June 23, 2021, Wednesday
२०७८ असार ९

गलत सामग्री अनलाईनमा देखे यी ठाँउमा उजुरी दिनुहोस्

254

तपाईंले हेर्दै आएको युट्युव च्यानल, अनलाइन पोर्टल, सामाजिक सञ्जालका पेज तथा प्रोफाइलमा झुटा समाचार, संवेदनशील फोटो, भिडियो तथा अनुपयुक्त सामग्रीहरु शेयर भइरहेको देख्नु भएकै होला ।

कहिले काहिं त नराम्रोसँग झुक्किनु भएको पनि हुनसक्छ । गलत र भ्रामक सामग्री हो भनेर ठम्याइहाले पनि त्यसलाई बेवास्ता गर्नेभन्दा त्यस्ता विषयवस्तु विरुद्ध कतै उजुरी वा रिपोर्ट गर्नु भएको छ ?

तपाईं हामीले यस्ता विषयवस्तु चुपचाप देखे/नदेखे झैं गर्ने हो भने अनलाइनको प्लेटफर्म कुरुप अनि भद्दा हुँदै जाने निश्चित छ ।

त्यसैले एउटा जिम्मेवार प्रयोगकर्ताको रुपमा यस किसिमका सामग्री तथा विषयवस्तु विरुद्ध औंला उठाउन जरुरी छ । हाम्रो टोल/छरछिमेक जस्तै अनलाइनलाई पनि स्वच्छ, स्वस्थ अनि सफा बनाउन तपाईं हाम्रो भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

दैनिक करोडौं मानिसहरुले सामाजिक सञ्जालहरुमा अनेक किसिमका जानकारीहरु शेयर गरिरहेका हुन्छन् । त्यसभन्दा बढी संख्यामा त्यस्ता जानकारी र सामग्रीहरु शेयर हुन्छन् । अनि त्यसले पुर्‍याउने असर पनि त्यति नै ठूलो हुन्छ ।

सामाजिक सञ्जाल अन्तरक्रियात्मक हुन्छन् । त्यहाँ विविध किसिमका रुची र धारणाहरु शेयर हुन्छन् । तीमध्ये कमैले मात्र यस्ता प्लेटफर्महरुको नियम र शर्तमा बाँधिएर सामग्री उत्पादन गरिरहेका हुन्छन् । आवश्यक परेको खण्डमा गलत किसिमका सामग्री विरुद्ध रिपोर्ट गर्न सकिने उपाय नभएको होइन ।

यदि कसैले झुटा समाचार, गलत दिशातर्फ डोर्‍याउने, प्रतिलिपी अधिकार मिचेका, झुक्याउने, स्पाम जस्ता अनुपयुक्त र संवेदनशील सामग्रीहरु शेयर गरेको खण्डमा त्यस विरुद्ध कसरी रिपोर्ट तथा उजुरी गर्ने भन्ने विषयमा यहाँ चर्चा गर्दै छौं ।

१.साइबर ब्युरो

इन्टरनेटको युगमा अनलाइन दुर्व्यवहार एकदमै सामान्य भइसकेको छ । इन्टरनेटमा किशोरावस्थाका आधा जसो प्रयोगकर्ताहरु दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् ।तर बिडम्बनाको विषय त्यसमध्ये आधाले यस किसिमका गतिविधि विरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनभने उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन ।

त्यस्ता दूर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्युरो गठन भएको छ ।प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।

यहाँ गरी निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् ।

साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् ।प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

२. प्रेस काउन्सिल

पत्रकार आचारसंहिता २०१६ अनुसार अनलाइन मिडियाहरुले कुनै पनि समाचार सामग्री प्रकाशन तथा प्रशारण गर्नु अघि आफ्नो स्रोत तथा जानकारी पुष्टि गर्नुपर्ने हुन्छ । हिंसा, आतंकवाद, अपराध, आत्महत्या, अश्लीलता जस्ता गतिविधिलाई प्रोत्साहन गर्ने सामग्रीको प्रसारण गर्न पाइदैन ।

विशेषगरी कोभिड-१९ अर्थात कोरोनाभाइरसको यो संकटपूर्ण घडीमा प्रेस काउन्सिल नेपालले छुट्टै निर्देशिका समेत जारी गरेको छ । झुटा तथा अफवाहपूर्ण समाचार प्रशारण गर्ने वेब तथा अनलाइन पोर्टलहरु अनेक छन् ।

यदि तपाईंहरुले समाचारको रुपमा यस्ता सामग्रीहरु अनलाइनमा कतै देख्नु भयो भने सबैभन्दा पहिले जुन प्लेटफर्ममा (फेसबुक, ट्वीटर, युट्युवमा) देख्नुभयो त्यसैमा रिपोर्ट गर्नुहोस् । त्यसपछि विस्तारै साइबर ब्युरो र प्रेस काउन्सिलको सहयोग लिनुहोस् ।

३. युट्युव

तपाईंले युट्युवलाई त्यहाँ रहेका अनुपयुक्त सामग्रीहरको विषयमा सोझै रिपोर्ट गर्न सक्नुहुन्छ ।प्रत्येक च्यानल मूनी एउटा बटम रहेको हुन्छ त्यहाँबाट तपाईले च्यानलविरुद्ध रिपोर्ट गर्न सक्नहुन्छ ।तपाईंले कुनै निश्चित युट्युव च्यानलकै विरुद्ध समेत उजुरी गर्न सक्नुहुन्छ । त्यसका लागि सम्बन्धित च्यानल खोल्नुहोस् ।त्यहाँ दायाँ तर्फ रहेको अबाउट मा क्लिक गर्नुहोस् ।अब त्यसको तल पट्टी रहेको झण्डा आकारको बटन दबाउनुहोस् ।

४. ट्वीटर

तपाईं कुनै ट्वीट विरुद्ध रिपोर्ट गर्न चाहनुहुन्छ भने आफ्नो रिपोर्टको सान्दर्भिकता र कारणलाई केलाउन ट्वीटरले त्यस सम्बन्धी थप जानकारी माग्न सक्छ ।तपाईंले रिपोर्ट गरेको ट्वीटका शब्दहरु ट्वीटरले आफ्नो फलोअपमा समावेश गर्नेछ र तपाईंलाई नोटिफिकेसन दिनेछ । थप विस्तृत जानकारीका लागि ट्वीटरको सेफ्टी एण्ड सेक्युरिटी सेक्सनमा जानुहोस् र प्लेटफर्ममा देखिएको अनपयुक्त सामग्रीहरुको रिपोर्ट गर्नुहोस् ।

५. फेसबुक

पोस्टको माथिपट्टिको दायाँ भागमा रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।त्यहाँ अन्तिममा रहेको फाइन्ड सपोर्ट अर रिपोर्ट पोस्टमा जानुहोस् ।फेसबुकलाई त्यस्तो पोस्टको बारेमा सुझाव तथा प्रतिक्रिया दिन त्यहाँ रहेका मध्ये उपयुक्त विकल्प छान्नुहोस् ।सबमिट बटन थिचेर तपाईंले फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ ।तपाईंले यसरी रिपोर्ट गर्दा फेसबुकले कन्टेन्टको भिजिबिलिटीलाई सीमित बनाउन सक्छ । सम्बन्धित प्रयोगकर्तालाई त्यस्तो कन्टेन्ट प्लेटफर्मबाट डिलिट गर्न उसले आग्रह गर्न सक्छ । त्यस अलावा फेसबुकले उक्त अकाउन्टलाई निलम्बन गर्न समेत सक्छ ।