June 23, 2021, Wednesday
२०७८ असार ९

डायस्पोराबाट जन्मभूमिलाई गर्विलो सम्बोधन ‘छन्दचुली’

345

डा. देवी नेपाल

वर्तमानको नेपाली काव्य जगतलाई हेर्ने हो भने शास्त्रीय छन्दले विश्वव्यापी स्वरूप प्राप्त गरिसकेको छ । संस्कृत काव्यपरम्पराबाट विकसित शास्त्रीय पिङ्गल छन्दलाई सुरु सुरुमा दक्षिण एसिया क्षेत्रमा बोलिने भारोपेली परिवारका अधिकांश भाषाहरूले र केही भोटबर्मेली परिवारका भाषाहरूले समेत प्रयोगमा ल्याए पनि वर्तमानमा नेपाली भाषाबाहेक अन्यको उपस्थिति नगण्य मात्रामा देखिन्छ । दक्षिण एसियाली भूमिमा बोलिने भारोपेली भाषिक परिवारअन्तर्गतको सबैभन्दा बढी भाषिक वक्ता भएको हिन्दी भाषामा सुरु सुरुमा पिङ्गल छन्दको प्रशस्त प्रयोग भए पनि अयोध्याप्रसाद सिंह ‘हरिऔध’को सन् १९२९ मा प्रकाशित ‘प्रियप्रवास’ महाकाव्यपछि पिङ्गल छन्दमा कुनै पनि कृति प्रकाशन भएको देखिँदैन । त्यसरी नै तुलसीकृत रामायणसम्म लेखिएको अवधी भाषा होस्, विद्यापति जस्ता कविहरूलाई जन्माउने मैथिली भाषा होस् अथवा नेपालको तराईमा र भारतमा पनि प्रशस्त बोलिने भोजपुरी भाषा होस् सबैमा प्राचीन कालमा शास्त्रीय छन्दको प्रयोग भए पनि वर्तमान कालमा शून्यप्रायः देखिन्छ । भोटबर्मेली परिवारको भए पनि नेपाल भाषा (नेवारी) मा नेपाली भाषामा भन्दा अगाडि सत्रौँ शताब्दीमा नै पिङ्गल छन्दमा प्रशस्त कविता लेखिएको तथ्य फेला परेको छ तर वर्तमानमा भने नेपाल भाषामा पनि यसको प्रयोग अत्यन्त कम भइरहेको छ । यी सबै साक्ष्यका आधारमा भन्दा अब पिङ्गल छन्दलाई बचाउने एक मात्र जिम्मा नेपाली भाषाको हो । नेपाली भाषामा त्यो विशेषता र क्षमता पनि छ । नेपाली भाषामा १६ अक्षरमा सबै ह्रस्व हुने ‘अचलधृति छन्द’मा पनि सजिलै कविता लेख्न सकिन्छ र १५ अक्षरमा सबै दीर्घ हुने ‘लीलाखेल छन्द’मा पनि सुन्दर कविता लेख्न सकिन्छ । सङ्ख्यात्मक रूपमा हेर्दा एक दशकभन्दा अगाडि मात्र एक सयको हाराहारीमा शास्त्रीय छन्दको प्रयोग नेपाली कविता र काव्यहरूमा भएको थियो तर अहिले मात्र एक दशकपछि ३५० भन्दा बढी छन्दको प्रयोग नेपाली कविहरूले गरिसकेका छन् । यो नेपाली काव्यपरम्परामा सबैभन्दा गर्वलाग्दो पक्ष हो ।


शास्त्रीय छन्द प्रयोगको इतिहासमा अर्को गर्व गर्न लायक पक्ष हो, नेपाली कविताका माध्यमबाट पिङ्गल छन्दको विश्वव्यापीकरण । अहिले नेपालीहरू जहाँ जहाँ पुगेका छन्, पिङ्गल छन्द पनि त्यहीँ पुगेको छ । विश्वका अधिकांश मुलुकहरूमा बसेका नेपालीहरूले कतै सिर्जनाका माध्यमबाट त कतै वाचनका माध्यमबाट शास्त्रीय छन्दलाई चिनाएका छन् । दार्जिलिङ, सिक्किम, असम, मणिपुरलगायतका भारतीय भूमिमा रहेका भारतीय नेपाली कविहरू, भूटानमा रहेका भूटानी नेपाली कविहरू, म्यानमारमा रहेका बर्मेली नेपाली कविहरू र थाइल्यान्डमा रहेका नेपाली भाषी कविहरूको विशिष्ट योगदान छुट्टै प्रकृतिको रहेको छ भने नेपालबाट नै विभिन्न देशहरूमा गएर बसेका आप्रवासी नेपाली कविहरूको योगदान फरक प्रकृतिको छ । नेपालबाहिर शास्त्रीय छन्दको उन्नयनमा अमेरिकामा रहेका स्रष्टाहरूको विशिष्ट योगदान देखिन्छ । आजभन्दा दुई दशकभन्दा