September 19, 2021, Sunday
२०७८ आश्विन ३

५६ औं विद्यार्थी दिवस,इतिहास र वर्तमान आवश्यकता

1.1K

उर्जाशिल युवा शक्तिलाइ गुलाम बनाउने गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने , सबै राष्ट्रघाती असमान सन्धि सम्झौताहरूको खारेज गर्नुपर्ने ,स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने लगायतका एजेन्डाहरु पारित गर्दै उपत्यकामा अन्तरकलेज स्तरिय सम्मेलन सम्पन्न भएको खुशीयालीमा २०२१ साल जेष्ठ १ गते नेपालका सचेत ,प्रगतिशील देशभक्त जनतान्त्रिक विद्यार्थीहरुले बिजय जुलुस निकाले।उक्त ऐतिहासिक शान्तिपुर्ण भब्य बिजय जुलुसमा भर्खरै शाही ” कु” मार्फत (२०१७ साल पौष १ गते) सत्ता कब्जा गरेको तत्कालीन तानाशाही महेन्द्र शाहको पन्चायतले विद्यार्थीहरुको जुलुसमा बर्बर ,आततायी दमन मच्चायो। पन्चमण्डलेहरुको अमानबिय फासिस्ट दमन र ज्यादती नरोकिएपछी विद्यार्थी र प्रहरी बीच झडप हुँदा सयौं विद्यार्थीहरु घाइते भए भने कयौं विद्यार्थीहरु गिरफ्तार परे।तथापि विद्यार्थीहरु झुकेनन। गलेलनन। पछि हटेनन।र निरन्तर तानाशाही जल्लादहरुको विरुद्ध डटेर सामाना गरिरहे र अन्ततः सत्ता विद्यार्थीहरुका ति जायज मागहरूको सम्बोधन गर्न बाध्य भयो ।र घुडा टेक्न बिबस भयो ।( मागहरू पुरा भए नभएको आज पनि एउटा समिक्षाको बिषय बन्ला।) त्यसै दिनको विद्यार्थीहरुको बिरतापुर्ण, बहादुरिपुर्ण र बलशाली आन्दोलनको सम्झना ,सम्मान र आगामी विद्यार्थी आन्दोलनलाई प्रेरणा र हौसला दिने दिनको रूपमा विद्यार्थी दिवस प्रत्येक बर्ष जेष्ठ १ गते नेपालका छरिएर रहेका लगभग सबैजसो विद्यार्थी संगठनहरु मनाउने गर्छन् ।२०२१ सालदेखि २०७७ सालसम्म आइपुग्दा ५६ बर्षको पाको, पुरानो ,अनुभवी र नेपालका थुप्रै परिवर्तनकारी आन्दोलनको अग्रमोर्चा तथा सक्रिय साक्षी नेपालको विद्यार्थी आन्दोलनले असङ्ख्य आरोह -अवरोह, घुम्ती ,मोड अनि उकाली ओराली पार गरेको छ।नेपालका ऐतिहासिक राजनीतिक परिवर्तनको सम्बाहक, ठुला ठुला राजनीतिक बिजयको मुख्य हिस्सा नेपाली विद्यार्थी आन्दोलनसङ्ग अनगिन्ती दसि प्रमाण इतिहासका रक्तरन्जित पानाहरुमा लिपिवद्दछन ।

