June 23, 2021, Wednesday
२०७८ असार ९

जेठ १८ गते बाट अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारीमा नेपाल सरकार

407

आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।कोरोना सङ्क्रमण रोकथामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ, तर यो कुरा मन्त्रालयले मात्र निर्णय गरेर हुने चाहिँ होइन ।’नेपालमा नयाँ भेरियन्टसहितको कोराेना सङ्क्रमण फैलिएपछि सरकारले गएको वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो ।

तर उडान लामो समय रोकिँदा विभिन्न देशमा नेपाली नागरिकहरू अलपत्र परेका छन् । देश अनुसार हप्तामा केही उडान भएमा पनि टिकट काटेर पनि घर फर्कन नपाएका नेपालीहरूलाई सहज हुनेछ । यस्तै सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्न अनुमति दिएको छ । तर नेपालमा रोकिएका भारतीय नागरिक लिएर साउदी अरब जाने नेपाली जहाजहरू रित्तै फर्कने भएका छन् ।