October 30, 2020, Friday
२०७७ कार्तिक १४

काँग्रेस ढिला नगरी कृष्णप्रसाद भट्टराईको बाटोमा हिड्नु पर्छ

2.1K

रामचन्द्र घिमिरे

यतिबेला विश्वले काेराेना भाइरस महामारीको सामना गरिरहेकाे छ ।नेपाल पनि भाइरस सँग जुध्दै लकडाउन अवस्थामा छ ।याे लकडाउनमा मानिसहरु आ-आफ्नै तरिकाबाट समय विताइरहेका छन ।यसै सन्दर्भमा हामीले नेपाली काँग्रेसकाे राजनीति इतिहासलाई राम्रोसँग अध्ययन गर्नु भएको एकजना ब्यक्तित्व लेखक नेपाली काँग्रेसका युवा नेता रामचन्द्र घिमिरे सँग लकडाउन संवाद गरेका छाै । विषेश गरि फुर्सदमा उहाँले अध्ययन गर्नु भएको नेपाली काँग्रेसकाे इतिहास रचियता सन्त ब्यक्तित्व कृष्णप्रसाद भट्टराईकाे बारेमा उहाँलाई भएको अध्ययन जानकारी याे संवादमा समाबेश गर्ने प्रयास गरेका छाै ।
सम्पादक

लकडाउनको समय कसरी विताई रहनु भएको छ ?

घरमा नै बसेको छु । नरहरि आचार्यसँग संगत गर्न पाएको हुँदा अहिले पनि उहाँले जस्तै मैले पनि दैनिक रुटिङ्ग बनाएर आफ्नो दिन विताएको छु । विहान उठेपछि बेलुका सुत्ने बेलासम्म उहाँले पनि आफ्नो रुटिङ्ग बनाएर हिड्नु हुन्थ्यो । मैले पनि त्यहि गरेको छु । यसो गर्दा समयको सदुपयोग र जतिखेर पनि केहीन केही गरु भन्ने उत्साह आउने रहेछ । चैत १० गतेदेखि घरमा नै छु । पहिला नियमित नरहरि आचार्य ज्यूको घरमा जान्थे । उहाँले प्रत्येक शनिवार २०७६ बैशाखदेखि एउटा छलफल कार्यक्रम पनि चलाउनु भएको थियो । चैत १० गतेबाट त्यो कार्यक्रम कोभिड–१९का कारण बन्द भएको छ । अहिले फोनबाट मात्र कुरा गरेको छु । घरमा बसेर पढेको छु, लेखेको छु, साथीहरु सँग कुरा गरेको छु । यसरी नै दिनहरु वितिरहेका छन् । मेरो दैनिकी व्यस्त नै छ भन्नु पर्दछ ।

कोभिड् १९ को महामारिमा एक सामाजिक कार्यकर्ताका रुपमा के के गर्नु भयो ?

अत्यन्तै सान्दर्भीक प्रश्न सोधिदिनु भयो । सुरुको २ हप्ता यसै घर बसियो, यो ठिक भइ हाल्छ भनेर । तर त्यसपछि समय थपिदै गयो । हामीले पनि घरघरमा डाक्टर पु¥याउनु प¥यो भनेर कार्यक्रम बनायौं । एउटा कार्यक्रम थर्मामिटर लिएर घरघरमा पुगेर परिक्षण गरियो । अहिले पनि साथीहरुले आवश्यक भएको ठाउँमा फोन गरेर बोलाउनु हुन्छ, त्यहाँ हामी उपस्थित भएर सेवा दिन्छौं । यसमा डा.प्रकाश र नर्स रजनी श्रेष्ठ टिममा हुनुहुन्छ । अर्को हामीले २०७७ बैशाख १ गतेदेखि कोभिड्–१९ बहस कार्यक्रम भनेर फेसबुकबाट प्रत्यक्ष लाईभ कार्यक्रम चलाएका छौं । यसमा प्याथोलोजि डाक्टर, आर्युवेदिक डाक्टर, प्राकृतिक डाक्टर, योगा डाक्टर सामाजिक संजालमा जोडिएर त्यहिबाट साथीहरुले सोध्नु भएको प्रश्न सोधेर उत्तर उहाँहरुलालई दिन भन्छौं । त्यसैगरी यहि कार्यक्रममा हामीले एक जना पत्रकारलाई पनि ल्याउछौं । उहाँलाई पनि सामाजिक संजालबाट सोधीएकै प्रश्न सोध्छौं र उहाँले उत्तर दिनु हुन्छ । यसरी कार्यक्रम गर्दा कोभिड्–१९ भाइरसको ज्ञान, स्वस्थ रहने टिप्स, खानपिन र समाजमा घटिरहेका घटनाहरुका बारेमा घरमा नै बसिरहनु भएका साथीहरुसम्म यि कुरा पु¥याएका छौं । यस्तो काम गर्न जानेको पनि नरहरि आचार्यसँग बस्दा उहाँले आफै काम निकाल्न जान्नु पर्दछ र धेरैलाई राम्रो हुने काम गर्नुपर्छ भन्नु हुन्थ्यो । त्यसैले यस्तो काम गरिएको छ । यसै विचमा नेपाल भारत सीमा विवाद पनि आयो । त्यसमा पनि वरिष्ठ कुटनीतिज्ञ, विद्वान डा. जयराज आचार्यसँग सामाजिक संजाल माफर्त लाईभ कार्यक्रम पनि ग¥यौं । हाम्रो यो काममा सामाजिक अभियन्ता एवं नेपाली काँग्रेसको नेता रजनी थापा हुनुहुन्छ भने अर्को साथी समाजसेवी, स्थानीय काँग्रेस नेता अनिष श्रेष्ठ हुनुहुन्छ र उहाँहरुसँगै म पनि छु ।

नेपाल भारत सीमा विवादका विषयमा डा.जयराज आचार्यले के भन्नु भयो त ?