गौरव पुर्ण बिगतका वाबजुद विद्यार्थी आन्दोलनका केहि बिकार पक्ष पनि रहेका छन । त्यहि बिकारता कै प्रभाव भनौ पार्टी पिच्क्षे विद्यार्थी संगठनहरु बिभक्त छन् र राष्ट्रियता,जनतन्त्र ,जनजीवन ,शिक्षा , स्वास्थ ,शासन व्यवस्था भित्रका तमाम समस्याहरु ,विकृतिहरुमा ,राष्ट्र ,जनता र विद्यार्थीहरुको हक ,अधिकार ,न्यायको पक्षमा परिणाममुखी बहस पैरवी ,वकालत र संघर्ष गर्न सकिरहेका छैनन् ।कयौं विद्यार्थी सङ्गठनका जामा भिरेका सङ्गठन त सत्ताको तलुवा चाट्ने मालिकको ताबेदारी गर्ने कुकुरका रुपमा छन । मालिकको भक्तिभाव गर्नु जसो जसो मालिकको आज्ञा हुन्छ उसै उसै गरि पुच्छर हल्लाउनु मै विद्यार्थी आन्दोलनको कार्याभार सम्झन छन ।मन्त्रीका पिए बन्ने । सिहदरवार र बालुवाटारको वरिपरि झुम्मिने त्यहाँकै बासीत्यासी र कलो खाने प्रवृत्ति ।नेताहरूको चाकरी , चाप्लुसी , भक्ती र स्तुति गरेर लाभको तर मार्ने बहरुपी बिचौलिया बन्ने जस्ता घृणित कार्यले विद्यार्थी आन्दोलनलाई निकै बद्नाम मात्र गरेको छैन इतिहासमै नउठने गरि कमजोर पनि पारिरहेको छ।केहि बिग्रे पनि केहि बिके पनि । बिरतापुर्ण बिरासतका खातिर आन्दोलनका उपलब्धिहरुको रक्षार्थ संस्थागत गर्न र आन्दोलनको झण्डा झुक्न नदिन क्रान्तिकारी विद्यार्थीहरु लागी रहेकै छन । यस बिचमा केहि काम नभएका भने होइनन् २०३६ सालमा पाकिस्तानी नेता जुल्फिकर अली भुट्टोको हत्याको बिरोध स्वरुप दूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा पन्चायतले गरेको दमन र मच्चाएको आतंक विरुद्ध विद्यार्थीहरु सडकमा ओर्लिए र व्यवस्था परिवर्तनको आवाज बुलन्द गरे ,पन्चायत विद्यार्थीहरुको अगाडि घुडा टेक्न बाध्य भयो।र बहुदलीय व्यवस्था कि सुधारिएको पन्चायती व्यवस्था (व्यवस्थाकै विकल्पमा ) जनमत संग्रह घोषणा गर्न बाध्य भयो तथापि जालझेल ,षडयन्त्र र धादलीपुर्वक पुरानै विकृत जनविरोधी तथा राष्ट्रघाती पन्चायती व्यवस्थाकै पक्षमा परिणाम आयो।त्यसपश्चात देशमा भएका २०४६ मा प्रजातान्त्रको पुनः स्थापनाको निम्ति भएको भीषण जनआन्दोलनमा पनि विद्यार्थी संगठनहरुको अर्थपूर्ण (निर्णायक पनि भन्न सकिन्छ गतिशीलता ,सक्रियताको कोणबाट ) भुमिका रह्यो भने २०५२ फागुन ०१ गतेदेखि शुरूवात भएको भीषण र अग्रगामी जनयुद्धमा पनि विद्यार्थीहरुको उच्च ,अर्थपूर्ण ,गौरव गर्न लायक सहभागिता रह्यो।वर्ग संघर्षको त्यो भीषण र आदीमय क्षणमा जनयुद्धमा सहभागी भएर थुप्रै क्रान्तिकारी विद्यार्थीहरु सहादत प्राप्त गरे ,थुप्रै घाइते ,अपांग र व्यपत्ता भए र पनि उनिहरु थाकेनन र निरन्तर २४० बर्षे पुरानो राजतन्त्र र प्रतिगामी संसदीय व्यवस्था लाई फाली देशमा जनगणतन्त्रको स्थापना गरि छाड्ने संकल्प बोकेर आन्दोलनमा होमिएका थिए।जनयुद्धमा समाहित तिनै युवाविद्यार्थीहरु तत्कालीन राजनीतिक परिस्थितिको माग अनुसार २०६२/०६३ को जनआन्दोलनमा एकै ठाउँमा उभिए ,सम्पुर्ण राजनीतिक दल,नागरिक ,मिडिया एक ठाउँमा गोलबन्द भए र अन्ततः निरंकुश राजतन्त्र लाई सधैंको लागि बिदाइ गरे यो गौरवपुर्ण इतिहास लाई जतिसुकै लुकाउन खोजेपनी लुकाउन नसकिने यथार्थ इतिहासका पानाहरुमा कैद भइसकेका छन् ।

