April 19, 2021, Monday
२०७८ बैशाख ६

दलितभित्रको वादी समुदाय र यसको विद्यमान अवस्था

339


कर्णबहादुर नेपाली (आलोक)


१. विषय प्रवेश
युगौ देखि जातिय भेदभाव तथा छुवाछुतजस्तो अमानवीय व्यवहारबाट ग्रसित दलित समुदायभित्रको एक जाति हो वादी समुदाय । पश्चिम नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वादीहरूको बस्ती रहेको छ । कर्णालीको दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट र रुकुमपश्चिम, सुदूरपश्चिमको अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली र कञ्चनपुर, लुम्बिनी प्रदेशको रोल्पा, रुकुम, बाँके, बर्दिया, प्युठान र दाङमा धेरै वादीको बस्ती छ । गण्डकी प्रदेशको कास्की र बागलुङमा पनि बादी छन् । वि.सं.२०६८ सालको जनगणनाअनुसार वादी समुदायको जनसंख्या ३८ हजार ६०३ छ । जसमध्ये १८ हजार २९८ पुरुष छन् भने २० हजार ३०५ महिला छन् ।२०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालका ५३ जिल्लामा वादी समुदायको बस्ती छ । सबैभन्दा बढी कास्की ४ हजार ४६, डोटीमा २९ सय ५८, कैलालीमा २८ सय २२, सुर्खेतमा १८ सय ५५, दाङमा १७ सय १८, जाजरकोटमा १२ सय १७, कञ्चनपुरा १२ सय ५८ र बाजुरामा १८ सय ७८ जना वादी बसोबास गरिरहेका छन् ।तर, अन्य जिल्लाको तुलना कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वादी समुदायको बाहुल्यता रहेको छ ।


२. वादी समुदायको ऐतिहासिक सन्दर्भ


वादी शब्दका सम्बन्धमा विभिन्न शब्दकोशहरुमा विभिन्न तरिकाले उल्लेख गरिएको पाइन्छ । यी शब्दकोशमा यो जातिलाईनाचगान गर्ने र देह व्यापारमा संलग्न जातिको रुपमा चित्रित गरिएको पाइन्छ । वादी शब्द संस्कृतभाषाबाट लिइएको र यसको तत्कालीन अवस्थाको अर्थ ‘वाद्यवादक’ भन्ने बुझिन्छ । वादी समुदायउत्कृष्ट बाद्यबादक र बाद्यबादनका सामग्री निमार्ण गर्ने समुदाय हो । यस समुदायको स्पष्ट ऐतिहासिक श्रोतको अभाव भएता पनि वादी शब्दको उत्पत्तिका सम्बन्धमा विभिन्न स्रोतका आ–आफनै भनाई पाइन्छ । जसमध्ये वादी जातिबाद्यवादनसँग सम्बन्धित भएकोले वादी जातिको जीवनयापनको आरम्भ नाचगानबाट भएको र सोकोलागि प्रयोग गरिने विभिन्न किसिमका वाद्यवादनका सामग्रीहरू प्रयोग गर्ने र बनाउने जाति हो ।
विभिन्नवाइसे चौवीसे भुरेटाउके राजा रजौटाहरूद्वारा आफनो दरवारमा शुभकार्य, पूजा ब्रतवन्ध, विवाह आदिकार्यमा नाचगान तथा मनोरञ्जनका लागि यिनीहरूलाई नेपाल तथा भारतका विभिन्न ठाउँहरूबाटल्याइएको हुन सक्दछ । शुरुवातमा वाद्यवादन गर्नेलाई वादक र नृत्य वा अभिनय गर्नेलाई पात्र वा पात्रीभनिन्थ्यो जुन शब्द पछि अपभ्रंश भएर वादी र पातरको रुपमा रुपान्तरित भएको मानिन्छ । यद्यपि योअध्ययन र अनुसन्धानको विषय बनेको छ । वादी भनेको खासगरी पश्चिम नेपालको उच्च पहाडीभूभागदेखि तराइसम्म फैलिएका, काठ र छालाबाट वाद्यबादनका साधन (जस्तो मादल, बाउँ, ढोल,डमरु, सारङ्गी तबला) आदि बनाउने, बजाउने, विक्री गर्ने, माटाका सामग्री बनाउने, साट्ने, माछामार्ने, टडिया (थारु महिलाले लगाउने माटाको साचोमा चाँदी वा गिलेटद्वारा निर्मित) बनाउने, लोकगीत,लोकसङ्गीत लोकनृत्यद्वारा राजादेखि रैतिसम्मलाई मनोरञ्जन प्रदान गर्ने र सामाजिक रुपमा मागेरजीविका चलाउने अधिकार पाएको शिल्पी तथा कलाकार जाति पनि भनिन्छ ।वादी समुदाय भारतको राजस्थान उद्वगम रहेको फिरन्ते विडी जातिकै एउटा हांगा मानिन्छ । चौधौँं शताब्दिमा हिन्दू मुस्लिम बीच धार्मिक दंगा फैलिएपछि धर्म जोगाउन भारतका विड जातिहरूभारतकै उत्तरप्रदेशतर्फ लागे । उत्तरप्रदेशमा उनीहरू विडिया भनिन थाले । भाग्दाभाग्दै नेपाल छिरेरसल्यान आई पुगेको समूह बिडबाट अपभ्रंश भई वादी भन्न थालिएको मानिन्छ भन्ने पनि भनाई रहेकोछ । वादी समुदाय अल्पसंख्यकठ र सीमान्तकृत समुदाय हो । वादी समुदाय हिन्दू धर्म मान्नेदलितसमुदायभित्रको मानिन्छ । दलित समुदायमा पनि पछाडि पारिएको समुदायको रुपमा वादीलाई लिनेगरिन्छ । वादी समुदायको छुट्टै भाषा र संस्कृति स्थापित र पहिचान कायम हुन सकेको पाइदैन । नेपालमावादी समुदायभित्र पनि विभिन्न खालका थरहरू छन्


