अमेरिकाबाट (एनडिसी) नेशनल डिफेन्स कलेज कोर्स गरेका जर्नेल पंकज कार्की सेनाभित्रैका दुईजना महिला अधिकृतसँगको यौनकाण्डमा संलग्न भएको आरोपमा सैनिक दिवसकै दिन आज पदबाट बर्खास्त भएका छन् । सैन्य स्रोतले कार्कीलाई पदीय मर्यादाविपरित आचरण र सैनिक अनुशासन उल्लंघन गरेकोमा बर्खास्त गरिएको बताएको छ ।
दक्षिणी सुडानमा शान्ति सेना भएर खटिँदा सेनानी दर्जाकी र दुई बच्चाकी आमा महिला अधिकृतसँग लसपसको रहस्य नेपाल फर्केपछि एक वर्षअघि खुलेको हो । सैन्य अनुसन्धान र छानबिनको क्रममा कार्की र ती महिला अधिकृत तथा जवानबीच भएको यौन सम्पर्क अधिकांश मेलमिलाप र सहमतिमा नै भएको देखिएको थियो । कुनै बेलामा भने जबर्जस्ती सम्बन्ध राखेको समेत पाइएको स्रोतको दाबी छ ।
उनीहरूले जे जसरी सम्बन्ध कायम राखेपनि कोर्टमार्शलले गरेको कारबाहीमा पदीय मर्यादा विपरित आचरण र सैनिक अनुशासन उल्लंघन गरेको अभियोग प्रमाणित भएको जनाइएको छ ।सैनिक स्रोतका अनुसार आरोपित कार्की र दुवै महिला सैनिकको परिवारमा थप समस्या नआओस् भनेर अति गोप्य तवरले छानबिन गरिएको थियो । तर पनि कतिपय विवरण यसअघि नै बाहिर आयो ।
अरुलाई अनुशासनमा राख्न आफै पहिले स्वअनुशासनमा बस्नुपर्ने सुरक्षाफौजभित्रको यो प्रकरणवारे जनआस्था साप्ताहिले ८ महिनाअगाडि भदौमै पहिलोपटक सूचना सार्वजनिक गरेको थियो । आफ्नै महिला सैनिकसँग पटक पटक यौन सम्बन्ध राखेको आरोपमा छानबिन शुरु भएपछि कार्कीलाई २७ नम्बर बाहिनी,सिरहाबाट दुई महिनाअगाडि उत्तर पश्चिम पृतना, सुर्खेतमा काज सरुवा गरिएको थियो । उनी पूर्व सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेको मातहतमा थिए ।कार्कीसँग यौन सम्बन्ध राखेका दुई जना महिला अधिकृत र जवानलाई पनि सोही आरोपमा बर्खास्त गरिएको छ । उनीहरूलाई पनि पदीय मर्यादा विपरित आचरण गरेकोमा कारबाही गरिएको बताइएको छ ।
बर्खास्त भएका जर्नेल कार्की फिल्म निर्देशक चेतन कार्कीका कान्छो छोरा हुन् । उनलाई आफ्नै टुआइसी महासेनानी रामचन्द्र कार्की र नेपाली राष्ट्रिय फुटबल टिमको सदस्य रहिसकेका अर्का पोख्रेली कार्की लेफ्टिनेन्ट कर्णेल जनमत कार्कीले ब्यारेककै महिला सिपाहीको यौनशोषण गराउन गोलबजार र वरपरका होटेलमा ठाउँको बन्दोबस्त मिलाइदिने गरेको समेत आरोप लागेको थियो ।
त्यसबारे जंगीअड्डामा उजुरी परेपछि छानबिन थालिएको हो । पहिला मध्यपूर्वी पृतनाका महासेनानी भुवन खत्रीले छानबिन गर्दा खासै कैफियत फेला नपरेको भनेपछि अझ माथिल्लो तहबाट छानबिन गरिएको थियो ।जनआस्था