April 18, 2021, Sunday
२०७८ बैशाख ५

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रवेश परीक्षाको नतिजा विवादित

37

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ‘हेलो इफेक्ट’ का आधारमा प्रवेश परीक्षाको रिजल्ट गरेको छ ।

यसरी आफू नजिकका ठानिने र पहुँचवालाहरुको फोनका आधारमा प्रवेश परीक्षामा सामेल भएका विद्यार्थीहरुलाई मात्र उर्तीर्ण गराउँदा वीरेन्द्रनगर बाहिरबाट परीक्षा दिन आएका करिब १०० जना भन्दा बढी विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको ‘स्कूल अफ ल’ मा कानून विषय अध्ययनका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको रिजल्ट गर्ने क्रममा ‘हेलो इफेक्ट’ अर्थात चिनजान र भनसुनका आधारमा रिजल्ट प्रकाशित गर्दा अन्य विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको हो ।

एकजना विद्यार्थी प्रकाश उपाध्याय भन्छन्–‘हामीलाई पनि कानून पढ्ने मन छ । कानून पढ्नका लागि यहाँ आएका हौ । तर, हाम्रो भविष्य माथि नै खेलवाड भएको छ।’

विश्वविद्यालयले सबैलाई समान रुपमा हेर्नु पर्नेमा त्यसो नगरेको कारण आफूले कानून पढ्ने योजना अधुरै रहने हो की भन्ने चिन्ता लागेको छ ,’ अर्का विद्यार्थी निशा शाहीले भनिन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापकहरु विभिन्न निजि कलेजहरुमा पढाउने र सोही व्यक्ति विएएलएलविको प्रवेश परीक्षाको प्रश्नपत्र निर्माण गर्ने र अन्र्तावार्तादेखि रिजल्ट प्रकाशनमा समेत तिनै उपप्राध्यापकहरुको संलग्नता भएकाले यस्तो स्थितिको सिर्जना भएको स्रोतले बतयो ।

प्रवेश परीक्षाको रिजल्ट भइसकेपछि प्रश्नपत्र निर्माणदेखि रिजल्ट प्रकाशन समेतमा सहयोग गरेको भन्दै केही उपप्राध्यापकहरु केही नीजि कलेजहरुले पाटीको आयोजना गरेको अर्का परीक्षार्थी कलम थापाले दावी गरे ।

प्रवेश परीक्षामा सम्मिलित भएका तर,चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्र रुपमा परीक्षा दिएका परीक्षार्थीहरुले उक्त, परीक्षा रद्द गरी पुनः विषय विशेषज्ञहरुको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले रजिष्टारको कार्यालयमा निवेदन समेत दर्ता गरेको विद्यार्थीहरुले बताएका छन् ।
सो विषयमा विश्वविद्यालयका रजिष्टार डा.नारायणप्रसाद पौडेललार्ई बुझ्दा उनले भने, ‘प्रवेश परीक्षाका बारेमा आएका विद्यार्थीका गुनासाहरु अध्ययन भइरहेको छ।’ विद्यार्थीहरुले भने अनुसार कमजोरी भएको देखिँदैन ।यद्यपी, छानविन समिति बन्नका लागि कार्यकारीबाटनै निर्णय गर्नुपर्छ ।’