३. वादी समुदाय र यसको सामाजिक, आर्थिक र राजनीतिक अवस्था


यस समुदाय दलित भित्रको पछाडि पारिएको अल्पसंख्यक समुदायको रुपमा रहेको छ । योसमुदाय दलित समुदायको रुपमा रहेको र दलितभित्र पनि अझ दलित समुदायको रुपमा हेरिन्छ भन्नेमानिन्छ । यो समुदाय अल्पसंख्यकको रुपमा रहेको छ । यो वर्गसीमान्तकृत र कमजोर वर्गको रुपमा रहेको छ । समुदायप्रति परम्परागत रुपमा हेरिदै आएको दृष्टिकोण तथा उनीहरु शिक्षा र सबै खालको अवसरबाट बञ्चित रहेकोले विकासको मुलप्रवाहबाट धेरै टाढा रहेको पाईन्छ । यस समुदायको परम्परागत पेशाहरुले दैनिक जीविकोपार्जन गर्न समेत धौ धौ परिरहेको छ । सामाजिक रुपमा बञ्चितीकरणमा परेको यस समुदायको सामाजिक हैसियत, मर्यादा, आत्मसम्मान भन्ने विषयलाई अहिलेको हाम्रो समाजले धेरै दूरको विषय बनाएको छ । हाम्रो व्यवस्था तथा संरचनाले नै उनीहरुलाई पेशाको रुपमा नाचगान लगायतका वाद्यवादनका साधनहरु बनाउने शिल्पी बनाईदियो तर यसले समाजिक सम्मानको सट्टा भेदभाव तथा छुवाछुत बेहोनुृपर्ने अवस्थाको सिर्जना भयो ।
संवैधानिक तथा कानुनी हिसावले केही प्रावधान गरेको भएता पनि वादी समुदायको शिक्षामा पहुँच अहिले पनि एकदम अवस्थामा रहेको पाईन्छ । करीव दश वर्षअघि वादी समुदायको अध्ययन गर्न गठित कार्यदलद्वारा तयारपारिएको अध्ययन प्रतिवेदनअनुसार वादी समुदायको शैक्षिक अवस्था औसत राष्ट्रिय अवस्थाभन्दा न्यूनदेखिएको थियो । करीव ५४ प्रतिशत परिवार निरक्षर रहेको, विद्यालय तहसम्म अध्ययन गर्ने कूलविद्यार्थीमध्ये करीव २५ प्रतिशतले बीचैमा कक्षा छाड्ने गरेको र यसरी बीचैमा कक्षा छाड्ने कारणमागरीवी नै प्रमुख कारण रहेको छ । यस परिवारमा करीब १५ प्रतिशत बालमजदूर रहेका, यिनीहरूविशेषगरी ज्यालामजदूरी र घरायसी कार्यमा भारत तथा स्वदेशका विभिन्न शहरमा काम गर्ने गरेकोदेखिन्छ ।वादीहरू समुदायका बालबालिका गरीबी र सामाजिक भेदभाव तथा सामाजिक रुपमा गरिनेअपहेलित व्यवहारका कारण राष्ट्रिय रुपको शैक्षिक अवस्थाभन्दा तल्लो अवस्थामा छन् ।
आर्थिक रुपमा उनीहरुको आफ्नो जमिन तथा गरिखाने कुनै पनि सम्पत्ति छैन, लगभग वादी समुदायको जम्मा घरधुरीमा ५८ प्रतिशतको हाराहारीका व्यक्तिहरुको वस्ने बास तथा आफनो नाममा नेपालको कुनै पनि भागमा जमिन छ जस्तो लाग्दैन, उनीहरु एकप्रकारले फिरन्ते जातिको रुपमा रहे । नाचगान, माछामार्ने जस्ता व्यवसायले उनीहरुलाई कहिल्यै एकठाउमा स्थिर भएर वस्नुपर्छ भन्ने नै भएन वा भनौ राज्य वा राज्य संरचनामा बस्ने व्यक्तिहरुले कहिले पनि उनीहरुलाई आर्थिक उपार्जनका तथा सम्पत्तिको मालिक बनाउने तरिकाले सहजीकरण गरेनन्, जहिले पनि उपभोगका साधनका रुपमा मात्र लिईरहे । विद्यमान परिवर्तित अवस्थामा समेत वादी समुदायले आफ्नो जीविकोपार्जनका लागि आयमुलक, सिपमुलक वा रोजगारमुलक व्यवसायहरु आर्थिक अभाव कै कारणले गर्न सकिरहेका छैनन् । उनीहरु आर्थिक गरिबी मात्र हैन कि मनोसामाजिक तथा संरचनात्मक गरिबी समेत रहेका छन् ।