नेपाल भारत सीमाको समाधान खोज्ने भनेको वार्ताबाट नै हो । वार्ता पनि युद्ध नै हो । आफुसँग भएका कागज पत्रहरु आदान प्रदान गर्ने । ति कागजहरु सही हुन् कि होइनन् भनेर परिक्षण हुन्छ । उत्ताउलो भएर मात्र हुँदैन । सीमाको निर्धारण दुई किसिमबाट हुन्छ युद्ध कि कुटनीतिक वार्ता । हामीले इतिहासमा लडाई लडेको हो । त्यसैका आधारमा सन्धीहरु पनि भएका छन् । संसारमा कुटीतिलाई पनि लडाइनै मानिन्छ । तर यो हतियारको नभई डकुमेन्ट र संवादको लडाई हो । शिष्ट, सभ्य रुपले आफ्ना कुराहरु प्रमाण पु¥याएर राख्नु पर्छ । सगरमाथामा पनि विवाद थियो । वीपी कोइरालाले प्रधानमन्त्री जाउएनलायीलाई आफ्ना प्रमाणहरु दिनुभयो, वार्ता गर्नुभयो, माओसँग चीनमा नै राति होटलमा लामो संवाद भएको छ । चीन सरकारले उहाँसँगको संवाद किताव नै बनाएर निकालेको छ । चीनले नेपालको हो भनेर स्वीकार्ने परिस्थिति वीपी, यदुनाथ खनालहरुले बनाउनु भयो । आजको दिनमा पनि कुटनीतिमा यदुनाथ खनाललाई सम्झनै पर्दछ । उहाँले देखाएको बाटो आज पनि हाम्रो लागि उपयोगी हुन्छ । त्यसैले पहिला नेपालका प्रधानमन्त्रीले यो कुरालाई गम्भीर रुपमा लिएर संवाद अघि बढाउन जागरुक हुनुप¥यो । आफ्ना कुराहरु प्रमाण सहित भन्न प¥यो । भारत, चीन ठूला राष्ट्र हाम्रा छिमेकी छन् । उनीहरुसँग कुटनीतिक संवाद गर्न सक्ने हैसियत हामीले आर्जन गर्नुपर्दछ भन्नु भयो ।

तपाईले किताव पढेको कुरा गर्नु भएको थियो के पढ्दै हुनुहुन्छ यतिखेर ?

यतिखेर म कृष्णप्रसाद भट्टराई (किसुनजीं)लाई पढ्दैछु । म सँग भएका किताव र प्रविधिमा रहेका कितावहरु दिनदिनै पढिरहेको छु । एक प्रकारले कृष्णप्रसाद भट्टराईको जन्मदेखि अन्तिम विश्राम नलिदासम्म निरन्तर गरेको काम वा भनौं उहाँको जीवनलाई एक–एक गरि पाएसम्म पढेको छु ।

अध्ययन बाट कृष्णप्रसाद भट्टराईको जन्म, बाल्यकाल र शिक्षाको अवस्था बारेमा कस्तो पाउनु भयो ?

कृष्णप्रसाद भट्टराई (किसुनजी)को जन्म वि.सं. १९८१ पुष ८ गते (१३ डिसेम्बर १९२४) पिता संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोराका रुमा भारतको बनारसमा भएको थियो । बनारसमा जन्मेका कृष्णप्रसाद भट्टराईको बाल्यकाल सामान्य रुपमा यहि बित्यो । यिनको शिक्षा बनारसका विद्यालयमा प्रारम्भ भएर काशी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा बि.ए.सम्मको अध्ययन पुरा गरेका थिए । सोही विषयमा एम.ए.को अध्ययन पनि पुरा गरिसकेका थिए । तर भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राउ परे । जसले गर्दा एम.ए.को परिक्षा दिनबाट बञ्चित हुनुप¥यो । कृष्णप्रसाद भट्टराईलाई सानैदेखि पत्रकारीताप्रति रुचि थियो । युवा अवस्थामा नै पत्रकार भएर तत्कालिन सोभियत संघ, कम्युनिष्ट पार्टीका महासचिव निकिता खुश्चेभको अन्तर्वाता दिने प्रथम विदेशी पत्रकार बनेका थिए ।

कृष्णप्रसाद भट्टराईकाे इतिहास राम्रोसँग अध्ययन गर्नु भयो भट्टराईकाे राजनीतिमा सकृयता कसरी सुरु भएको रहेछ ?

कृष्णप्रसाद भट्टराईका हजुरबुवा पं.विश्वनाथ भट्टराई राणा प्रधानमन्त्री वीर समशेरको बक्रदृष्टिमा परेर सबै परिवार भारत निर्वासनमा जानु परेको थियो । बनारस पुगेपछि  हजुरबुवा पं.विश्वनाथ त्यहिबाट विहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे । कृष्णप्रसाद भट्टराईका पिता संकटाप्रसाद पनि तिनै रामनगर राज्यका राजाको पुरोहित भए । यिनका चारैभाइ छोराहरु बनारस बसेर अध्ययन गर्दथे । यहीबाट यी चारैजना दाजुभाइ भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भए । दाइहरुको प्रेरणा र प्रभावले गर्दा कान्छा कृष्णप्रसाद भट्टराई राजनीतिमा सक्रिय हुँदाहुदै अगुवा हुन पुगे ।

कृष्णप्रसाद भट्टराईले विद्यार्थी राजनीति कसरी गरेकाे पाउनु भयो अध्ययनमा ?

कृष्णप्रसाद भट्टराई सन् १९४२ मा अंग्रेज भारत छोडो भन्ने स्वतन्त्रताको आन्दोलनमा सक्रिय भएर सहभागी भएपछि पहिलो पटक अंग्रेज सरकारबाट पक्राउमा परेका थिए । सन् १९४५ मा बनारस हिन्दु विश्वविद्यालयमा नेपाल छात्र संघको उपाध्यक्ष बने । उपाध्यक्ष भएपछि नेपालबाट पढ्न गएका नेपाली विद्यार्थीहरुलाई राजनीतिक चेतना जगाउने काममा सक्रिय भएर लागे । त्यसपछि विद्यार्थीहरुका विचमा नेपालको निंकुश राणा शासनको अन्त्य गर्नु पर्ने सम्बन्धमा छलफल हुन थाल्यो । कृष्णप्रसाद भट्टराईको विद्यार्थी राजनीतिले नेपालको राणा  शासन ढाल्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपाल छात्र संघको उपाध्यक्ष भएका कृष्णप्रसाद भट्टराई पार्टी राजनीतिक सकृयताकाे बारेमा तपाईंले प्राप्त गरेको ज्ञान के हाे ?

