June 23, 2021, Wednesday
२०७८ असार ९

मृत्यु बारेका रहस्यमय तथा अनुत्तरित सवालहरु ,मृत्यु के हो ?

654

मोहन आचार्य

कवि शिरोमणि लेखनाथ पौड्यालको कालमहिमा नामक कविताको यो अंशबाट शुरुवात गरौ।

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ॥
इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ॥
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ॥


मैले दुनीयाँलाई नै रणभुल्लमा पारेको मृत्यु जस्तो जटिल विषयका बारेमा स्पष्ट पार्ने दुष्प्रयास गरेका पक्कै होइन । स्वेत सत्यको रुपमा रहेको र सबैलाई त्रसित बनाईराखेको मृत्युको विषयलाई लिएर मेरो मनमा पनि अनेकन विचार खेलिरहेको कारण ती विरोधाभाषहरुलाई यहाँहरु समक्ष प्रस्तुत गर्ने प्रयास मात्र गरेका छु । मृत्यु यति जटिल विषय छ कि यसको बारेमा निष्कर्ष निकाल्न सारा जगतकै सामथ्र्यले भ्याईरहेको छैन। अरु कुरा छोडौं मृत्युका परिभाषाहरुमा नै अझै एकमत बन्न सकेको छैन। खासगरि भौतिकबाद र अध्यात्मबादका बीचमा मृत्युलाई हेर्ने परस्पर विरोधि मान्यताहरु यथावत छन्।


भौतिकबादले मृत्युलाई जीवनको अन्त्य हुनु हो भनेर व्याख्या गरेको छ। भौतिक विज्ञानको निष्कर्ष छ जब शरिरका विविध अंगहरुले एकसाथ काम गर्न छाड्छन् तब मृत्यु भएको मानिन्छ। उक्त विद्यामा शरिरको नाशसँगै सम्पुर्ण जीवन समाप्त भएर जान्छ । नाश भइसकेपछि शरिर शक्तिहिन हुन्छ। र शक्तिहिन शरिर कामविहिन हुन्छ। त्यो अवस्थानै वास्तवमा जीवनको अन्त्य हो । अर्थात मृत्यु हो। भौतिकबादले आत्म र शरिरलाई अलग–अलग रुपमा व्याख्या गरेको छैन। यसले त शरिर र आत्मको एकसाथ अन्त्य हुन्छ भन्ने मान्यता राख्दछ। अझ आत्मको उपस्थितिलाई नै अस्वीकार गर्दछ। भौतिकबादले अझ स्पष्ट पार्दछ अन्य शक्ति जस्तै शरिरमा निहित शक्ति पनि न त उत्पत्ति हुन्छ न त नाश हुन्छ। यो त एक स्वरुपबाट अर्काे स्वरुपमा रुपान्तरण हुने मात्र हो । जब शरिर मर्छ सम्पुर्ण शक्ति अन्य स्वरुपमा रुपान्तरण भैहाल्छ। जब चलिरहेको शरिरको अन्त्य हुन्छ त्यो नै सारमा शक्तिहिनता हो वा मृत्यु हो।

अर्काेतिर अध्यात्मिक मान्यतामा मृत्युलाई भौतिकबादी चिन्तन भन्दा निकै फरक तरिकाले ब्याख्या गरेको पाइन्छ। यस मान्यतामा मृत्युलाई केवल शरिर र आत्माको वियोगको रुपमा मात्र लिईएको छ। मृत्युलाई जीवनको समाप्ती नभई नयाँ र राम्रो जीवनको प्रस्थान विन्दुको रुपमा स्पष्ट पारिएको छ। आध्यात्मिक चिन्तकहरुले स्पष्ट व्याख्या गरेका छन् कि जीवहरुको आत्मा उसको भ्रुणको माध्यमबाट शरिरमा प्रवेश गर्छ र मृत्युसँगै शरिरबाट निस्किएर जान्छ । त्यसकारण मृत्यु भौतिक शरिरको अन्त्य मात्र हो जीवनकै समाप्ती होइन। यस विद्याको तर्क छ कि आत्मा अनन्त कालसम्म विविध स्वरुपमा रहिरहन्छ । त्यसैले जीवन पनि अनन्त छ। विविध धर्म सम्प्रदायमा व्याख्या फरक फरक तरिकाले भएता पनि सबै आध्यात्मिक चिन्तनको सार यही हो।यी व्याख्याहरुको विरोधाभाषभन्दा फरक तरिकाले मृत्युसँगको सत्यतालाई अथ्र्याउदै कृष्ण्चन्द्रसिंह प्रधान भन्नुहुन्छ “मृत्यु कहिले हुन्छ थाहा छैन । कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौं चाहेर पनि मर्छौं नचाहँदा नचाहँदै पनि मर्छौं । यस सत्यप्रति कोही अनभिज्ञ छैनौँ । त्यसैले हाँसेर बाँचौँ, हाँसेर मृत्युलाई अँगालौँ ।जसले जसरी व्याख्या गरे पनि मृत्यु अन्तिम सत्य हो भन्ने कुरामा आखिर सबै तर्कहरु एकैठाँउमा आउदछन्। मृत्युलाई केही लम्ब्याउने उपाय होलान् तर त्यसलाई अनन्तसम्म पू¥याउन सकिदैन।