राजनितिक रुपमा वादी समुदायले विभिन्न परिवर्तनका आन्दोलनमा पनि राजनितीक रुपमा योगदान नगरेको होईन तर यस समुदायले राजनितिक प्रतिनिधित्व तथा सम्मान पाउन सकेको छैन । लामो समयको सघर्ष पश्चात नेपाल सरकारले वादी समुदाय उत्थान विकास समिति बनाएको थियो त्यसको पनि खासै प्रभावकारी व्यवस्थापन हुन सकेको छैन, उल्टै यसको खारेजी गर्न लागिरहेको भन्ने सुचनाहरु पाईन्छन् । वादी समुदाय सामाजिक आर्थिक रुपमा पछाडि परेको सीमान्तकृत वर्ग भएकाले राजनीतिक तथा नीतिनिर्माण तह र प्रक्रियामा प्रतिनिधित्व र भूमिका नरहेको वर्गको रुपमा रहँदै आएको छ । वादी समुदायलामो समयदेखि बहिष्करण र बञ्चितिको अवस्थामा रहेकोले विगतमा राजनीतिक क्षेत्रमा संलग्नता शून्यप्राय रहेकोमा हालका दिनहरूमा न्यून रुपमा संलग्नता रहेको पाइन्छ । राज्यका नागरिक हुन भन्ने नैअनुभूति गर्न नसकेको भन्ने यो समुदायका व्यक्तिहरूके गुनासो रहेको छ । यो समुदायको राजनीतिक,प्रशासनिक लगायतका नीति निर्माण गर्ने तहमा यद्यपि उल्लेख्य रुपमा पहँुच हुन सकेको छैन । हालकादिनहरूमा क्रमिक रुपमा विद्यालय, स्थानीय सामुदायिक संस्था, स्वास्थ्यचौकी, वन उपभोक्ता समूहमान्यून संख्यामा सहभागिता हुन थालेको छ । निर्वाचनको तथ्यांकलाई हेर्दा, गत स्थानीय तहको निर्वाचनबाट ३ जना निर्वाचित र प्रदेशको चुनावबाट पनि १ जना समानुपातिक सांसद निर्वाचित भएका छन् । राजनितिक दलको भातृसंगठनमा केहि व्यक्तिहरु वादी समुदायबाटै पनि स्थानीय, जिल्ला, प्रदेश तथा केन्द्र सम्मको सिमित पहुँचमा रहेका छन् ।
वादी समुदाय वास्तवमा शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य तथा राजनीतिक र साँस्कृतिक हिसावमा सबै तरिकाले पछाडि पारिएको छ । हाम्रो समाजले यो समुदायलाई नकारात्मक रुपमा मात्र हेर्ने गरेको पाईन्छ तर उनीहरु विभिन्न समयमा राज्यलाई दीगो व्यवस्थापनको माग गरिरहेका छन् । यो समुदायले आफुलाई नयाँ तरिकाले स्थापित गर्न पनि निरन्तर आवाज उठाईरहेको छ ।
कानुनी दृष्टिकोणले सिमित कानुनहरु बनाएपनि ती सबै दलितहरुलाई लागु हुने गरी कानुन निर्माण गर्दा पुछारमा रहेको वादी समुदायलाई यसले प्रत्यक्ष रुपमा लाभ हुन सकेको छैन ।