अगाडिदेखि नै कोकगोष्ठीका माध्यमबाट अमेरिकामा छन्दकविता लेखन र वाचनको अभियान चलिरहेको छ । अमेरिकामा बसेर लेखन, वाचन र कृतिप्रकाशन आदिका माध्यमबाट छन्दकविताको उन्नयनमा लागेका स्रष्टाहरूको निकै ठुलो जमात नै छ । यीमध्येमा हरि घिमिरे, दुर्गा रिजाल, परशु तिमल्सिना, गोपाल रेग्मी, मोहन सिटौला, लालगोपाल सुवेदी, सुदीपभद्र खनाल, हरिप्रसाद काफ्ले ‘शैव’, गायत्री तिमल्सिना, कोमल भट्ट, पिपलमणि सिग्देल, प्रकाश पाण्डे, सरु गुरागाईं, भोला शिवाकोटी, टीका रिजाल, डमरु पौडेल, दीपित धिमाल, देव भट्टराई आदि स्रष्टाहरूमा धेरैजसो कविहरूका छन्दकविता सङ्ग्रहहरू प्रकाशन भइसकेका छन् भने केहीका प्रशस्त फुटकर प्रकाशनहरू पाइन्छन् । यसरी नै क्यानाडामा बसेर कुसुम ज्ञवाली, सुरेन उप्रेती, रविन थपलिया, मोदनाथ खनाल, अनिल थापा, जानुका नेपाल जस्ता कविहरू छन्दसाधना गरिरहेका छन् भने बेलायतमा बसेर दुष्यन्त भट्टराई, फणीन्द्र भट्टराई, मञ्जु भण्डारीले, जापानमा बसेर सविना रेग्मी, प्रमिला सिग्देल, बिन्दा पराजुलीले, अस्ट्रेलियामा बसेर रुक्मिणी उपाध्याय, नन्द भण्डारी निमेषले, इजरायलमा बसेर मनीषा प्रसाईं, सावित्रा लुइटेल घिमिरे, श्रीराम अधिकारीले, कतारमा बसेर दीप मिलनले, अस्ट्रियामा बसेर डा. अलका आत्रेयले, मलेसियामा बसेर दीप दर्शनले, साउदीमा बसेर नमराज लामिछानेले, कतारमा बसेर देवेन्द्र खतिवडाले र पोर्चुगलमा बसेर स्पन्दन विनोदले नेपाली छन्दकविताको उन्नयनमा पु¥याउनुभएको योगदान अविस्मरणीय छ । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अझै गहिरिएर खोज्न थाल्ने हो भने एक सयभन्दा बढी छन्दकविता लेखनमा सक्रिय स्रष्टाहरू विश्वभरमा भेटिन्छन् । यसरी हेर्दा भारतीय नेपाली कविहरू, बर्मेली नेपाली कविहरू आदिलाई छाडेर नेपाली डायस्पोराबाट मात्र पनि झन्डै एकदर्जनभन्दा बढी त छन्दकविता सङ्ग्रहहरू नै प्रकाशन भएका छन् । यसका आधारमा नेपाली डायस्पोरा पनि छन्दकविता लेखन र प्रकाशनका दृष्टिले निकै सबल र सफल देखिन्छ ।


नेपाली डायस्पोरामा छन्दकविताको अवस्थाको चर्चा गर्नुको कारण यस क्षेत्रमा एकपछि अर्को हुँदै बढ्दै गएको गुणात्मक विकासले उत्पन्न गरेको खुसी नै हो । पछिल्लो समयमा विश्वभर फैलिएको कोरोनाको महामारीको अवधिमा त झन् छन्दकविताले विश्वव्यापी दिग्विजय नै प्राप्त गरेको छ । यस अवधिको अभिव्यक्तिको प्रमुख माध्यम नै छन्दकविता बन्नु अत्यन्त खुसीको कुरा हो । यस अवधिमा छन्दकविता भनेपछि नाक खुम्च्याउने र छन्दकविता कहिल्यै सुन्दै नसुन्नेहरूलाई पनि नसुनी नसक्ने अवस्थामा पु¥याउने काम छन्दकवि र वाचकहरूले गरेका छन् । यो अर्को सुखद पक्ष हो । यस ऐतिहासिक उपलब्धिलाई छन्दकविताका स्रष्टाहरू र शुभचिन्तकहरूले उपयुक्त सम्बोधन गरेर अगाडि बढ्न सकेमा एउटा युगीन सफलता हासिल हुने कुरा निर्विवाद छ ।