वि.सं. २००३ सालमा वीपीले सर्चलाइट मार्फत गरेको अभियानमा कृष्णप्रसाद भट्टराई सहभागी भए । पहिलो पटक वि.सं. २००३ सालमा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । यसको उद्देश्य नेपालमा १०४ वर्षदेखि शासन गर्दै आएको राणा शासनको समाप्त गरेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्रको स्थापना गर्नु थियो । देवीप्रसाद सापकोटाको सभापतित्वमा बसेको पहिलो भेलामा कृष्णप्रसाद भट्टराई महामन्त्री रहेको भन्ने पनि सुनिन्छ । तर दोस्रो २००३ माघमा कलकत्ता भेलाबाट बनेको नेपाली राष्ट्रिय काँग्रेसको कृष्णप्रसाद भट्टराई संगठन मन्त्रीको पद समालेका थिए । यसपछि विद्यार्थी संगठनलाई पार्टी संगठनमा रुपान्तरण गरेर नेपालमा रहेको राणा शासनको समाप्ति गर्ने कार्यमा कृष्णप्रसाद भट्टराई अघि बढे ।

पार्टी गठन पछिको राजनीतिलाई कृष्णप्रसाद भट्टराईले कसरी अघि बढाएकाे पाउनु भयो ?

वि.सं. २००६ चैतमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाली प्रजातन्त्र काँग्रेसको एकीकरण हुने चर्चा व्यापक चल्यो । यि दुबै पाटी एकीकरण गरेर नेपालको राणा शासन ढाल्न सकिन्छ भन्ने दृष्टिकोण कृष्णप्रसाद भट्टराईमा थियो । यस कामका लागि नेपाली राष्ट्रिय काँग्रेसबाट वीपी कोइरालाले अग्रसरता लिएका थिए भने नेपाली प्रजातान्त्रिक काँग्रेसबाट सुवर्ण शंशेरले अग्रसरता लिएका थिए । दुबैलाई सहयोग पुग्ने गरी आफ्नो संगठनलाई कृष्णप्रसाद भट्टराईले अघि बढाए । फलस्वरुप परिणाम दुबै पार्टीको एकीकरण भएर नेपाली काँग्रेस बन्यो । वि.सं. २००६ चैतमा गठन भएको नेपाली काँग्रेसको सहमहामन्त्री बने । नेपाली कांग्रेसको यो महाधिवेशनले सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । साथै क्रान्तिको उद्देश्यका रुपमा विधान परिषद्को निर्वाचन गर्ने घोषणापत्र जारी ग¥यो । वि.सं. २००७ सालको क्रान्तिमा जनकपुर, उदयपुरका कमाण्डर बनेका थिए । फलस्वरुप जनकपुर र उदयपुर कृष्णप्रसाद भट्टराईको कमाण्डरमा मुक्ति सेनाले कब्जामा लिन सफल भयो । अन्तत्वगत्वा नेपालको राणा शाशन ढल्यो । २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । वि.सं. २००७ सालको क्रान्तिमा कृष्णप्रसाद भट्टराईको भूमिका महत्वपूर्ण रहेको थियो ।

२००७ सालको क्रान्ति सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका कृष्णप्रसाद भट्टराईले काँग्रेसको राजनीतिलाई कसरी अघि बढाए ?

२००७ सालको क्रान्तिमा अग्रभागमा रहेर सशस्त्र क्रान्ति गरेका कृष्णप्रसाद भट्टराईले आफ्नो भूमिका स्वतन्त्रता र प्रजातन्त्रका लागि नै निरन्तर अघि बढाई रहे । प्रजातन्त्र स्थापना पछि २००८ सालमा प्रथम पटक गठन गरिएको सल्लाहकार सभाको अध्यक्ष भएर महत्वपूर्ण भूमिका खेले । राजा त्रिभुवनले २००७ सालको उपलब्धि चुनावलाई आलटाल गरिरहेको देखेर अब पनि आन्दोलन अघि बढाउनु पर्छ भनेर निरन्तर लागि राखे । त्यसपछि भएको भद्र अवज्ञा आन्दोलन, सत्याग्रहमा अग्रभागमा रहेर काम गरे । प्रजातन्त्रको स्थायित्वका लागि काँग्रेस पार्टीले आन्दोलन गर्नु पर्छ यसको विकल्प छैन भन्ने कृष्णप्रसाद भट्टराईको दृष्टिकोण थियो । सोही अनुरुप काँग्रेस पार्टीको गतिविधि तिब्र रुपमा बढी रहेको थियो । राजा त्रिभुवनको निधन पछि महेन्द्र राजा भए । उनले पनि चुनाव टार्न र आफै शक्तिको स्रोत हुँ भन्न थाले पुनः काँग्रेसले आन्दोलनको कार्यक्रमहरु अघि बढायो । अन्ततः बाध्य भएर राजा महेन्द्रले चुनावको घोषणा गरे । काँग्रेस विधानसभाको चुनाव चाहन्थ्यो । कृष्णप्रसाद भट्टराईले पनि विधानसभाको चुनाव हुनुपर्छ भने । यसको निर्णय गर्न पार्टीको सम्मेलन गरियो । प्रजातन्त्र बलियो बनाउन भन्दै काँग्रेसले चुनावलाई स्वीकार ग¥यो । वि.सं. २०१५ सालको चुनावमा कृष्णप्रसाद भट्टराई गोर्खाबाट चुनाव लडे ।

वि.सं. २०१५ सालको निर्वाचन पछि गठित संसदको सभामुखको भूमिकामा कृष्णप्रसाद भट्टराई थिए होइन ?

