नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
आज बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले पूर्व माओवादी पक्षका २३ जनालाई केन्द्रीय समितिमा नियुक्त गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए। ‘बादलजी लगायतका २३ जना नेताहरु हामीतिरै रहने भन्नुभयो अनि उहाँहरुलाई एमालेमा आज नियुक्त गरिएको छ’, नेम्वाङले भने।
ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।
नेकपा एमालेले आगामी वर्ष मंसिरमा महाधिवेशन गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो। पार्टीको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन्। यस्तै अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी भंग गर्ने निर्णयसमेत भएका छन्।