नेपाली छन्दकविताका क्षेत्रमा उल्लिखित अवस्था सिर्जना हुनुमा, उल्लिखित उपलब्धिहरू हासिल हुनुमा र नयाँ पुस्ताले गर्व गर्नलायक परिवेश निर्माण हुनुमा अग्रज कविहरूको विशिष्ट योगदान रहेको छ । नेपालभित्र त छन्दकविताको प्रवर्तन, उन्नयन र उत्कर्षणमा कवि शक्तिवल्लभ अर्यालदेखि भानुभक्त, मोतीराम हुँदै लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, युद्धप्रसाद, घिमिरेलगायतका सयौँ विशिष्ट कविहरूको उल्लेखनीय योगदान रहेको देखिन्छ तर डायस्पोरामा नेपाली छन्दकविताको अस्तित्व स्थापना गर्नु निकै कठिन कार्य थियो । यस कार्यमा हाम्रा केही अग्रज कविहरूको अनुपम योगदान रहेको ऐतिहासिक तथ्यलाई भुल्नु हुँदैन । त्यस्ता श्रद्धेय अग्रजहरूमध्येमा एक जना कवि डा. गोपाल पौडेल ‘मण्डने’ हुनुहुन्छ । जन्मस्थल नेपालको काभ्रे जिल्लाको मण्डन देउपुर–८ भए पनि लामो समयदेखि बेलायतमा बसेर लेखन, पत्रकारिता, प्राध्यापन र सामाजिक अभियानका क्षेत्रमा समर्पित स्रष्टा पौडेल सिर्जनात्मक रूपमा बुहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । सन् १९८५ मा ‘एक समय अनेक चिन्तन’ (मुक्तकसङ्ग्रह) प्रकाशन गरेर नेपाली साहित्यका क्षेत्रमा प्रवेश गर्नुभएका उहाँका हालसम्ममा विभिन्न विधाका दुई दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् भने आधादर्जन कृतिहरू प्रकाशनको तयारीमा छन् । ‘नेपाली साहित्य विकास परिषद्, बेलायत’लगायत अनेकौँ साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूमा आबद्ध रहेर कुशल साङ्गठनिक नेतृत्वसमेत प्रदान गरिरहनुभएका कवि पौडेल कवि मात्र नभएर काव्यसिद्धान्तका ज्ञाता, छन्दशास्त्रका अध्येता, कुशल व्याख्याता र प्रखर विश्लेषक पनि हुनुहुन्छ

‘छन्दचुली’ कवि पौडेलको पछिल्लो कविता कृति हो । प्रस्तुत कृति छन्दकविताहरूको सङ्ग्रह मात्र नभएर एउटा विशिष्ट छन्दशास्त्र पनि हो । यो कृति सिद्धान्त खण्ड र कविता खण्ड गरी दुई खण्डमा विभाजित छ । सिद्धान्त खण्डमा छन्दको सिद्धान्तलाई अत्यन्त सरल र सहज रूपमा प्रस्तुत गरिएको छ भने कविता खण्डमा विविध विषय, विविध छन्द र विविध शैलीका १११ ओटा छन्दकविताहरू समावेश गरिएका छन् । कृतिको शीर्षक ‘छन्दचुली’ आफैँमा विम्बात्मक र ध्वन्यात्मक छ । यसले एकातिर छन्दकविताको ऐतिहासिक गौरवशाली परम्परालाई सङ्केत गरेको छ भने अर्कातिर वर्तमान नेपाली काव्यजगत्मा छन्दकविताले प्राप्त गरेको ऐतिहासिक उचाइलाई ध्वनित गरेको छ । चुली भनेको अग्लो चुचुरो हो । सौन्दर्यका दृष्टिले पनि र विकटताका दृष्टिले पनि यो एउटा विशिष्ट विम्ब बन्छ सक्छ । चुली विकट हुन्छ तर हेर्दा सुन्दर हुन्छ र चढ्न सकियो भने अनुपम आनन्द र गौरवको अनुभूति पनि हुन्छ । छन्दको चुली पनि त्यस्तै छ । यसको सफल आरोहणका लागि अनवरत साधना, निरन्तर त्याग, दृढ सङ्कल्प र अटुट समर्पण चाहिन्छ भन्ने कुरालाई कृतिको शीर्षकले नै अभिव्यञ्जित गरेको छ ।कविता सिद्धान्तका आधारमा हेर्दा कवितालाई कविता बनाउने एक मात्र तत्त्व लयविधान हो । त्यो लय बद्ध र मुक्त गरी दुई प्रकारको हुन्छ । शास्त्रीय वार्णिक, मात्रिक र लोकछन्दहरू बद्धछन्दअन्तर्गत पर्दछन् भने गद्यकविताहरू मुक्तछन्दअन्तर्गत पर्दछन् । तापनि छन्दकविता भन्नासाथ प्रायः गणको साँचोमा शब्दविन्यास गरी उच्चतम भावविधान गरिएका वार्णिक छन्दका कविताहरूलाई नै बुझ्ने गरिन्छ । समग्रमा हेर्दा कविताको लय नै छन्द हो र लयबद्ध कविता नै छन्दकविता हो । प्रस्तुत कृतिका अधिकांश कवितामा वार्णिक छन्द र थोरैमा लोकछन्दको प्रयोग गरिएको छ ।