हो, विं.सं. २०१५ सालमा निर्वाचन सम्पन्न भएपछि राजा महेन्द्रले १ वर्षसम्म संसद चल्न र सरकार बन्न दिएनन् । त्यसपछि २०१६ सालमा प्रतिनिधिसभाको सभामुख कृष्णप्रसाद भट्टराई भए । सरकार सत्ता पक्षको र संसद् प्रतिपक्षको  हुन्छ भनेर कृष्णप्रसाद भट्टराईले प्रतिनिधिसभा चलाएका थिए । प्रधानमन्त्री वीपी कोइरालाले प्रतिपक्षका सबै प्रश्नको उत्तर नियमित दिनु पथ्र्यो । कृष्णप्रसादको यही मान्यता अनुसार वीपीले पनि प्रतिपक्षलाई अत्यन्तै सम्मान गरेको इतिहास पाइन्छ । त्यस बखत प्रतिपक्ष र सत्ता पक्ष दुबै जनताको अधिकारको लागि सचेत भएको र आ-आफ्नो ठाउँबाट काम गरेको प्रसस्त भेटिन्छ । जब वि.सं. २०१७ पुष १ गते राजा महेन्द्रले प्रधानमन्त्री, सभामुख, नेताहरुलाई थुन्ने, मन्त्री थुन्ने, सांसद थुन्ने र प्रतिनिधिसभा विघटन गरे यसमा सत्तापक्ष, प्रतिपक्ष सबैले यसको विरोध गरे । यही घटनाले प्रतिपक्ष र सत्ता पक्षको पार्टी एकीकरण पनि भएको थियो ।

वि.सं. २०१७ पुष १ गतेको घटनाको जुन घटना इतिहासमा सम्झने गरिन्छ खास के हाे त्यो घटना ?

वि.सं. २०१७ पुष १ गते नेपाल तरुण दलको  अधिवेशन उद्घाटन कार्यक्रम थियो । उक्त कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री वीपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह लगायतका नेताहरु थापाथलीमा जम्मा भएका थिए । त्यसै समयमा राजा महेन्द्रले राणा शासनको  शैलीमा सैनिकको बलले वीपी, कृष्णप्रसाद, गणेशमान लगायतका नेताहरुलाई नियन्त्रणमा लिएर सभा स्थलबाट हिडे । यसले देशभर त्रासको बातावरण सृजना ग¥यो । प्रधानमन्त्री, सभामुख, मन्त्री थुन्ने र संसद भङ्ग गर्ने काम महेन्द्रले गरे । पार्टीहरु माथि प्रतिबन्ध लगाए । हजारौं मानिसलाई थुने, महेन्द्रले हत्या हिंसाको राजनीतिलाई अगाडि बढाए । वि.सं. २०२५ सालमा वीपी, गणेशमान ८ वर्षको जेल जीवन पछि रिहा भए । कृष्णप्रसाद भट्टराईलाई महेन्द्रले छाडेनन् । यसको २ वर्ष पछि वि.सं. २०२७ सालमा कृष्णप्रसाद भट्टराईलाई महेन्द्रले जेल मुक्त गरे । आफु जेल मुक्त हुने वित्तिकै कृष्णप्रसाद भट्टराईले २०२७ बैशाख ६ गते नेपाल विद्यार्थी संघको गठन गरे । दल माथि राजाले लगाएको प्रतिबन्धका कारण नेविसंघले पंञ्चायतकालभरी काँग्रेसको विकल्प भएर आन्दोलन गरिरह्यो ।

वीपी कोइरालालाई भन्दा बढी जेलमा कृष्णप्रसाद भट्टराईलाई राजा महेन्द्रले राख्नुको कारण के रहेछ ?

कृष्णप्रसाद भट्टराईले नेपाली काँग्रेसको स्थापना भएदेखि नै वीपी कोइराला, सुवर्ण शंशेर र गणेशमान सिंह सँग समान रुपले काम गर्दै आएका हुन् । कृष्णप्रसाद भट्टराई २००७ सालको क्रान्तिमा सशस्त्र क्रान्तिको मोर्चा समाले पनि शान्तिपूर्ण आन्दोलनको पक्षमा सधै रहे । राजा महेन्द्रले जेल हाले पछि म निर्दोष छु, के कारणले राजाले मलाई थुने त्यसको जवाफ उनले दिनु पर्दछ । म छुट्नका लागि कुनै प्रयत्न गर्दिन । मलाई किन समातियो र किन छोडिदैछ राजाले यसको उत्तर दिनु पर्छ भन्ने भनाई भट्टराईको थियो । कृष्णप्रसाद भट्टराई अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र पुनस्थापना गर्न सकिन्छ भन्नेमा दृढ निश्चयी थिए । त्यहि दृढ अठोट र संकल्प बोकेर करिव डेढ दशक जेल जीवन बिताए । कृष्णप्रसाद भट्टराईले शान्तिपूर्ण जनआन्दोलन र जेलबाट नै परिवर्तन सम्भव छ भनेर निरन्तर लागे । अन्य नेता र उनमा यो विषयमा विवाद जस्तो पनि देखिन्थ्यो, काँग्रेसले समय समयमा सशस्त्र क्रान्ति पनि गरिरह्यो । २००७ साल पछिको कुनै पनि सशस्त्र क्रान्तिमा कृष्णप्रसाद भट्टराई सहभागी भएनन । उनी निर्वासन पनि कहिल्यै गएनन । कठिन परिस्थितिमा पनि नेपाल भित्र जेलमा बसेर नै उनले सत्याग्रही आन्दोलन निरन्तर चलाई रहे । काँग्रेसले चलाएको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा वीपी कोइराला सशस्त्र क्रान्तिको नेतृत्व गरेको देखिन्थ्यो भने सुुवर्ण शंशेर राजासँग संवाद अघि बढाई रहेका थिए । तर कृष्णप्रसाद भट्टराई शान्तिपूर्ण आन्दोलन र सत्याग्रही आन्दोलनको पक्ष्मा सधै रहे । कांग्रेसको कतिपय समयमा तिन किसिमको नीति पनि देखिन्थ्यो ।

कृष्णप्रसाद भट्टराई नेपाली काँग्रेसको कार्यवाहक सभापति हुदा के त्यस्तो महत्त्वपूर्ण काम गरेकाे इतिहास पाउनु भयो ?

