May 15, 2021, Saturday
२०७८ जेष्ठ २

काेरियामा विदेशी कामदारकाे आज बाट एक वर्ष भिसा थप,इपिएस भिसा अब यस्तो हुने

5.3K

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लान नसकेपछि त्यही रहेका कामदारलाई एक वर्षको थप भिसा दिने व्यवस्था आज बाट लागू भएको छ । सबै कामदारको एक वर्ष कार्यअवधि स्वतः थपिने गरी जारी गरिएको नियम आजबाट (मंगलबार) लागु भएको हाे ।कोरोनाको महामारी सुरु भएपछि कोरियाले नयाँ कामदार ल्याउन ढिलाइ गरिरहेको छ । वार्षिक ५० देखि ६० हजार ईपीएस मार्फत विदेशी कामदार कोरिया आउने भएपनि अहिले नगन्य मात्रामा कामदार कोरिया आएका छन् ।

कार्यअवधि सकिएका कामदार स्वदेश जाने क्रम बढ्दै गएपछि कोरियामा विदेशी कामदारको अभाव हुँदै आएको छ । केही समयअघि पनि कृषि क्षेत्रमा काम गर्ने कामदारको अभावलाई कम गर्न ईपीएस मार्फत यहाँ आएर भिसा सकिएका कामदारलाई कृषि क्षेत्रमै काम गर्ने गरी मौसमी कामदारको एक वर्षको भिसा दिएको थियो ।

तर अन्य क्षेत्रमा पनि कामदार अभाव हुँदै गएपछि अप्रिल १३ देखि आउँदो डिसेम्बरको अन्तसम्म कार्यअवधि सकिने कामदारलाई १ वर्षको भिसा थपिने भएको भएको हो । चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि विभिन्न कारणले स्वदेश फर्कन नसकेकाहरुलाई ५० दिनको भिसा दिँदै आएको छ । यस्ता भिसामा रहेकाहरुलाई पनि १ वर्षको भिसा थपिने भएको छ ।

ईपीएस मार्फत कोरिया आएका कामदारले पहिले ३ वर्ष र कम्पनीलाई कामदार मन परे थप एक वर्ष १० महिनाको बोनस भिसा पाउँदै आएका छन् । अब भने ३ वर्ष कार्यअवधि सकाएकाको स्वतः एक वर्ष कार्यअवधि थप हुनेछ भने बोनस भिसाको रुपमा एक वर्ष १० महिना पनि काम गर्न पाउनेछन् ।

त्यसैले अब ईपीएस प्रणाली मार्फत कोरिया आएका कामदारहरुको कार्य अवधि ५ वर्ष १० महिना हुने भएको छ । साथै पाँच पटक मात्रै कम्पनी परिवर्तन गर्न पाउने नियमलाई थप खुकुलो बनाउँदै पाँच पटक कम्पनी परिवर्तन गरिसकेकाले पनि थप एक पटक कम्पनी परिवर्तन गर्न पाउने भएको छ । मंगलबारदेखि सुरु हुने नयाँ नियमबाट नेपाल लगायत १६ देशका कामदार लाभान्वित हुनेछन् । यो समाचार आजको कान्तिपुरमा छ ।