४. उपसंहार


नेपालमा वादीहरूको ऐतिहासिक पक्ष र उनीहरूको उत्पत्तिका सम्बन्धमा यकीन तथ्याङ्क र अभिलेखकोअभाव भए पनि नेपालको मध्य र सुदूरपश्चिममा शुरुका दिनमा बसोबास रहेको र अहिले देशका सबैजिल्लामा उपस्थित रहेको कुरा तथ्याङ्कहरूबाट देखिएको छ । यो समुदाय अल्पसंख्यक र सीमान्तकृतवर्गका रुपमा रहेको छ । गरीवी, अशिक्षा, पछौटे, भूमिहीनता जस्ता समस्याहरू यस समुदायले ब्यहोर्दैआएको पाइन्छ । मानव अधिकारका दृष्टिले पनि समग्रतामा वादी समुदायको मानव अधिकारको अवस्थानाजुक नै रहेको देखिन्छ ।
वादी समुदायले विगत देखि भूमि लगायत विभिन्न माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् । विगत , २०५२–५३ सालमा नेपालगञ्जमा ‘कि गाँस–बास देऊ, होइन भने स्वतन्त्रपूर्वक पेसा गर्न देऊ’ भन्ने मूल नारा लगाएर आन्दोलन भएको थियो । ‘विषेशगरी कैलालीको बलचौरमा २०५५ सालमा भूमिको माग गर्दै आन्दोलन भएको थियो,’ र ‘त्यसयता धेरै आन्दोलन भएका छन् । वि.सं. २०७७ सालमा सुर्खेतमा भइरहेको आन्दोलन अहिले त्यसको निरन्तरता हो ।’ वादी समुदायले आन्दोलन गर्छन्, सरकारले कुनै खालको वार्ता गर्छ अनि त्यसको कार्यान्वयन गर्दैन ।


त्यसकारण, वादी समुदायको सर्वाङ्गिण विकास गरी दिगो विकास प्रक्रियामा मुलप्रवाहीकरण गर्न पनि शिक्षामा उच्च शिक्षासम्म नै निःशुल्क, नेपालको संविधान २०७२ ले उल्लेख गरेजस्तै सम्पुर्ण भुमिहिन त्यसमा वादी समुदायलाई घडेरी मात्र हैन कि आधारभुत रुपमा खेती गरि खाने समेतको जग्गाको व्यवस्था, आयमुलक तथा रोजगारमुलक सीपको व्यवस्था, वादी समुदायका लागि मात्र लक्षित गरी विशिष्ट कानुन, नीति, बजेट तथा संरचना निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । हाल सम्म वादी समुदायसँग राज्यले गरेका विभिन्न आन्दोलनका सम्झौताको व्यवहारमा कायान्वयन गर्नुपर्ने । वादी समुदाय उत्थान विकास समितिलाई एक सशक्त , सबल र प्रभावकारी संयन्त्र बनाई वादी विकास प्राधिकरणको रुपमा कार्य गर्नुपर्छ । यो अल्पसंख्यक समुदायको रुपान्तरणका लागि गरिएको विकास नमुना अरु पछाडि पारिएको वर्ग समुदायको रुपान्तरणमा सकेत उपयोगी हुनसक्छ , चेतना भया ।

लेखक कर्णबहादुर नेपाली (आलोक)
सुशासन, मानवअधिकार, सामाजिक समावेशीकरण पैरवी, परियोजना व्यवस्थापन विज्ञ हुन karnanepali777@gmail.com;