाले त्यस क्षेत्रका डोल्पाली नेपाली सबै सम्बन्ध चाइना सँग छ ।

तिन्जेबाट अगाडि बढन मौसम खराब भयो, हल्का हिमपात,उकालो ओरालो बाटो कति पटक उनी बेहोस भइन ।गएका सबै साथीहरूको हालत उस्तै, तर सृजना हिम्मत हार्दैन भन्दै पाइला अगाडि बढाउछिन ।अलि –अलि उनलाई दिमागमा याद छ डोल्पालीले त्यो रुटमा नजानु मान्छे जिउँदै फर्केको इतिहास कम छ भनेको ।

बिहान ६ बजे देखि साँझ १० वजे सम्म कतै एक छाक कतै भोकै हिड्नु उनको लागि निकै चुनौति थियोे ।दिनभर खिचेका भिडियो र फोटा जब साँझ बाँस बस्ने ठाउँमा उनले हेर्थिन अनि दिनभरको सबै दुख बिर्सने गर्थिन ।बाटोमा अत्यधिक हावा चल्नु,बास बस्ने उचित व्यवस्था नहुन ,साँघुरो बाटो,अक्सिजनको अभाव आदि यो यात्राका चुनौतिहरु हुन ।तर यहाँको जस्तो आकाश र जमिन अनि हिमाल मिलेर दिने प्राकृतिक सुन्दरता विश्वका बिरलै ठाउँमा प्राप्त हुन्छन् होला सिर्जना भन्छिन् ।

जब लगातारको यात्रा पछि उनीहरु उपल्लो डोल्पाको धो गाउँ पुग्छन तब बाँचेको अनुभुति गर्छन् ।धो गाउँमा केही समय बिताएर उनीहरु अर्को रुट अर्थात छोटो रुटबाट सदरमुकाम दुनै फर्के । धो गाउँबाट दुई दिन हिडेर डोल्पा पुगिन्छ ।हरेक यात्राहरु रमाइला भएपनि कठिन हुन्छन् ।सिर्जना जब यो यात्रा सकेर फर्कन्छिन तब उनले त्यहाँको चर्चा अनि बयान सामाजिक सञ्जाल र उनको युटुव मार्फत निरन्तर सार्वजनिक गर्छिन् ।उनको त्यो यात्राका दृश्यले धेरको मन लोभ्याउछ ।मैले अपलोड गरेको भिडियो र तस्विर हेरेर केही मानिसहरु उक्त रुटमा यात्रा गरेर फर्किए सिर्जना भन्छिन् । यो रुटमा डोल्पा सदरमुकाम दुनै देखि उपल्लो डोल्पा हुदै दुनै फर्कन सामान्यतया २० देखि २५ दिन सम्म लाग्छ ।तर सृजनाको यो टिमले विहान ६ देखि साँझ १० वजे सम्म हिडेर १५ दिनमा पूरा गरेको छ ।