त्यो भन्दा पछिल्ला दिनहरूमा भने फाट्टफुट्ट सिमा अतिक्रमण ,महंगी ,कालोबजारीहरुको बिरोध गरेझैं गर्नु बाहेक खासै उल्लेखनीय ,निर्णायक ,ड र परिणाममुखी आन्दोलनहरु,खबरदारीहरु विद्यार्थी संगठनले गर्न नसकेको तितो यथार्थलाई विद्यार्थी आन्दोलनका हस्ती सम्झनेहरु / दावी गर्नेहरू स्वीकार गर्नैपर्छ।तथापि छुटाउनै नहुने बिषय मेडिकल कलेजका विद्यार्थीहरुले मेडिकल शिक्षा भित्रको अनियमितता र ब्रहम लुटका विरुद्ध स्वतस्फूर्त चितवन मेडिकल कलेज ,गण्डकी मेडिकल कलेज लगायत देशैभरिका मेडिकल कलेजमा गरेको आन्दोलन भने इतिहासले स्मरण गर्ने नै छ।आशा मरिसकेको विद्यार्थी आन्दोलनमा फेरि एउटा आशाको रूपमा प्रकाश र मान्यताहरु आशाका दियो बालेर विद्यार्थी आन्दोलनलाई जिवित देखाएका छन् ।

आगामी कार्यभार

‌नेपालको समकालीन विद्यार्थी आन्दोलन निति ,नेतृत्व,गति र दिशा विहिन भएको यो परिवेशमा नेपालका सम्पुर्ण देशभक्त ,वामपन्थी ,लोकतान्त्रिक ,कम्युनिस्ट तथा जनतन्त्रिक विद्यार्थीहरु एकताबद्ध हुन् जरुरी छ। विद्यार्थी आन्दोलनको बाकी अभिभारा पूरा गर्न अझै बाकी छन ।तर पनि अघोषित प्रतिबन्धकाे कारणले उत्पन्न जटिल र कठिन परिवेश साथै हामी भित्र पनि रहेका असक्षमता ,अपुर्णता र अपरिपक्वताको कारण पनि विद्यार्थी आन्दोलनले गति र दिशा निर्देश गर्न सकिरहेको छैन।

