June 29, 2022, Wednesday
२०७९ असार १५

लागुऔषधसहित दुईजना पक्राउ

98

वीरगञ्जबाट प्रहरीले अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला दोलखा झुले गाउँपालिका- २ घर भई चितवन टाँडी नगरपालिका- २ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका- ३ बस्ने ३५ वर्षीय विकाश लामा पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच गरेको थियो । बसमा सवार सुरज कार्की लागु पदार्थ सेवन गरी लठ्ठ परेको अवस्थामा थिए ।

शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरि वीरगञ्ज- १६ इनर्वा भन्सार मुख्य गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले नियमित सवारी चेकजाँच गरिरहेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना४४प २६५७ नं.को स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएको थियो ।

स्कुटीको अगाडिपट्टी खाली भागमा राखिएको सेतो बोराभित्र तथा बोकेको कमब्याट झोलाबाट बरामद लागुऔषध विनसिरेक्स १ सय एमएलको २४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद गरेको थियो ।

दुवैजनालाई लागुऔषधसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।