वि.सं. २०३४ सालबाट कृष्णप्रसाद भट्टराई नेपाली काँग्रेसको कार्यवाहक सभापति भए । वीपी लामो समयको कारावास सजायले विरामी भए । २०२५ मा रिहा भएपछि उपचारका लागि उनि भारत गए । उनलाई घाटीको क्यान्सर देखियो । त्यसपछि वि.सं. २०३४ मा वीपीको घाटीको सल्यक्रिया गर्न अमेरिका जाने भए । वीपीले वि.सं. २०३४ सालमा पटना सम्मेलन गरेर कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाए । वीपीको निधन पछ वि.सं. २०३९ मंसिरमा गणेशमान सिंहको निवासमा सम्पन्न सम्मेलनबाट कृष्णप्रसाद भट्टराई पुनः कार्यवाहक सभापति भए । कृष्णप्रसाद भट्टराई काँग्रेसको डेढ दशक कार्यवाहक सभापति भए । वि.सं. २०४२ सालको सत्याग्रह र वि.सं. २०४६ सालको जनआन्दोलन कृष्णप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । आन्दोलन सफल भएपछि वि.सं. २०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री भए ।

वि.सं. २०४६ सालको आन्दोलन सफल पार्ने कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री भएर के के काम गरे ?

वि.सं. २०४६ सालको जनआन्दोलन कृष्णप्रसाद भट्टराईले काँग्रेस सभपाति भएर सम्पन्न गराए । प्रजातन्त्र पुनःस्थापना भएकपछि उनी पहिलो अन्तरिम कालिन प्रधानमन्त्री बने । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दा धेरै किसिमका चुनौतीहरु थिए । पंचायत राजाको घोषणाले समाप्त भएपनि मण्डलेहरुको कुदृष्टि यथावत् थियो । त्यसैगरी भारतले नाकावदी लगाएर जनताले धेरै दुःख पाइरहेका थिए । अर्को तर्फ अझ महत्वपूर्ण उनको काधमा पुनस्थापित प्रजातन्त्रलाई स्थायी बनाउन संविधान बनाउने र चुनाव गराउने दुई अभिभारा थियो । यो काम बुद्धिमत्तापूर्ण रुपले वि.सं. २०४७ कार्तिकमा संविधान बनाएर निकाले । संविधान बनाउने सहयात्री तत्कालिन एमालेलेको ढुलमुले नीतिले संविधानमा आलोचनात्मक समर्थन भन्यो । दरवारको अधिकार खोसिएकोले दरबार क्रुद्ध थियो । यि दुबैसँग सामना गर्दै अब संविधान बमोजिम कृष्णप्रसाद भट्टराईको अर्जुनदृष्टि निर्वाचनमा केन्द्रीत भयो । २०४८ सालमा संसदको आमनिर्वाचन हुने भयो । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु पर्ने र कांग्रेसलाई विजय गराउनु पर्ने जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई थियो । भट्टराई आफु चुनावमा पराजित भए तर चुनाव शान्तिपूर्ण रुपमा भयो काँग्रेस स्पष्ट बहुमतका साथ संसदमा आइपुग्यो । कृष्णप्रसाद भट्टराईले चुनौतीपूर्ण अवसर सम्पन्न गरे ।

कृष्णप्रसाद भट्टराई महाधिवेशनबाट निर्वाचित भएर नेपाली काँग्रेसको सभापति हुदा काँग्रेस भित्रकाे कस्तो प्रभाव रह्यो ?

वि.सं. २०४८ सालमा नेपाली काँग्रेसको आठौं महाधिवेशन झापाको कलवलगुडीमा भएको थियो । कांग्रेसको आठौं महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेसको सभापति सर्वसम्मत रुपमा भए । कृष्णप्रसाद भट्टराईलाई सभापतिमा गणेशमान सिंहले प्रस्तावित गरे भने गिरिजाप्रसाद कोइरालाले समर्थन गरेर सर्वसम्मत सभापति बने । कांग्रेस पार्टीमा नयाँ उत्साह र लहर आउदै थियो । यहि महाधिवेशनमा सर्वोच्च नेता गणेशमान सिंहले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको काम गर्ने शैलीका कारण राजीनामा मागे । काँग्रेस माथि फेरि संकट मडारिायो । सुझबुझपूर्ण कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वले दुबैको चित्त बुझाउदै भने गणेशमान सिंहको जित्त गिरिजाबाबुले बुझाउनु पर्ने, पार्टीले गणेशमानको चित्त दुखाउदैन, गणेशमानजीले प्रधानमन्त्रीको राजीनामा नमाग्ने भनेर मिलाए । पार्टी भित्र समय समयमा आएका कठिनाइहरु कृष्णप्रसाद भट्टराईले यसरी नै मिलाउदै आए ।

कृष्णप्रसाद भट्टराई दोस्रो प्रधानमन्त्री बन्दै गर्दा देशको अवस्था कस्तो थियो ?

