October 22, 2020, Thursday
२०७७ कार्तिक ७

साेती काण्ड : २ जनाको शव फेला ,चार जना अझै बेपत्ता , वडा अध्यक्ष सहित केही नियन्त्रणमा

2.1K

अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटमा हत्या गरिएका २ जनाको मात्रै शव फेला परेको छ भने चार जना युवाहरु अझै बेपत्ता छन । शनिबार साँझ केटी लिन रुकुमको चाैरजहारि नगरपालिका ८ पुगेको समयमा गाउँलेहरुले लखेटेर भेरिमा खसाल्दा निधन भएका भेरी नगरपालिका ४ का २१ बर्षका नवराज विककाे र चाैरजहारि नगरपालिका ४ का २० बर्षका टिकराम बिककाे शव फेला परेको हाे ।नवराज काे आइतबार बिहान र टिकरामकाे साँझ भेरि किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको आराेपमा छानवीनकाे लागि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडा ८ का अध्यक्ष सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित ७ जनालाई आइतबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । बिष्टका अनुसार घटनाको अनुसन्धानकाे लागि साेमबार बिहान पनि केही गाँउलेलाई नियन्त्रणमा लिएर प्रहरी घटना स्थल कार्यालयमा पुगेको बताए ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार  १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको सहित ६ जना भेरी नदिमा बेपत्ता भएका थिए ।इलाका प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विकको अवस्था साेमबार बिहान सम्म अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको छ ।

सुस्मालाई लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको  छ ।  पीडितपक्षले भने हत्या गरेर भेरीमा फालिदिएको दावी गरेका छन् ।नवराज सहितको युवा समुहलाई  तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जबरजस्ती लान खोज्दा विवाद भएको दावी गरेका छन् । उक्त घटनाको देशभर बाट बिराेध भैरहेको छ ।विभिन्न अधिकारबादि संघसंस्थाहरुले दाेषिलाई कार्वाहीकाे दायरामा ल्याउन प्रशासनलाई अनुरोध गरेका छन ।
 

Recent Update