May 15, 2021, Saturday
२०७८ जेष्ठ २

काँग्रेसकाे राजनीतिक आत्माहत्या यात्रा कर्णाली बाट सुरु

11.6K

कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीकाे पक्षमा विश्वासकाे मत दिएर मुख्यमन्त्री पद जाेगाइदिने नेपाली काँग्रेसकाे निर्णयले कर्णालीका हजारौं काँग्रेस कार्यकर्ताहरु रुष्ट छन् ।काँग्रेसकाे याे निर्णय कुनै काेणबाट पनि काँग्रेस कार्यकर्ताकाे मर्म र हितको पक्षमा नभएको कार्यकर्ताहरुकाे प्रतिक्रिया छ ।काँग्रेसले बेला बेला कम्युनिस्ट सँग सहकार्य गरेर आफ्नै कार्यकर्ताकाे टाउको फुटाउने र हात खुट्टा भाँच्नै राजनीति सुरु गर्दै आएको छ ।अझ माओवादी सँग सहकार्य गरेर कर्णालीका जिल्लामा बचेको इमानदार नेपाली काँग्रेसका कार्यकर्ताहरुकाे मनमा गम्भीर चाेट दिएको छ ।यतिबेला कर्णालीका काँग्रेस कार्यकर्ताकाे आत्मामा चाेट आफ्नै पार्टीले दिएको छ, भने भाैतिक रुपमा चाेट आगामी चुनावमा यी नै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा माओवादीका कार्यकर्ताहरुले दिने छन् ।

कर्णालीका जिल्लामा जति काँग्रेस समर्थक र कार्यकर्ता छन्,प्रत्येकको घरमा माओवादीले विगत देखि हाल सम्म दिएका पीडा,यातना र दुखका कथाहरू छन् ।यहि कारणले कर्णालीका काँग्रेसहरु माओवादी सहकार्य मन पराउदैनन् ।उदाहरणकाे लागि भर्खरै सम्पन्न पत्रकार महासंघकाे चुनावलाई लिन सकिन्छ ।माओवादी निकट पत्रकारसँग सहकार्य गर्ने काँग्रेस निकट प्रेस युनियनको केन्द्रीय निर्देशनकाे कर्णालीका केही जिल्लाले कडा प्रतिकार गरे ।याे चानचुने विषय थिएन ।सल्यान रुकुममा युनियनको केन्द्रीय निर्देशनलाई घाममा सुकाएर अर्को गठबन्धन गरे ।अनि त्यहाका काँग्रेस निकट पत्रकारहरुले चुनाव जिते ,नेतृत्व हातमा पनि लिए ।यदि केन्द्रीय गलत निर्देशन मानेको भए यस्ता जिल्लामा काँग्रेस निकट पत्रकारहरु अझै दबिएर बस्ने थिए ।यस्तो निर्णयमा पत्रकारहरु सँग पनि विगतको पीडा अझै कायम छ भन्ने अर्थ हाे ।

कर्णालीका जिल्लामा माओवादीले गर्ने भाैतिक आक्रमणले न शेर बहादुर देउवालाई दुख्छ ,न रामचन्द्र पाैडेललाई दुख्छ ? न त काठमाडौंकाे काँग्रेसलाई दुख्छ ? शान्ति प्रक्रियाका यत्राे वर्ष कर्णालीका काँग्रेस कार्यकर्ताले राजनीतिक आस्थालाई अझै बन्दी बनाएर राखेका छन् ।खुलेर नेपाली काँग्रेस म हु भन्न सक्ने वातावरण छैन् ।कर्णालीका १० जिल्लाका स्थानीय तहमा कम्युनिस्टको सत्ता अझ त माओवादीकाे सत्ता छ ।ती ठाउँमा काँग्रेस कार्यकर्ताहरुले राज्यको सेवा सुविधा पाउने कुरामा विभेद छ ।सामान्य सिफारिस देखि अन्य अनुदान पाउने कुरामा छानिछानि काँग्रेसलाई दिइदैन ।यस्तो विभेदकारी सेवा प्रवाहबाट कर्णालीका काँग्रेस कार्यकर्ता पीडित छन् ।