वि.सं. २०५१ सालमा काँग्रेस पार्टीको आन्तरिक विवादले गर्दा मध्यावधी निर्वाचन भयो । यो निर्वाचनमा संसद्मा काँग्रेस दोस्रो पार्टी बन्यो । कसैको पनि बहुमत आउन नसकेको कारणले अस्थिर सरकारहरु बन्ने भत्कने क्रम चलिरह्यो । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भावी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भनेर वि.सं. २०५६ को संसदीय निर्वाचनमा काँग्रेस गयो । कृष्णप्रसाद भट्टराईले वीरगञ्ज र काठमाडौंबाट चुनाव जिते । नेपाली काँग्रेसको पनि स्पष्ट बहुमत आयो । यसरी कृष्णप्रसाद भट्टराई पुनः दोस्रो पटक प्रधानमन्त्री बने । यो समयमा माओवादीको हत्या, हिंसाले मुलुक आक्रान्त भएको थियो । माओवादीसँग राजनीतिक वार्ता गर्ने र हरितयार नियन्त्रण गर्न प्रशासनीक कार्य गर्दै कृष्णप्रसाद भट्टराईले आफ्नो प्रधानमन्त्रीय दायित्व पुरा गर्दैै थिए । कृष्णप्रसाद भट्टराईले शेरबहादुर देउवालाई माओवादीसँग वार्ता गर्न अध्ययन समिति बनाएका थिए । यसैबीच फेरि काँग्रेस पार्टीमा आन्तरिक विवाद सृजना भयो । कृष्णप्रसाद भट्टराईले राजीनामा दिएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । २०५७ मा राजा वीरेन्द्रको वंश नाश हुनेगरी दरवार हत्या काण्ड भयो । ज्ञानेन्द्र शाहा राजा भए । राजा र प्रधानमन्त्रीको विचमा समस्या आयो । प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि  शेरबहादुर देउवा प्रधानमन्त्री बने । सरकार अन्तयन्तः अस्थिर बनिरहेको थियो एकातर्फ भने अर्को तर्फ माओवादी हत्या, हिंसा नियन्त्रण बाहिर गइरहेको थियो । मुलुकमा संकटकाल लगाइएको थियो । दोस्रोपटक संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा पार्टीमा विवाद चुलियो । पार्टी विभाजन भयो । लोकतन्त्र फेरि संकटमा प¥यो । कृष्णप्रसाद भट्टराई मौन जस्तै भएर बसे । उनी काँग्रेस एक हुनु पर्ने कुरामा स्पष्ट थिए । राजा आफै सक्रिय भएर शासन गर्न थाले । राजाको शासनमा गिरिजाबाबुले माओवादीसँग प्रत्यक्ष वार्ता गरे । यता कृष्णप्रसाद भट्टराई दुबै काँग्रेस एक हुनुपर्ने भनिरहे । अन्ततः कांग्रेस एक भयो । मलुकमा लोकतन्त्र पुनःस्थापित भयो ।

कृष्णप्रसाद भट्टराईलाई सन्त नेता किन भनिएकाे रहेछ तपाईंको विचारमा के रहेछ ?

कृष्णप्रसाद भट्टराई आजिवन अविवाहित रहे । अध्यात्मिक चिन्तन गर्ने, शान्त प्रवृत्तिको भएको हुनाले पनि यिनलाई सन्त नेता भनिएको हो । यिनको जीवन अत्यन्तै सादा थियो । हिड्दा छाता लिएर हिड्थे । २०४६ सालमा प्रधानमन्त्री भएर बालुवाटार छिरेका कृष्णप्रसाद भट्टराई २०४८ मा बालुवाटारबाट निस्कदा छाता, सुरही र एउटा बाकस मात्र लिएर निस्के । उनको व्यक्तित्व यसले अझ उजागर ग¥यो । राजनीतिलाई निष्ठा, इमान्दारीता र जवाफदेहिता मानेर लगेका कृष्णप्रसाद भट्टराईको आफ्नो जीवन शैलीका कारण आज पनि उनी सन्त नेताका रुपमा सबैले मान्दछन् । उनको आदर्शको अनुकरण गर्न आज पनि योग्य छ । उनी सन्त नेता हुन् । उनी भन्छन्– सिद्धान्त र लक्ष्य विनाको हिडाई डुंगा हिडे जस्तै हो, पाइलाहरु मेटिदै जान्छन् । आफ्ना विचवार र लक्ष्यमा अडिग बनेर हिड जसले गर्दा संसारले तिमीलाई भौतिक रुपमा देख्न छोडेपछि पनि तिम्रा पाइलाहरुलाई उनीहरु सम्छिरहने छन्, तिम्रा पाइलामा हिडिरहने छन् । यस्तै वाणीले आदर्शको पर्याय पनि कृष्णप्रसाद भट्टराई बनेका छन् । कृष्णप्रसाद भट्टराई हसिलो मिजासका ठट्यौली पाराका थिए । बाचुन्जेल उनले पान खान छोडेनन् । काँग्रेस सदस्य वा अन्यले पनि उनलाई किसुनजी भनेर नै सम्बोधन गर्ने गर्दथे ।

नेपाली कांग्रेस पार्टी एकीकरण गर्न महत्वपूर्ण भूमिका खेलेका कृष्णप्रसाद भट्टराईले एकाएक पार्टी छोडेको घोषणा किन गरे ?

नेपाली काँग्रेसको इतिहास अनौठो छ । कांग्रेसको सभापति भएर नै वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्वर्गारोहण भएको छ । त्यस्तै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले म काँग्रेससँग छैन भनेर स्वर्गारोहण भएको छ । गणेशमान सिंहले म कांग्रेसमा छैन भनेपनि कसैले उहाँलाई काँग्रेस छोडेको कहिल्यै मानेन । त्यस्तैगरी कृष्णप्रसाद भट्टराईले पनि नेपाली काँग्रेस एकताको महासमितिको बैठकले आफ्नो विधानबाट राजतन्त्र हटाएपछि आफु पार्टीमा नरहेको घोषणा गरे । तर उनलाई काँग्रेसमा नरहेको कसैले मानेन । उनी बाचुन्जेल काँग्रेसका लागि मार्गदर्शक बनिरहे । बृहत जनआन्दोलन २०६२÷६३ पछि पनि राजाको विषयमा कृष्णप्रसाद भट्टराईको भिन्न मत थियो । वीपी कोइराला र कृष्णप्रसाद भट्टराईको मत यस विषयमा नजिक नजिक देखिन्छ । वीपीको निधन पछि गणेशमान र कृष्णप्रसाद भट्टराईले कम्युष्टिहरुसँग सहयात्रा गर्ने निर्णय गरे । वीपी हुँदासम्म कम्युनिष्टसँग सहयात्रा गर्न कहिल्यै स्वीकार गरेनन् । कृष्णप्रसाद भट्टराईले  आफ्नो जीवनको उत्तरार्धमा सबै चिजबाट मुक्त हुनको लागि आफैले सक्रिय भएर स्थापना गरेको कांग्रेस छोडे भनेको जस्तो देखिन्छ ।

कृष्णप्रसाद भट्टराई अंग्रेजी र नेपाली दुबैमा राम्रो लेख्न सक्ने मानिस हुन् भन्छन् तर उनको धेरै कृतिहरु किन आउन सकेन छैन ?