प्रस्तुत कृतिको सिद्धान्त खण्ड बौद्धिक पाठक र छन्दकविताका सिकारुहरू सबैका लागि अनुपम सञ्जीवनी बनेर आएको छ । यस कृतिको सिद्धान्त खण्ड आफैँमा एउटा विशिष्ट छन्दशास्त्र हो । छुट्टै प्रकाशन भएको भए यो एउटा उल्लेखनीय लक्षणग्रन्थ नै बन्ने थियो । त्यसैले यस खण्डको अत्यन्त प्राज्ञिक र बौद्धिक महत्त्व रहेको देखिन्छ । यस कृतिको सिद्धान्त खण्डमा छन्दको सिद्धान्त, उत्पत्ति, विकास, प्रकार र अनेकौँ शास्त्रीय छन्दहरूको सैद्धान्तिक जानकारी दिइएको छ । यस खण्डले पूर्वीय छन्दशास्त्र र छन्दकाव्य परम्पराको नै एउटा विशिष्ट चित्र खिच्ने काम गरेको छ । यसमा ह्रस्वदीर्घको चिनारीदेखि नेपाली कविताका क्षेत्रमा अत्यन्त प्रचलित ६२ ओटा छन्दको लक्षण र उदाहरणसहित परिचय दिइएको छ । इन्टरनेटलाई आधार मानेर सामाजिक सञ्जालहरूमा प्रकाशन भएका विचार र उदाहरणहरू यस खण्डमा समाविष्ट छन् । छन्दको व्युत्पत्ति, महत्त्व, वैदिक छन्दका प्रकार र उदाहरण, छन्दशास्त्रका प्राचीन आचार्यहरूको परिचय, लौकिक छन्दशास्त्रहरूको जानकारी, वार्णिक छन्द र मात्रिक छन्दको सङ्ख्यात्मक जानकारी, वार्णिक छन्दमा गति र यतिको भूमिका, भावको भूमिका र कुन छन्द कुन रसमा सुहाउँछ आदि कुराको विस्तृत जानकारी दिइएको हुनाले यस खण्डले ‘छन्दचुली’लाई थप उचाइ प्रदान गर्ने काम गरेको छ ।
सामान्यतः सिर्जना हार्दिक विषय हो भने सिद्धान्त बौद्धिक विषय हो । हृदयको सक्रियताबाट कविताको जन्म हुने गर्छ भने मस्तिष्कको सक्रियताबाट सैद्धान्तिक ज्ञान र समालोचनात्मक दृष्टिकोणको जन्म हुने गर्छ । यस आधारमा हेर्दा स्रष्टा डा. पौडेलका हृदय र मस्तिष्क दुवै सक्रिय देखिन्छन् । उहाँको हृदयमा कोमलता छ, सुललित शब्दविन्यासमा जुनसुकै भाव अटाउन सक्ने शक्ति छ र अनुभूति र छन्दको अन्तर्घुलन गराउन सक्ने क्षमता छ भने मस्तिष्कमा विराट ज्ञानको भण्डार छ, विश्लेषणात्मक अन्तर्दृष्टि छ र छन्दसम्बन्धी समग्र पक्षलाई शल्यक्रिया गर्न सक्ने प्राज्ञिक सफलता प्राप्त छ । यिनै कारणले गर्दा स्रष्टा र कृतिका बिचमा अद्भुत तालमेल मिलेको देखिन्छ ।
बौद्धिक दृष्टिले यस कृतिको सिद्धान्त खण्ड सफल देखिन्छ भने हार्दिक दृष्टिले कविता खण्ड सबल र सफल देखिन्छ । यहाँ समाविष्ट १११ ओटा कविताहरू कविको कवित्व शक्ति र सिर्जनात्मक चेतको मूल्याङ्कन गर्नका लागि पर्याप्त छन् । विषयगत विविधता, छन्दप्रयोगगत अनेकता, दृष्टिकोणमा व्यापकता र शिल्पसचेत कलात्मकता यहाँका कविताहरूका मूलभूत चिनारी हुन् । यस सङ्ग्रहका कवितामा स्वयं कविताको मूल्यको खोजी गरिएको छ । यसका साथै प्रविधिले पारेको विश्वव्यापी प्रभाव र मुटुको अटुट सम्बन्धको चर्चा यहाँ गरिएको छ । यसरी नै नेपालको भौगोलिक विविधताको चित्रण, प्राकृतिक सौन्दर्यको वर्णन, सांस्कृतिक गरिमा र नेपाली गौरवको महिमागान गरिएका कविताहरू यस सङ्ग्रहमा प्रशस्त पाइन्छन् । यहाँ एकातिर नेपाली पर्यटनको महत्त्व र सम्भाव्यताको व्यापक चर्चा गरिएको छ भने अर्कातिर विदेशमा के छ र ? भन्दै विदेशको भोगाइबाट प्राप्त स्वदेशको महत्त्वबोधलाई अत्यन्त तार्किक रूपमा प्रस्तुत गरिएको छ ।