यस्ता पीडाहरु कर्णाली प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई थाहा नभएको मात्रै हाेइन,सायद उनले पनि अनुभव गरेको पीडा हाे ।तर पनि उनलेे महेन्द्र बहादुर शाहीलाई समर्थन गर्नु समग्र नेपाली काँग्रेस कार्यकर्ताहरुकाे अपमान हाे ।एउटा शाहीले अर्को शाहीलाई समर्थन गर्नु राजनीतिक रणनीति,सुहाउँदो राजनीति सहकार्य भन्दा पनि जातिय निकटता ,जातिय आत्मियताकै कारणले यस्तो गरिएकोले यसलाई कुनै अनाैठाे राजनीतिक रणनीति मान्न सकिँदैन ।विगतमा माओवादीले काँग्रेस भएकै कारणले टाउका काटिएका काँग्रेसका सहिद परिवार ,घाइते अपांग ,बेपत्ता परिवार अझै इमानदारीपूर्वक नेपाली काँग्रेसमै छन् ।तर ती परिवारकाे भावना र सहिदको रगत पसिनाकाे अपमान गर्दै काँग्रेस कहिलेकाहीँ कम्युनिस्टको बाटोमा हिड्छ ।कहिलेकाहीँ कम्युनिस्टलाई बुई चढाएर सत्ता टिकाईदिन्छ ।आज यहि नियतिकाे अर्को यात्रा काँग्रेसले कर्णाली बाट फेरि सुरु गरेको छ ।

याे यात्रा नेपाली काँग्रेसकाे अर्को राजनीतिक आत्मा हत्याको यात्रा हाे ।याे यात्रा काँग्रेसले देशभर लागु गर्छ हाेला ।काँग्रेसकाे यस्तो कदमले काँग्रेसलाई कुनै फाइदा र राजनीतिक लाभ कदापि हुने छैन् ।काँग्रेस कर्णालीमा अझ कमजोर हुनेछ भने काँग्रेस कार्यकर्ताहरु राजनीतिक रुपमा थप विस्थापित हुनेछन् ।भविष्यमा कम्युनिस्टहरु बलियो हुने वातावरण काँग्रेस स्वयंले बनाइदिदै छ ।काँग्रेसकाे याे रणनीतिले नेकपा एमालेलाई फुटाएर माधव झलनाथहरुलाई प्रचण्ड सँग एकताकाे लागि बाटो सजिलो बनाइदिने छ , र उनिहरुले भन्दै आएको वामपन्थी एकता र बृहत कम्युनिस्ट एकता सफल हुनेछ ।केपी ओलीकाे कदमले साइजमा आएको नेकपालाई थप व्यवस्थापन कसरी गर्ने भन्ने बुद्धि काँग्रेसमा नहुदा प्रचण्डलाई स्वत फाइदा हुनेछ ।

माधव ,झलनाथ र प्रचण्डकाे राजनीतिक स्वार्थको भर्याङकाे रुपमा नेपाली काँग्रेस प्रयोग भएको छ।एमाले बाट विद्रोहकाे कर्णालीमा नेतृत्व गरेका सांसद प्रकाश ज्वालाले स्वयम भनेका छन् याे कदमले केपिलाई विस्थापित गरेर माधव ,झलनाथ र प्रचण्ड मिलाउने छ ।यस्तो अवस्थामा काँग्रेसलाई के फाइदा हुने त ? बरु काँग्रेसले फेरि कम्युनिस्ट मिलाइदिन सहयोगी भूमिका निर्वाह गर्दै छ ,यसको गलत सुरुवात कर्णालीबाट भयो ।