मुलतः विद्यार्थी आन्दोलनको मुख्य दायित्व राष्ट्रियता ,जनतन्त्र र जनजीवनको पक्षमा डटेर आवाज बुलन्द गर्नु ,शैक्षिक क्षेत्रका सबै प्रकारका बिकृती र बिसङ्गती ,यसभित्रकोनिजीकरण ,व्यापारीकरण ,माफियाकारण र भ्रष्टिकरणको विरुद्ध आम विद्यार्थीलाई एकताबद्ध गर्नु ,नागरिकलाई सुसज्जित गर्नु नै हुन भन्ने हामी सबैको बुझाइ रहदै आएको छ।यतिबेला साम्राज्यवादी भारतले कालापानी ,लिपुलेक र लिम्पियाधुराको भुभाग लाई आफ्नो राजनैतिक नक्सामा समेटेको केही महिना पछाडी नेपाली भुमि लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण सम्पन्न गरि उद्घाटन समेत गरिसकेको छ योत एउटा दृष्टान्त मात्रै हो ।नेपालका थुप्रै क्षेत्रमा भारतले नेपालको जमीनमा कब्जा जमाएको छ।राष्ट्रियता महासंकटमा छ ,नेपाल र नेपालीको स्वाभिमान विश्वसामु ओरालो लागिरहेको छ,भने अर्को तिर मानव सभ्यता र अस्तित्व नै संकटमा पार्ने होकि भनी सोच्न बाध्य बनाउने गरि कोरोना भाइरस विश्वभर दिनप्रतिदिन तिब्र गतिमा संक्रमण भइरहेको छ।नेपालमा पनि संक्रमितको संख्या परिक्षण बढे सँगै बढिरहेको छ ।आंकलन कस्तो गर्न सकिन्छ भने परिक्षाण बढे सँगै नेपालमा पनि संक्रमितको संख्या बढ्ने निश्चित छ।नेपाली नागरिकहरुले सजिलैसँग आफ्नो दैनिकि धान्न सक्ने अवस्था छैन ।विदेशामा पढ्न गएका नेपाली विद्यार्थीहरु,मजदुरीम गएका नागरिकहरु स्वदेश फर्किन चाहान्छन तर राज्यले उनीहरुको उद्दारमा सकृयता देखाएको जस्तो लाग्दैन ।सामान्य बिरामीहरु पनि उपचार पाइरहेका छैनन् ।विद्यार्थीहरु पढ्न पाइरहेका छैनन् ,मजदुरहरु मजदुरी गर्न पाएका छैनन् ,साना व्यवसायीहरु व्यवसाय गर्न पाइरहेका छैनन् ।२ तिहाईको सरकार लकडाउन भन्दा अन्य कुनै पनि वैकल्पिक उपाय देखेको छैन ,लकडाउन नागरिकको जीवनरक्षाको भन्दा बढी आफ्नो निहित राजनीतिक स्वार्थपुर्तिको निम्ति बढी केन्द्रित भएको देखिन्छ । अहिलेको यो परिस्थितिले विश्व अर्थतन्त्रमा नै ठुलो फेरबदल ल्याउने निश्चित छ भने नेपालको अर्थतन्त्र त झन् कंगाल बन्ने निश्चित नै छ।यसले राज्यका सम्पुर्ण क्षेत्रमा ठुलो फेरबदल ल्याउने निश्चित छ। २ ठुला महासंकटले देशको राजनीतिक,आर्थिक ,सामाजिक ,साँस्कृतिक ,शैक्षिक लगायतका सबै क्षेत्रमा संकट थोपरेको छ। यस्तो परिवेशमा युवा विद्यार्थीहरु अलि रचनात्मक ,सिर्जनशील ,पृथक ,अग्रगामी ,नयाँ र फरक ढङ्गले सोच्न ,बुझ्न र सबै खाले संकटबाट कसरी पार पाउन सकिन्छ भनि खोज ,अध्ययन ,अनुसन्धान र अन्वेषणमा जुट्न आवश्यक छ। साम्राज्यवादी भारतको बर्षौं देखिको हेपाह र मिचाहा प्रवृत्ति बाट सधैंका लागि कसरी मुक्ति प्राप्त गर्न सकिन्छ? रोग , भोक र शोकले ग्रस्त सम्पुर्ण नागरिकको भोको पेट कसरी भर्न,रोगी शरीर उपचार गर्न,शोकलाई कम गर्न कसरी सकिन्छ ?पठनपाठन अवरुद्ध भएको छ यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?विद्यार्थीहरु घरमै बसेर पढ्ने व्यवस्था गर्न के – कस्ता कामहरू गर्न सकिन्छ ?घरमै बसी पढ्ने प्रविधिको प्रयोग आम नागरिकका छोराछोरीहरुको पहुँचमा पुग्न सक्छ कि सक्दैन ?तत्कालीन परिस्थितिमा युवा विद्यार्थीहरु यिनै बिषयमा केन्द्रित भएर राज्यसत्तालाई विभिन्न रचनात्मक र दबाबमूलक ढङ्गले देश र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन जरुरी छ। र अर्को कुरा हामीलाई राम्रोसँग के थाहा छ भने अहिलेका शासक र शासन व्यवस्था पुर्णतया जनमुखी र राष्ट्रमुखी हुन सक्दैन ।जनताको न्याय ,मुक्ति ,स्वतन्त्रता र पुर्ण अधिकार प्राप्ति बैज्ञानिक समाजवादी राज्य व्यवस्था र मालेमावादी विश्वदृष्टिकोण बाट प्रशिक्षीत जनप्रतिनिधि बाट मात्रै सम्भव हुन्छ भन्ने बिषय आमनागरिक र विद्यार्थीहरु लाई बुझाउन जरुरी छ।

नेपाली विद्यार्थीको माझमा अहिले एउटा भ्रम सिर्जना गर्न खोजिदै छ कि विद्यार्थीहरु शैक्षिक बिषय बाहेक अन्य कुनै पनि बिषय चुइक्क बोल्न पाइदैन ।विद्यार्थीको काम भनेको पढ्ने लेख्ने ,सुगा रटाइ गर्ने र बिधालय ,क्याम्पस धाउने मात्रै हो भन्ने कुरा जबर्जस्त पार्न खोजिदै छ।यो कुरा पुरै गलत मात्रै होइन इतिहासको मजाक ,इतिहासको धज्जी उडाउने काम भएको छ।विगतका कालखण्डमा विद्यार्थीहरु नै व्यवस्था परिवर्तनकाे महत्त्वपूर्ण भुमिका खेलेका हुन ।प्राय हेर्दा बिद्यार्थी आन्दोलनलाई सत्ता प्राप्तिको भर्याङकाे रुपमा मात्रै प्रयोग गरेको देखिन्छ ।त्यसैले आम विद्यार्थीहरु यस्ता भ्रमबाट मुक्त हुन जरुरी छ ।एकपटक नेपालको आमुलपरिवर्तन गर्न देशमा बैज्ञानिक समाजवादको स्थापनाको निम्ति आवश्यक परे बलिदान सम्म गर्न तयार भएर व्यवस्था परिवर्तनको पक्षमा उभिन जरुरी छ।अहिलेको तत्कालीन आवश्यकता भनेको राष्ट्रियता माथिको संकट र कोरोना माथिको संकट बाट मुक्ति प्राप्त गर्नु हो भने दीर्घकालीन अभिभारा भनेको व्यवस्था परिवर्तनकै हो।यसो भन्न हिचकिचाउनु पर्ने हामी विद्यार्थी संगठनका हौं , शैक्षिक सवाल मात्रै हाम्रा मुद्दा हुन् भनेर हामी भित्रको भएको क्रान्तिकारी ,युगान्तकारी तथा ऐतिहासिक सत्ता परिवर्तनको अभिभारामा कायरताको लेप लगाउन जरुरी छैन।शिक्षा ,स्वास्थ्य ,सामाजिक ,आर्थिक लगायतका अन्य क्षेत्रमा रहेका अभाव र विकृतिहरुको हल व्यवस्था परिवर्तन बाट मात्रै सम्भव रहन्छ । त्यसैले आम विद्यार्थीहरु एकपटक जुरुक्क उठ्न जरुर छ ।