देशभक्तिको उच्चतम प्रयोग प्रस्तुत सङ्ग्रहका कविताको महत्त्वपूर्ण विशेषता हो । कविले यहाँ आफ्नो जन्मस्थल काभ्रेको मण्डनदेउपुरलाई केन्द्रमा राखेर सिङ्गो देशको गरिमापूर्ण यथार्थको चित्रणमा आफूलाई समर्पण गर्नुभएको छ । यहाँका धेरै कविताहरूमा नेपाली भूमि र नेपाली जीवनपद्धतिभित्र लुकेको गौरवशाली यथार्थको प्रतिविम्बन गर्दै डायस्पोराबाट आफ्नो जन्मभूमिलाई गर्विलो सम्बोधन गरिएको छ । कतै सोझो रूपमा र कतै व्यञ्जनात्मक रूपमा प्रस्तुत गरिएका कवितात्मक अनुभूतिहरूमा देशभक्तिको चूडान्त प्रयोग भएको पाइन्छ । यस सन्दर्भमा कविले आफू टाढा भए पनि माटो र मुटुको अन्योन्याश्रित सम्बन्ध भने कहिल्यै नटुक्रिने महान् आदर्शको स्थापनामा आफ्नो कवित्वलाई समर्पित गर्नुभएको छ र सफलताको चुली पनि हासिल गर्नुभएको छ । यहाँ एकातिर उल्लिखित आदर्श भावुकताको प्रयोग पाइन्छ भने अर्कातिर नयाँ पुस्तामा आफ्नो देश, भाषा र संस्कृतिको मोह हराउँदै गएको अवस्थाप्रतिको चिन्ता र दौरासुरुवालभित्र हुने गरेको अनैतिक क्रियाकलापप्रतिको आक्रोश पनि पाइन्छ । यी दुई दृष्टिकोणबाट कवि एउटा कोरा भावुकताको हिमायती मात्र होइन, यथार्थको निष्पक्ष विश्लेषक पनि हो भन्ने कुराको स्थापना भएको छ ।विषयगत विविधताका दृष्टिले प्रस्तुत कृति उल्लेखनीय छ । पितृभक्ति, मातृभक्ति, गुरुभक्ति, सिर्जनाप्रेम, जीवनको सार्थकताको खोजी, अग्रजहरूको योगदानको स्मरण, आत्मबोध, नारीसौन्दर्य र नारी योगदानको चर्चा, रागात्मक सौन्दर्यको चित्रण तथा सुन्दरीको आकर्षणबाट उत्पन्न अनुभूतिको व्यवस्थित सम्प्रेषण आदि जस्ता संवेगात्मक पक्षमा आधारित कविताहरू पनि यहाँ प्रशस्त छन् । साथै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि भित्रका विकृत पक्षहरूप्रति अत्यधिक आक्रोश, नेतृत्ववर्गप्रतिको वितृष्णा, नेतृत्ववर्गको निर्लज्जता र हास्यपात्र बन्ने अवस्थाप्रति घृणाभाव, कार्यकर्ताको अन्धाधुन्ध झोला बोक्ने प्रवृत्तिको विरोध, शासनसत्तामा पाइने जनविरोधी गतिविधिको चर्चा आदिका माध्यमबाट कविको वैचारिक दृष्टिकोण र विश्लेषणात्मक क्षमताको उद्घाटन समेत भएको छ । यसरी नै पैसाप्रतिको कविदृष्टि, गरिब, किसान, भरिया वा श्रमिकवर्गप्रतिको सहानुभूति, कर्ममा विश्वास, लाहुरे हुनुको यथार्थदेखि शिक्षक हुनुको गर्वसम्मको अनुभूतिगत उद्घाटन, गाउँको सम्झना र सहरको यथार्थको चित्रण आदि विषय केन्द्रित कविताहरूले कविको विषयगत व्यापकतालाई उद्घाटन गर्न सक्ने खुबीको परिचय दिएका छन् ।


