April 18, 2021, Sunday
२०७८ बैशाख ५

तत्कालै अगाडि बढ्ने भयो नेपाल प्रहरीकाे समायोजन प्रक्रिया

10.2K

सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेपछि स्थगित भएको नेपाल प्रहरीको समायोजन अघि बढ्ने भएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै निर्वाचन नहुने भएपछि गृह मन्त्रालयले समायोजनको काम अघि बढाउन लागेको हो ।  प्रहरी समायोजनको अन्तिम तयारी भइरहँदा सरकारले चुनाव घोषणा भएपछि समायोजनको प्रक्रिया रोकिएको थियो ।

समायोजनले निर्वाचनको सुरक्षा प्रभावित हुन सक्ने भएकाले समायोजन रोकिएको थियो । ‘स्थगित भएको प्रहरी समायोजनको काम अब अघि बढ्छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘यस विषयमा मन्त्रालयले तयारी थालेको छ ।’ गत कात्तिक अन्तिम साता सरकारले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्दै समायोजनको बाटो खोलेको थियो । माघबाट सूचना निकालेर समायोजनको काम थाल्ने गृहको तयारी थियो । अनपेक्षित राजनीतिक घटनाक्रमपछि समायोजन प्रक्रिया रोकिएको थियो ।  

गृहले प्रहरी समायोजनका लागि सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा एक समिति गठन भइसकेको थियो । गौतम कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । अब समायोजन समितिमा नयाँ सहसचिव आउने भएका छन् । प्राविधिक तयारी भने पूरा भइसकेको मन्त्रालय स्रोत बताउँछ । समायोजनका लागि सफ्टवेयर तयार भइसकेको छ, केही कार्यविधिहरूसमेत अन्तिम चरणमा छन् ।

प्रहरी समायोजन ऐनअनुसार डिएसपीसम्मका प्रहरी प्रदेशमा समायोजन हुनेछन् । डिएसपीसम्मका सबै प्रहरीले आवेदन दिने र सफ्टवेयरमार्फत समायोजनको निर्णय हुने गृहका एक अधिकारी बताउँछन् । कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत प्रदेश, स्थायी बसोवासको ठेगाना, नागरिकताको ठेगाना र उमेरको ज्येष्ठताका आधारमा समायोजनको निर्णय हुनेछ । प्रदेशमा समायोजन भइसकेका कर्मचारी पछि अन्य प्रदेशमा जान पाउने प्रावधान प्रस्ट नभएकाले समायोजनमा अन्योलता छ ।नयाँ पत्रिका