June 23, 2021, Wednesday
२०७८ असार ९

दुई डिएसपीसहित एक सय ४८ प्रहरी कारबाहीमा 

932

पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत एक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् ।महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दुई डिएसपी, पाँच इन्सपेक्टर, ६ सइ, ११ असइ, ३२ हवल्दार, ०१ जवान र एक कार्यालय सहयोगी कारबाहीमा परेका छन् ।

तीन महिनाको अवधिमा दुई सय एक प्रहरी पुरस्कृत भएका छन् । जसमा एक डिएसपी, १२ इन्सपेक्टर, २१ सइ, १९ असइ, २९ हवल्दार एक सय ७ जवान र तीन कार्यालय सहयोगी छन् ।महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेको तीन महिनाको अवसरमा एआइजी हरिबहादुर पालले त्रैमासिक विवरण सार्वजनिक गरेका छन् ।

तीन महिनाको अवधिमा आठ सय ४१ वटा राजनीतिक कार्यक्रम भएको र त्यसमा सफल रुपमा व्यवस्थापन गरिएको उनको भनाई छ ।तीन महिनामा ६ सय ५१ जना फरार अपराधी पक्राउ परेको र ७ करोड ३० लाख जरिवाना असुल भएको छ ।