November 27, 2020, Friday
२०७७ मंसिर १३

अपमानको घाउ

834

बिनाराम खड्का

अपमानको घाउ चहराउँदैछ
विभेदको पिडा बल्झिदैछ
जित र हारको अनन्त प्रवाह
प्रतिरोधको आगो सल्किदैछ !

मैले बुझेको सरल कुरा
सँसार साझा हो
पृथ्वी सबैको हो
देश मेरो पनि हो
सरकार¸ न्यायालय
अनि सिङ्गो राज्य संयन्त्र
सबै नागरिकको
अभिभावक हुनुपर्ने हो
मन्त्री¸ सभासद
अनि दलका नेताहरु
समाजकै नेता हुँदा
मेरा पनि नेता हुनुपर्ने हो
सिङ्गो राज्ययन्त्र र सरकारले नै
व्यक्ति व्यक्ति वीचमा
एकतर्फी विभेद र
हाकाहाकी अन्याय
नगर्नुपर्ने हो !

घाम¸ पानी¸ हावा र श्रृष्टी
सिङ्गो प्राणी जगतको हो
तिम्रो निधारमा जितैजित
मेरो तक्दिरमा हारैहार
नहुनुपर्ने हो
निरन्तर निरन्तर
मात्र तिमी
अनि तिम्राहरु
विजयको घोडामा सवार
अरु सबै आज्ञापालक
दास र अनुचर
नहुनुपर्ने हो !

मैले बुझेको सोझो कुरा
घोडामा चढेको बादशाह
कुनै दिन अवश्य पनि
भुइमा ओर्लिनुपर्ने हो
आफु मात्रै चढिरहन खोजे
कुनै दिन
जवर्जस्त माटोमा
न्याँकिनु पर्ने हो
चर्को घाम पनि
अवश्यमेव एकपल
डाँडापारी शुन्य क्षितिजमा
अस्ताउनै पर्ने हो
निष्पट्ट अन्धकार चिर्दै
उंज्यालो विहानी
हरेक विहान
झुलुक्क गर्दै
अँध्यारा कोप्चेरा
अनि कुनाकन्दरासम्म
झुल्किनै पर्ने हो
तिम्रो भागमा जितैजितै
मेरो भागमा हारैहार
प्रकृतिको खेलमा
नहुनुपर्ने हो !

तिमी जति विभेदकारी भए पनि
मेरो अदम्य विश्वास
प्रकृति सर्वदा निष्पक्ष
श्रृष्टीका नियम सरल र सोझा
हुनैपर्ने हो
हार र जित
अनि जित र हार
उकालो ओरालो
अनि शिखर र मैदान
परापुर्वकालदेखि नै
चलिरहेका छन् निरन्तर
भविष्यका मोडहरुमा पनि
यी नियमहरु
चलिरहनुपर्ने हो
प्रकृतिको निर्मम नियम
तपाइको नियतजन्य इशारामा
नचल्नुपर्ने हो !

कैयन कुरा अज्ञेय हुदाहुदै
प्रकृतिका सबै रहस्यहरु
फर्दाफास नभएपनि

मेरो अज्ञानता
मेरो कमजोरी
मेरो अल्पज्ञान
मेरो दिग्भ्रम
श्रृष्टी अदभुत
सत्यता अपरम्पार
हुनैपर्ने हो
प्रकृति र श्रृष्टी जगतले
महाराजा¸ वादशाह र सम्राट
नचिन्नुपर्ने हो
दास¸ नोकर र रैती भनेर
छोइछिटो र विभेद
नगर्नुपर्ने हो !

प्रकृतिले पनि
विभेद र अन्याय
नगर्नुपर्ने हो
यसका अकाट्य नियमहरु
सबैमा संधैभरी
एकनास प्रवाहित
हुनैपर्ने हो
प्रकृतिलाई घुमाउने
सत्यलाई बङ्ग्याउने
अनि
आफ्नै दुनो सोझ्याउने
तिम्रा कपटी आकाँक्षाहरु
चराचर जगतमा
कुनै दिन कुनै पल
छरपष्ट र पर्दाफास
हुनैपर्ने हो !

संसार दिग्विजय गर्नेहरु
उत्तरार्धमा पुगेर
छ फिट जमिनमै कुहिन
विवश र वाध्य भएझैँ
अन्यायलाई पुरुषार्थ ठान्नेहरु
भित्रभित्रै सड्नुपर्ने हो
अरुलाई विभेद गर्नेहरु
बाँचेर पनि मर्नुपर्ने हो
एउटै हातमा
डाडु¸ पन्यु र न्यायका तराजु बोकेर
सत्ता¸ शक्ति र पहुँचको आडमा
विभेदकारी फैसला गर्नेहरु
आफैभित्र हरपल हरक्षण
उकुसमुकुस हुँदै
अनन्त पिडामा
छट्पटिनुपर्ने हो !

हार पछि जित
र जित पछि हार
हुनैपर्ने हो
जित जहिलेपनि
अल्पकालीन र आवधिक
जितको उन्मादमा
तिखारिएका नङ्ग्राहरु
प्रकृतिकै नियम अनुसार
एकदिन भुत्ते
हुनैपर्न हो !

कुनै दिन कुनै क्षण
कुनै पल कुनै घुम्तीमा
पिडितको ठाउंमा पिडक
झर्नैपर्ने हो
निमुखाको पिडा
भोग्नैपर्ने हो
विभेदका फणा उठाउंदै
अट्टहास आनन्द भोग गरिरहेका
अपराधिक मच्छडका
परजिवी सुइरा
अनि
परपिडक सोँचहरु
समयको प्रवाहमा एकदिन
तहसनहस र ध्वस्त
हुनैपर्ने हो !

[पुनश्च: उपरोक्त कविता कोही कसैप्रति लक्षित छैन ! प्रसंग मिलेमा संयोग मात्र हुनेछ ! धन्यवाद]

Recent Update