स्वाधीनता र समृद्धि प्राप्त हुनेछ।भोको पेटले खान पाउनेछ,नाङ्गो शरीरले लाउन पाउने छ ,खुल्ला आकाशमा बसेकाले छानो पाउने छन् ,बिरामीले उपचार पाउनेछ , विद्यार्थीहरुले एक्कासौं शताब्दीको उत्कृष्ट विचार ,दृष्टिकोण र चेतना सहितको गरिखाने ,राष्ट्र ,समाज र नागरिक प्रती जवाफदेहि बन्ने ,संस्कार ,सभ्यता र प्रविधि युक्त ज्ञान हासिल गर्नेछन् ,बेपढेलेखेका बेरोजगार युवा विद्यार्थीहरुले स्वदेशमै रोजगार पाउनेछन् ,बर्षौंदेखी हेपिएका दलित ,जनजाति ,मधेसी ,उत्पीडित जाति ,क्षेत्र,लिङ्ग ,वर्ण,वर्ग र समुदायका नागरिकले शान्तिको सास फेर्ने छन, सबैले श्रम गरेर खाने थितिको निर्माण हुनेछ,शैक्षिक व्यापारीहरु/ माफियाहरु समान ,निशुल्क र बैज्ञानिक शिक्षाको निम्ति तयार हुनेछन् ,बाँजो भुमिको सदुपयोग हुनेछ ,सुकुम्बासीको व्यवस्थापन हुनेछ ,बाँझो जमिनमा खेतिपाती हुनेछ ,भु – माफियाहरुको अन्त्य हुनेछ हामी त्यो दिनको कल्पना गरिरहेका छाै । एकीकृत जनक्रान्तिको आलोकमा उभिएर बैज्ञानिक समाजवादको स्थापना गरौं ।नयाँ निति ,नयाँ समाज ,नयाँ नेतृत्व र विचारको निर्माण गरौं ।यसको जिम्मेवारी अथवा व्यवस्था परिवर्तनको संवाहक / खम्बा नेपाली विद्यार्थीहरु बनौं ।यो युगले सुम्पेको युगान्तकारी जिम्मेवारी पुरा गर्ने दृढ अठोट र संकल्प हामी सबैले गरौं

।अन्त्यमा ५६औं विद्यार्थी दिवसको अवसरमा सम्पुर्ण कम्युनिस्ट ,वामपन्थी ,देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरुमा हार्दिक ।शुभकामना व्यक्त गर्दछु ।विद्यार्थी आन्दोलनको इतिहासमा राणा शासनको विरुद्धमा आन्दोलन गर्दा सहादत प्राप्त गर्ने गंगालाल श्रेष्ठ ,महान १० बर्षे जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल ,जनयुद्धताकै सहिद बेनोज अधिकारी देखि एकीकृत जनक्रान्तिको आलोकमा उभिएका प्रज्वल शाही सम्मका सम्पुर्ण ज्ञात- अज्ञात सहिदप्रती हार्दिक श्रद्धा सुमन ।व्यपत्ता यौद्वा पुर्ण पौडेल लगायत सम्पुर्णको अवस्था सार्वजनिक होस् ,राजनीतिक आस्था र विचारका आधारमा जेल र हिरासतमा रहेका सम्पुर्ण यौद्वाहरुको तत्काल रिहाई गरियोस् सबैलाई शुभकामना ।

यहाँ प्रस्तुत गरिएका धारणाहरु लेखेका नितान्त ब्यक्तिगत धारणाहरु हुन । सम्पाादक