यसरी नै यहाँका कविताहरू पढ्दा कविहृदयको आरोह–अवरोहको अवस्थालाई पनि सहजै अनुभूत गर्न सकिन्छ । देशप्रेममा भावुक बनेको कविमन विकृतिप्रति निकै आक्रोशित देखिन्छ । साथसाथै बेला बेलामा आउने भूकम्प, बाढीपहिरो आदिजस्ता प्राकृतिक विपत्तिबाट आफ्नो माटो पीडित भएकामा कविहृदय निकै चिन्तित भएको देखिन्छ भने बाल्यकालको दसैँको सम्झना गर्दा, बालवय र आफ्नो विगतको सम्झना आउँदा भने निकै संवेदनशील भएको पनि पाइन्छ । यसरी नै प्रेम, जीवन, सिर्जना, कला, दुःख, सुख, धर्म, देवता, बुद्धत्व, स्वर्ग, मित्रता आदिजस्ता अमूर्त पक्षप्रतिको दार्शनिक दृष्टिलाई हेर्दा कविभित्रको चिन्तनशील पक्ष कति बलियो छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ भने फूल, नदी, झरना, हिमाल, असार आदिमा मानव जीवनको प्रतिविम्बन गराउन सक्ने कविको क्षमतामा जीवनदर्शनको उच्चतम प्रयोग पाइन्छ । यहाँ कतै कवि नयाँ काँचुली फेर्छौं भन्दै निराशाभित्र लुकेको आशावादी चेतना जगाउँदै आउनुहुन्छ भने कतै सचेत वर्गमा पाइने झोले प्रवृत्ति, रक्सीमा रमाउने बौद्धिक वर्ग, छोराको नैतिक पलायन, अर्काको सन्तानका रूपमा संविधान निर्माण भएको अवस्था आदि कुरामा अत्यन्त धारिलो र चोटिलो व्यङ्ग्यचेतनाका साथ प्रस्तुत हुनुहुन्छ । यसरी कवि पौडेलको कवित्वमा पाइने विविधतापूर्ण वैशिष्ट्य निकै लोभलाग्दो देखिन्छ ।
प्रस्तुत सङ्ग्रहमा शार्दूलविक्रीडित, अनुष्टुप्, भुजङ्गप्रयात, वसन्ततिलका, उपजाति, द्रुतविलम्बित, स्रग्विणी, मालिनी, मन्दाक्रान्ता, पञ्चचामर, प्रमाणिका, शिखरिणी, इन्दिरा, शालिनी, विद्युन्माला, झ्याउरे (लोकछन्द) गरी १६ ओटा छन्दहरूको प्रयोग गरिएको छ । हरेक कविताको थालनीमा नै सम्बन्धित छन्दको सैद्धान्तिक जानकारी दिने कार्यले पाठकवर्गमा एकैपटक दुइटा उपलब्धि हासिल हुने देखिन्छ । सिर्जनाको अनुपम स्वादसँगै प्राप्त हुने सम्बन्धित छन्दको गणव्यवस्था, विश्राम र प्रयोग गर्ने तरिका आदिको ज्ञानले गर्दा प्रस्तुत कृति आफैँमा छन्दकविता सिर्जनाका लागि एउटा सुन्दर र आधिकारिक पाठशालासमेत बन्ने देखिन्छ ।यस प्रकारका अनेकौँ महत्त्व र विशेषताले भरिएको ‘छन्दचुली’ कवितासङ्ग्रह नेपाली डायस्पोराबाट प्रकाशन भएका छन्दकविताहरूमध्येमा गुणात्मक मूल्यका दृष्टिले उच्चकोटिको बन्ने सम्भाव्यता बोकेर आएको छ । यसमा प्रस्तुत विषय, प्रयुक्त छन्द, सशक्त कवित्व र दृष्टिकोणले गर्दा यहाँका सिर्जनाहरू युगीन महत्त्वका दृष्टिले पनि उल्लेखनीय बन्न पुगेका छन् । कविको शैली अत्यन्त रोचक छ । उहाँको रोचक शैली, कलात्मक प्रस्तुति र अभिव्यञ्जनापूर्ण आर्थिक प्रयोगका दृष्टिले उल्लेखनीय मानिएका केही कवितांशहरूबाट पनि कवि पौडेलको कवित्वको मूल्याङ्कन गर्न सकिन्छ ।


उहाँ आफैँ सशक्त कवि हुनुहुन्छ तर कविताका बारेमा नै निराशावादी अभिव्यक्ति पनि दिनुहुन्छ । सामान्य पाठकले यसलाई सोझो रूपमा हेर्ने गर्छन् तर कविको आशय त्यो होइन । यसमा कविताभित्र लुकेको शक्तिलाई समाजले नबुझेकामा शालीन विमति प्रकट गरिएको हो—
भारी गह्रुङ्गो न त हेर बोक्छ
हलो समाई न त खेत जोत्छ
न पेट टन्नै भरिदिन्छ हेर
के हुन्छ साथी कविता रचेर ।
जब एउटा स्रष्टाले सिर्जनामा नै आफूलाई समाहित गर्न थाल्छ अनि मात्र ऊ सफल स्रष्टा बन्छ भन्ने कुराको अभिव्यक्ति कविको यस कवितांशमा दिइएको पाइन्छ—
गीत भोजन हो मेरो गाँस गजल हो अनि
रात मुक्तकको पर्दा काव्यको जून चम्चमी
सत्यता, शिष्टता साथ मन्डने हाँस्छ सुस्तरी