यो अत्यन्तै सत्य प्रश्न हो । कृष्णप्रसाद भट्टराईको आफ्नै जीवनी जस्तो गरेर मेरो म भन्ने पुस्तक मात्र बाहिर आएको छ । आफै माथि पनि मर्मस्पर्शी व्यङ्ग गर्नसक्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । कृष्णप्रसाद भट्टराई स्पष्टवादी, इमान्दार र विनोदप्रिय मानिस हुन् । मेरो म पुस्तकमा यि तिनै रुपको विशेषताहरु राम्रो सँग आएको छ । यसै पुस्तकमा आफ्नो चरित्रको अर्को पक्षबारे पनि भनिएको छ । हिन्दु दर्शनले डो¥याउने मानिसको जीवनयात्रा उसको प्राप्ति–अप्राप्तिको नियन्ता इश्वर मात्र हो । उसले निर्देशन गरे अनुसार मानिसले भोग गर्न पाउछ । उनी अर्को ठाउँमा लेख्छन्, म जजमानी गरेर पेट पाल्नु पर्ने गरिब ब्राह्मणको छोरो इश्वरकृपा नभएको भए कसरी प्रजातन्त्रप्राप्तिको आन्दोलनमा सरिक हुनसक्थे र मुलुकको प्रधानमन्त्री हुन पुग्थे ? कृष्णप्रसाद भट्टराई बनारसको जीवन वर्णन गर्ने सन्दर्भमा उत्कृष्ट लेखकको रुपमा देखिन्छन् ।

समग्रमा भन्नुपर्दा कृष्णप्रसाद भट्टराईको व्यक्तित्व कस्तो देखिन्छ ?

कृष्णप्रसाद भट्टराईमा एक प्रकारको अद्भुत आत्मविश्वास भेटिन्छ । कसैको बारेमा कुनै मतलब नगर्ने व्यक्ति जस्तो देखिन्छ । यसलाई यसो हेर्दा घमण्ड जस्तो पनि मान्न सकिन्छ । तर आलोचना र प्रसंशाले कुनै फरक नपार्ने भएपछि यो घमण्ड पनि रहेन । भट्टराईको ६ दशक लामो राजनीतिमा प्रसंशा गर्ने आलोचक र आलोचना गर्ने प्रसंशक बने तर त्यसले उनलाई खासै प्रभाव पारेन । भारतको भूमिमा शरण लिएर वा राजालाई निवेदन हालेर राजनीति गर्नुभन्दा देशको जेलमा १४ वर्ष थुनिएर राजनीति गर्नु कृष्णप्रसाद भट्टराईको दृढ इच्छाशक्ति देखिन्छ । उनी ठूला–महान् राष्ट्रवादी सोच भएका व्यक्ति हुन् ।

कृष्णप्रसाद भट्टराईका फुटकर त्यस्ता केही संवाद तपाईलाई थाहा छ ?

एक दुई मैले पढेको भन्छु । एकपटकको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीसँग नयाँ दिल्लिमा भेट हुँदा महामहिम, म पनि तपाई जस्तै सक्कली अविवाहित र तपाईजस्तै नक्कली कुमार हुँ । यो कुरा सुुनेर भारतीय प्रधानमन्त्री अटलविहारी मस्तसँग खुलेर हासेका थिए रे । त्यस्तै एकजना पत्रकारसँग उनले भनेका थिए रे, म राम्ररी हिंडन त सक्दिन, सेक्स कसरी गरुला ? तर यहाँका मुर्खहरु रातदिन मेरा विषयमा नानाथरी प्रचार गर्दै हिड्छन् । यो पनि सोच्न सक्दैनन कि एउटा वृद्ध जो राम्रोसँग हिड्न पनि सक्दैन उसले सेक्स कसरी गर्न सक्छ ? एक मनले सोच्छु– राम्रै प्रचार हो । मलाई योग्य त ठानिएको छ यस उमेरमा पनि । म आफ्नो योग्यताको खण्डन गर्दै किन हिँडुँ ? जमाना थियो जब मोज गरियो । अब त यी शुभचिन्तक प्रचारकहरुले नै मेरो सेक्स लाइफको बिडो थामेका छन् । त्यस्तै पंचायत कालमा चुनावमा भागलिने भनेर गएका कार्यकर्तालाई घोक्रेठ्याक लगाएर निकालेका प्रसङ्ग पनि छन् । कृष्णप्रसाद भट्टराईलाई विदेश यात्रामा प्रधानमन्त्रीले दिएको सुनको बट्टा कार्यकर्तालाई उपहार दिदा पछि कार्यकर्ताले भट्टराईलाई नै फिर्ता गरेछन् । पछि उनले  हाम्रो कार्यकर्ता यस्ता छन् भनेर सुनाएछन् । युवराज दिपेद्रलाई दरवारमा पार्टी भएको बेलामा सरकारले विवाह गर्न प¥यो म केटी खोजिदिन्छु र म पनि विवाह गर्छु भनेर दिपेन्द्रलाई अक्कनबक्क बनाएको प्रसङ्ग पनि चर्चित नै थियो ।

कृष्णप्रसाद भट्टराईको जीवन बाट के पाठ लिन सकिन्छ ?

कृष्णप्रसाद भट्टराईको जीवन गुणले युक्त थियो । सरल र दृढ थिए । पंञ्चायत कालमा बाल काँग्रेस भन्ने संगठन थियो । बाल काँग्रेसलाई कृष्णप्रसाद भट्टराई पढ्नु पर्छ भनेर प्रेरणा दिन्थे । एकजना बालकले म गरिव छु, पढ्नका लागि पैसा छैन, खानका लागि काम गर्न जानु पर्छ भनेछन् । तिनलाई कृष्णप्रसाद भट्टराईले भनेछन्, तिमी बाटोको चोकमा बसेर जुत्तामा पालिस लगाउ र कमाएको पैसा लिएर पढ्न जाउ । मानवीय जीवनका सबै अनुभूतिलाई अन्तिम विन्दुसम्म भोगेको मानिस कृष्णप्रसाद भट्टराई हुन् । कृष्णप्रसाद भट्टराईको कठिन अन्तिम समयमा साथदिने अमिता कपालीलाई पनि विर्सन हुदैन । उनको कठिन र अन्तिम अवस्थाको साथी अमिता नै बनिन् । अन्त्यमा कृष्णप्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनेट जादा काठमाडौंको निर्भिक अन्तराष्ट्रिय अस्पतालमा स्वर्गारोहण भयो ।

कृष्णप्रसाद भट्टराई त्यतिलामो जेल जीवन कसरी बस्न सके यसका बारेमा तपाईलाई केही थाहा छ ?

