January 19, 2021, Tuesday
२०७७ माघ ७

उ बेला मौवाको रक्सी औषधि नै हुन्थ्यो

1K

म मनकुमारी अहिले ८३ बर्षको भए । मेरो घर साविकको चुन्वाङ गाबिसको वडा ७ मा पर्छ । मेरो श्रीमानको काल भएको अहिले करिव २० बर्ष जति भयो । म केही बर्ष यता कान्छो छोरा नन्द बिष्ट सग अहिलेको पश्चिम रुकुमको सदरमुकाम खलंगामा बस्दै आएको छु ।


मेरा दुइ छोरा र एक छोरी छन । अहिले म कान्छो छोरा सगै बस्छु । यो उमेरमा पनि मलाई काम गर्न निकै रहर लाग्छ । जमानामा धेरै काम गरेकाले कत्ति पनि फुर्सदमा बस्न सक्दैन । अहिले पनि म मज्जाले घरको काम गर्न सक्छु । घरमा पाहुना आएको बेला खाना पकाएर खुवाउने,घर सफा आदी कामहरु पनि कहिले काम मैले गदै आएको छु ।

मलाइ अहिले सम्म कुनै ठुलाे राेग लागेर थलिनु परेकाे छैन ।मेराे उमेरका पुरानाहरू मध्मे अहिलेसम्म धेरै फेरबल देख्न पाउने जिँउदाे म मात्रै छु जस्ताे लाग्छ । म सगै उमेरका सबैको काल भैसकेको छ ।
मैले पढने लेख्ने त कुरै भएन । हाम्रो पालामा जिल्लामा कतै पनि स्कुलहरु खुलेका थिएनन । पढने भन्दा गाउका लेकहरुमा भेडाहरु चराउने नै राम्रो लाग्थ्यो । सानो हुदा मेरो जिम्मामा दुइ सय भेडाहरु थिए । मैले ति भेडाहरु गाउको बिभिन्न लेक हरुमा चराउन लिन्थ्ये र मेरो गोठमै बास हुन्थ्यो । भेडाको उन र भेडाको मासु दुबै बाट धेरै पैसा आउथ्यो ।

त्यो बेला कहिल्र्यै बिरामी पनि भएनन । हाम्रो औषधि भनेको नै मौवाको रक्सी हुन्थ्यो । घर बाट आमाले लेकमा मौवाको रक्सी पठाइ दिएको कुरा अहिले पनि हिजो जस्तै लाग्छ । त्यो रक्सीले बिरामी भएपनि सन्चो बनाउने काम गथ्र्यो । हाम्रो मगरहरुको चलन घर घरमा रक्सी हुनै पर्ने त्यसैले पनि सबैले रक्सी औषधिको रुपमा खानुलाइ अनौठो थिएन । त्यसैले महिला पुरुष सबैले मौवाको रक्सी खोजी खोजी खान्थ्यााै।

अहिलेका जस्ता अनेकाथरी रोगहरु ति गाउमै बनेका रक्सीले निको गरेको जस्तै लाग्छ । अरु समयमा भेडाहरु लेक तिर भएपनि दशै र तिहारमा भेडाहरु घरमा ल्याइन्थ्यो । भेडाको मासु र रक्सी नै दशैमा हाम्रो मुख्य खानपान हुन्थो । आज भोली जस्तो दशै तिहारमा बिकृतिहरु थिएनन । सबैको घरघरमा जस्तो भएपनि खुसि मानेर दशै तिहार मनाइन्थो ।दशैमा नया कपडा फेर्ने त कुरै हुदैन्थ्यो । सबै जम्मा भएर मासु खाने अनि रक्सी खाने नै हाम्रो रमाइलो चाड हुन्थो । खाएर कुनै आज भोली जस्तो कमजोरी ,झगडा हुदैन्थ्यो ।

