June 29, 2022, Wednesday
२०७९ असार १५

बर्दियामा एक बर्षमा बाघको आक्रमणबाट ८ जनाको मृत्यु

171

चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटना बुधबार दिउँसो १ः५० बजे भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले उनको शव दुवै सामुदायिक बनको सिमानामा फेला पारेको उनले बताए ।

पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतङ्क बढ्दै गएको छ । अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी गत पुस १७ मा चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।