यस्तै प्रश्न कृष्णप्रसाद भट्टराईले साथीहरुका विचमा गरेका छन् । उनी भन्छन्– ल भन्नुस म कुन शक्तिको प्रेरणाले सोह्र वर्षसम्म जेल बस्न सकेहुँला ? सांसारिकतामा नफसेको, अध्यात्मका उपासक, हठी स्वभावका विनोेदमय व्यवहारका अतिरिक्त योभन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका कृष्णप्रसाद ट्टराईलाई यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नुभयो भन्ने सामथ्र्य त्यहा कसैमा हुनेकुरा भएन । फेरि भट्टराई भन्छन्– शक्तिमा मानिस देवत्व देख्छ । राजालाई त हामीले अवतार नै मान्यौं । राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालिन रादूतले दुतावासको कार्यक्रममा राजाको आतरी नै उतारे । हिन्दुहरुको सबै भन्दा लामो पूजाआजा त शक्ति पीठहरुमै हुन्छ । शक्तिका अगाडिसँगै जेलमा रहेका श्रीभद्र शर्मा, रुद्रप्रसाद गिरीहरु टिक्न सकेनन् । म स्वयम् यही आस्थाको परिवेश र व्यवहारमा बाचेको मानिस के अर्थमा अलग छु र ? राममणी आचार्य दिक्षित जस्ता प्रशासक आउथे सादा कागज छोडेर जान्थे । किसुनजी मनमा जे आउँछ चार लाइन लेखेर दिनोस् । जेलबाट रिहा हुनुहोस् र राजनीति गर्नुस् भन्थे । धेरैले यसो गरेका पनि थिए । म पनि कतिपटक गलेर भोलि विहान उठेर छुट्ने बाटोमा बढ्ने प्रवल इच्छा गरेर सुत्थे । तर विहान विषम् अवस्थामा प्रतिदिन विताउने गरेका साथी भाइहरुको प्रतिबद्धताबाट आफुले ति कुरा बिर्सन्थे । धेरै मानिसले प्रारब्ध भनेको बाहिर देखिने कुरालाई ठानेका हुन्छन् त्यो होइन प्रारब्ध भनेको  आन्तरिक दृढता हो । अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ । यही प्रावधान बाह्य परिणाम दिन्छ । प्रतिकुलता सँग लड्ने क्षमता दिन्छ । यही क्षमता मैले जेलमा आर्जन गरेर म यत्रो लामो समयसम्म टिक्न सके ।

कृष्णप्रसाद भट्टराई र अहिलेको राजनीतिलाई कसरी हेर्ने ?

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई संसारिकतामा नफसेको, आध्यात्मका गम्भीर उपासक, निर्दाग चरित्र, हठि स्वभाव र आमोद–प्रमोदमा कुशाग्र, रत्तिभर कुनै लोभ, व्यक्तिगत मोह र सुख सयल गरु भन्ने भावना थिएन । जीवनभर गान्धीवादी सन्त नेताको रुपमा आफ्नो पहिचान बनाए । उनको सादाजीवन उच्चविचारलाई नेपाली नेताहरुले ग्रहण गर्न नसक्दा अहिलेको राजनीतिक अवस्था आएको हो । नेताहरुले राजनीतिलाई अवसरवाद, पैसा र पाखुरामा निहित छ भनेर बुझे जुन भ्रम हो । नेपाली कांग्रेसको राजनीति आदर्शको राजनीति हो । कृष्णप्रसाद भट्टराईको आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ । सबैलाई मिलाएर लैजान सक्ने क्षमता कृष्णप्रसाद भट्टराईमा थियो ।

नेपाली काँग्रेसको वर्तमान राजनीतिका लागि कृष्ण प्रसाद भट्टराईबाट के लिनु पर्छ ?

नेपाली काँग्रेसको वर्तमान राजनीतिमा जनविश्वास गुमाउदै गएको यो अवस्थामा राजनीतिक त्याग, निस्वार्थ भावना, इमान्दारीता र निष्ठाका पर्याय बनेका कृष्णप्रसाद भट्टराईबाट यिनै कुरा अनुशरण गरेर लिनु पर्दछ । आजको दिनसम्म आइपुग्दा काँग्रेसले यस्तो दुर्दिनबाट गुज्रिनु परेको छ । कांग्रेस जनताको विश्वासमा अडिएको पार्टी हो, जातीय सद्भाव र निरन्तर जनताको समृद्धिको सपना बोकेर हिडेको पार्टी हो । नेतृत्वको अदुरदर्शिताका कारण यो हालतमा आइपुग्दा निस्वार्थ भावले काँग्रेसको प्रवाहमा लाग्नेहरुको मन कति कुडिएको होला ! जनतामा काँग्रेस विरोधी भावना कसरी पैदा भयो ? हामी कहाँनेर चुक्यौं ? वीपी कोइराला, सुवर्ण शंशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सि.के. प्रसाई, महेन्द्रनारायण नीधि, भीमबहादुर तामाङ, शैलजा आचार्यले अबलम्बन गरेको बाटोबाट त अलग भएनौं ? नेपाली काँग्रेसका सम्पूर्ण तहका नेतृत्वले आत्मसात गर्नुपर्दछ । आजको काँग्रेस पराजयको मूलकारण चरम गुटबन्दी, व्यविचारी, ढोंगी चरित्र, नातावाद, कृपावाद नै हो । यसलाई परास्त गर्ने काँग्रेसका त्यागी निष्ठावान सदस्यहरुले नै हो । अबको सही बाटो भनेको कृष्णप्रसाद भट्टराईले अनुशरण गरेको बाटोबाट नै नेपाली काँग्रेसलाई विशाल बृक्षको पार्टी बनाउन सक्छौं ।

Recent Update