चाड पर्वको बेला मात्र गाउ आउने नत्र लेक तिरै हाम्रो बास हुन्थ्यो । मैले थाहा पाउदा राणाहरुको निकै डर हुन्थ्यो । छोरी चेलीहरु लाइ राणाहरुले बिर्गाछन ,खसि बाख्रा खाइ दिन्छन भनेर गाउमा हामी जस्ताहरुको बास थिएन । १८ महिना जति राणाहरुको त्रास चल्यो । पछि पंञ्चायत आएपछि अलि केही शान्ति भयो । उतिबेला रुकुमका कुनै पनि ठाँउमा स्कुलहरु थिएनन । हामीलाइ पढने भन्ने कुरा केही पनि थाहा थिएन ।

जसको घरमा बढि बस्तु भाउ छन र कसले बढि काम गर्छ त्यसले धेरै गाउमा चर्चा पाउथ्यो । बस्तु भाउ मात्र हेर्ने काम थिएन । मेरो घरमा बढि काम गर्ने र दुइ दाइको प्यारो बैनि भएकाले घरको अरु कामको पनि जिम्मा थियो । म ६ बर्षको हुदा बाबाको कालगतिले निधन भयो । आमाले कहिले काही घरको काम एक्लै भ्याउनु हुन्थ्यो हामी दाजु बैनि कोइला बास नुन बोक्नु सधै जानु पथ्र्यो । पछि पछि गाउका अरु मान्छे सग म धेर पटक कोइलाबास नुन बोक्नु गएको छु । त्यहा जान आउन एक महिना जति नै लाग्ने ।

मेरो ठुलो उमेर सम्म गोडामा चप्पल नै थिएनन । एक पटक रोल्पाका सार्की दाइ हाम्रो गाउमा आफैले बनाएका जुत्ता र चप्पल बेच्न आए । त्यति बेला सम्म हाम्रो गाउमा कसैको गोडामा चप्पल नै थिएनन । मैले हाम्रो गाबिसमा नै पहिलो पटक जुत्ता चप्पल किने । धेरै समय सम्म लगाउन जानिन बिस्तारै बानि परे । मेरो गोडामा चप्पल देखेर गाउका अरु धेरैले पनि अच्चम माने । पछिपछि जुत्ता चप्पल पनि किने । त्यति बेला जुता लाइ दुइ रुपया पथ्र्यो ।

ति दिन निकै सिधा र लाटा थिए । आज भोली त कसैको भर नै छैन । गाउका मेला पर्वमा सबै मिलेर जाने गरिन्थ्यो । दाइ हरु गाउने र नाच्ने गर्ने, हामी हाम्रो दाइहरुले जितेकोमा निकै खुसि भएर रक्सी दिने गथ्र्यो । एक पटकको लडाइ मलाइ थाहा छ । हाम्रो पुरानो जिल्ला रुकुमकोटमा थियो । हाम्रो लागी त्यो ठाउ निकै नजिक पनि थियो । तर पछि जिल्ला अर्को ठाउमा सार्ने काम भयो । हालको जिल्लाको सदरमुकाम मुसिकोटमा भएपनि पहिले रुकुमकोटमा थियो । मेरो श्रीमान र म पनि मुसिकोट सम्म लडाई गर्दै अगाडी आएका थियौ ।

त्यति बेला नै मेरो कान्छो छोरा जन्मिएको थियो । त्यस्तो सुत्केरी अवस्थामा पनि म जिल्ला अपायक ठाउमा सार्ने कुराको बिरोधमा लडेको थिए । आखिर मुसिकोट सदरमुकाम सारियो ।म चुन्वाङ मै बस्दा धेरै कुरा फेरीए । माओबादीका अध्यक्ष यहा धेरै पटक आए । म रेडियोमा आज भोली सुन्ने गर्छु माओबादीले बेला बेला चुन्वाङ बैठक भन्ने गर्छन । जति बुढी हुदै छु उती नयाँ कुरा देख्दै छु ।
प्रस्तुति ः आदर्श केसी