यो दिव्य लोकमा छर्छ सुगन्ध दिव्य हर्हरी ।
नारी सौन्दर्यको चित्रण, नारी त्याग र समर्पणको सम्मान र पारिवारिक आदर्शका लागि पत्नीले गरेको त्यागलाई यहाँका कवितामा सकारात्मक दृष्टिका साथ प्रस्तुत गरिएको छ—
पत्नी कोमलता, दया, सरलता, र्सौन्दर्यकी सिर्जना
पत्नी हुन् समता, सुधा, सरसता, सद्भाव, सञ्चेतना
पत्नी लच्छिन हुन् सदैव घरकी सङ्गीत हुन् गीतकी
झर्ना उच्च पहाडबीच जलकी आनन्द हुन् प्रीतकी ।
कुनै पनि समाजमा जब विकृतिले सीमा नाघ्दछ, त्यतिबेला एउटा शालीन स्रष्टाको आक्रोशले पनि सीमा नाघ्न थाल्छ । तर, स्रष्टा अराजक मार्गमा जान सक्दैन र ऊ सकेसम्म कठोर शब्दवाण प्रयोग गर्न बाध्य हुन्छ । राजनीतिक विकृतिले सीमा नाघेर निरन्तर देश चुस्ने काम मात्र भएको देखेपछि कविको आक्रोश यसरी व्यक्त भएको छ—
कुर्लेको कति वर्ष भो अब त भन् सारा मुकुन्डाहरू
तेरो चाहिँ कथा सुनोस् र कसले छन् धेर गुन्डाहरू
जो आफैँ छ दलाल बोकिरहने भारीहरू छन् कति
कल्ले देश चुस्यो र खै भुवनमा झोलेहरूले जति ।
यसरी नै माटोको अस्मिता लुटिएको देख्दादेख्दै संवेदनाशून्य भएर हाँसेर बस्न सक्ने निर्लज्जहरूलाई देशमा बस्ने र देशभक्तिको भजन जप्ने अधिकार छैन भन्ने जस्ता आक्रोशपूर्ण जनआवाजको प्रतिनिधिमूलक आवाज पनि कवि पौडेलका कवितामा ठाउँ ठाउँमा भेट् सकिन्छ—
माटोको अस्मिता लुट्दा हाँस्ने जमात हो सुन
बाजा बजाउँदै हाँस्ने तिम्रो पाखन्डी जीवन
शरद्को पलको आभा सदैव हुन्छ लस्पस
जे जे भइरहोस् हाँस्दै लाज पचाउँदै बस ।
व्यङ्ग्य प्रस्तुत गर्ने कवि पौडेलको शैली पनि अलि फरक प्रकृतिको छ । नयाँ पुस्ताले आफ्नो भाषा, संस्कृति, परम्परा र आफ्नोपनलाई भुल्न थालेको कुरालाई उहाँले स्वीकारात्मक शैलीमा शालीन तरिकाले चोटिलो प्रहारका साथ प्रस्तुत गर्नुभएको छ—
साङ्केतिक सबै भाषा बुझ्छ यस्ले निरन्तर
मातृभाषा त बुझ्दैन ठान्छ अब्बल सुन्दर
आमालाई भुली आज सारै गर्दछ गौरव
छोरालाई भयो गाली नगर्नू कहिल्यै अब ।
सामान्यतः अधिकांश नेपालीहरूले भन्ने गरेको सबै थोक नेपालमै छ, किन विदेश जानुप¥यो र ? भन्ने आदर्श अभिव्यक्तिको प्रयोग कवि पौडेलका कवितामा पनि पाइन्छ । पाखुरा बजार्न सके जताततै सुन फल्छ तर हामी ती पाखुराहरू अरूको भूमिमा बजारिरहेका छौँ भन्ने दुःखद यथार्थलाई यहाँ पनि कविले सम्झाउनुभएको छ । यो कविताको आदर्श मात्र हो, यथार्थचाहिँ दैनिक सयौँ युवावर्गको विदेश पलायन नै हो । तर पनि यसप्रकृतिका कविताहरू पढ्दा एकपटक भने संवेदनशील मुटुमा अनौठो चोट लाग्दो रहेछ—
बजार्नुपर्छ पाखुरा हिरा फले जताततै
प्रवासमा पुगेर नै मनुष्य ती जले कतै
यतै छ साग, सिस्नुको सुगन्ध लौ न हर्हर
जुनी जुनी यहीँ बितोस् विदेशमा त के छ र ।
श्रमको सम्मान र श्रमिकवर्गको जीवनप्रतिको सहानुभूति यस सङ्ग्रहका कविताहरूको अर्को एउटा विशेषता हो । वास्तवमा हामीले आफ्नो जिम्मेवारीलाई इमानदारीका साथ पूरा गर्ने हो भने हामी सबै भरिया नै हौँ । तर, भारी बोकेर जीवन धान्ने गरिबलाई चाहिँ भरिया मान्ने र आफूलाई चाहिँ महासामन्त ठान्ने हाम्रो चिन्तन नै गलत छ । प्रत्येक मान्छेको आआफ्नै दायित्व हुन्छ, त्यो दायित्वको निर्वाह गर्नु हामी सबैको कर्तव्य हो । यति हुन सक्यो भने मात्र श्रमको सम्मान हुन्छ । जब श्रमको सम्मान हुन्छ तब विभेदसहित समतामूलक समाजको निर्माण हुन्छ । भरियामा जुन स्वाभिमान र देशप्रतिको इमान छ त्यो हामी सबैमा हुनु हो भने देशको समृद्धि स्वाभाविक रूपमा हुन्छ भन्ने उच्च विचारको स्थापना यहाँ गरिएको छ—
नाम्लो र डोकोसँग प्रीत लाएँ
लाखौँ उकालासँग गीत गाएँ
थाकेन मेरो सपना फुलेर
चिन्छन् मलाई भरिया भनेर ।

भेटिन्छु कैले म त खोरियामा
पुगिन्न कैल्यै पनि कोरियामा
जन्मेँ सधैँ उद्यम गर्न हेर
चिन्छ्न् मलाई भरिया भनेर ।
यसरी ‘छन्दचुली’ कवितासङ्ग्रहलाई जुनसुकै दृष्टिले हेरे पनि यो सफल र सबल कृति बन्न पुगेको छ । यसले छन्दको सिद्धान्त सिकाएको छ, प्रयोगको तरिका सिकाएको छ र सुन्दर कविता कस्तो हुन्छ भन्ने कुराको नमुना प्रस्तुत गरेको छ । अहिले छन्दकविताले विश्वव्यापी उचाइ प्राप्त गरे पनि हामी छन्दमा कविता लेख्ने कविहरूमाथि दुइटा गम्भीर आरोपहरू अझै यथावत् छन् । एउटा विषयगत आरोप र अर्को भाषिक आरोप । विषयगत रूपमा छन्दकविहरू स्तुति, प्रशस्ति र भजनभन्दा माथि उठ्न सकेका छैनन्, कोरा भावुकताको प्रयोग छन्दकविहरूमा बढी पाइन्छ, समाजबोध, जीवनबोध र युगबोधका दृष्टिले छन्दकविहरू अरूका तुलनामा निकै पछि छन् भन्ने जस्ता आरोपहरू हामीमाथि अहिले पनि लागिरहेका छन् । यसका साथै भाषिक रूपमा छन्दकविहरूले मानक भाषालाई बिगारेका छन्, गण मिलाउनका लागि ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व बनाउँछन् अनि जथाभावी खुट्टा काटेर नेपाली वर्णविन्यासलाई नै कुरूप बनाएका छन् भन्ने जस्ता भाषिक आरोपहरू आज पनि यथावत् नै छन् । हाल पछिल्लो छन्दकविता सिर्जनालाई हेर्दा उल्लिखित विषयगत आरोपहरूको सिर्जनात्मक जवाफ कविताहरूले दिइसकेका छन् । आजका छन्दकवितामा जति समाजबोध, युगबोध र जीवनबोधको प्रयोग भएको छ त्यो गर्व गर्न लायक छ । तर, छन्दकविहरूमाथि लाग्ने गरेका भाषिक आरोपहरूको चित्तबुझ्दो जवाफ दिन भने अझै पनि हामीले सकिरहेका छैनौँ । तुलनात्मक रूपमा परिष्कार आए पनि छन्दकवितामा मानक वर्णविन्यासको प्रयोग गर्ने सन्दर्भमा भने अझै पनि हामीले निकै ठुलो सङ्घर्ष गर्नुपर्ने अवस्था देखिन्छ । उल्लिखित समस्या र आरोपहरूको अन्त्यका लागि कवि डा. गोपाल पौडेलको प्रस्तुत कृति ‘छन्दचुली’ कवितासङ्ग्रह एउटा मार्गदर्शक बन्न सक्ने कुरा निश्चित छ ।
अन्त्यमा, यस्तो प्राज्ञिक, बौद्धिक र सिर्जनात्मक कृति प्रदान गरेर नेपाली भाषा साहित्यका क्षेत्रमा अतुलनीय योगदान दिनुहुने कविज्यूप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यहाँको यो शक्तिशाली कलम निरन्तर चलिरहोस्, यहाँका अझै सुन्दर, अझै परिष्कृत र अझै युगीन महत्त्वका कृतिहरू पढ्न पाइयोस् भन्ने शुभेच्छाका साथ सफल छन्दयात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु ।

डा. देवी नेपाल
प्राज्ञ परिषद् सदस्य
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँसाधनागृह, लोहकिल्थली, भक्तपुर