मृत्यु सम्बन्धी अनुत्तरीत प्रश्नहरुः

मृत्युका विविधतायुक्त प्रवृतिको कारण यो थप रहस्यमय बनेको छ। जब जीवहरुमा जन्मको एकै प्रक्रिया छ भने मृत्यु किन यति फरक—फरक भएको होला? हरेक मृत्युका कारण तथा संयोग किन यति विध्न भिन्न भएका होलान्? लगभग एकै खालको जीवन प्रक्रियाका बीच मृत्युले किन फरक फरक बाहाना बेहोर्नु परेको होला? समयाबधिको हिसाबमा कसैको लामो र कसैको छोटो जीवन किन भएको होला? के कारण कसैलाई मृत्युले छिटै र कसैलाई ढिलो चाहेको होला? समाजमा यस्ता मान्छेहरु भेटिन्छन् जसले मृत्युलाई खोजीरहेका हुन्छन्। जीवनलाई भारी मानेर छिट्टै त्याग्न खोज्दाखोज्दै पनि मृत्युले किन आवस्यक ठानेको हुदैन होला?कतिपयले आत्महत्याको साहारा लिनुको वाध्यता के होला? कतिपय मान्छेहरु जीवनको स्वर्णिम सपनामा रमाउदा रमाउदै किन मृत्युको प्यारो बन्छन् होला? लामो जीवनरुपी विरुवा हुर्कन नपाउदै बाध्य भएर किन यो संसार छोड्नुपर्छ होला? धरहराको टुप्पोबाट खसेर पनि मृत्युको समिपमा नपुग्नुका पछाडि केहि रहस्य छैन होला त? मृत्यु एकै प्रक्रिया हो भने यसका बहाना किन यति रहस्यमय भएका होलान्?एउटा तर्क छ कि मान्छेको मृत्यु उसको पुर्व जन्ममा नै निर्धारित हुन्छ। जन्म लिनु भन्दा पहिले नै उसको मृत्युको बारेमा सबै हिसाबकिताब भैसकेको हुन्छ। अर्थात मृत्यु पूर्वनिर्धारित हुन्छ। खासगरी आध्यात्मिक चिन्तकहरुले यसरी व्याख्या गरेको पाइन्छ । के यो ब्याख्या सही होला त? यदी सही नै रहेछ भने पनि मृत्युलाई किन यति विभेदकारी बनाउनुपरेको होला? मान्छे जन्मदा नै मृत्युको समयसीमा बोकेर आउछ भने किन उसलाई सानो जानकारी पनि नभएको होला?जीवन दिने तर आफ्नो रहरले जीउन नपाउने गरि किन यति अन्यौलमा राखेको होला? यी यस्ता प्रश्नहरुले मृत्यु एक,बहाना अनेक जस्तो अवस्था भएको छ । यसको भित्री कारण के होला?यी अनुत्तरित प्रश्नको उत्तर दिने शक्ति यो लोकमा पैदा होला कि नहोला?
मृत्यु को सहज बोध सम्भव होला त?

सेक्सपियरले मृत्युलाई सहज रुपमा लिन यसरी सुझाएका छ्न् मानिसले जगतवाट बहिर्गमनलाई त्यसैगरी सहनुपर्छ जसरी आगमनलाई सहन गर्छ । मृत्यु बारेमा गौतम वुद्धको यो भनाई पनि महत्वपुर्ण छ । जो बुद्धिमानी छ ऊ मृत्युको भय देखि डराउदैन् सोही अनुसार आफूलाई तयार गर्नु सान्दर्भिक हुन्छ । बुद्ध अझ अगाडी थप्छन तिमी कसरी बाच्छौँ भन्दा तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । उनी अझै थप्छ्न् मानिस मरेपनी चेतना मर्दैन र त्यो चेतनाले अर्को जन्म लिन्छ जसरी तिमीसँग एउटा दियो छ त्यसले निभिरहेको बत्ती बाल्दा सल्किन्छ नि । हो त्यस्तै एउटा चेतनाले अर्कोलाई सल्काउछ । यी दार्शनिक जस्तै अन्य मान्छेले पनि मृत्युको सहज रुपले परिभाषा दिन त सक्छ तर त्यसलाई व्यहोर्ने आट कसैले गर्न सक्दैन। अर्कोलाई पर्दा विभिन्न ढाडस दिने मान्छे आफुलाई पर्दा किन त्यति कम्जोर हुन्छ र असहाय बन्छ? यसको सहज जवाफ कसैसँग छैन। जीवनको एक अन्तिम सत्य हो भनेर स्वीकार गरिसकेपछि पनि किन यति कारुणिक बन्छ होला मृत्यु? मान्छे कुनै न कुनै धर्म संस्कारमा जोडिएकै हुन्छ। ति धर्म संस्कारमा मृत्युको सहज बोध गराउने थुप्रै प्रयासहरु गरिएका हुन्छन् ।तर ती प्रयासहरु किन कामयावी बन्न सक्दैनन् त ?मान्छे आफन्त गुमाउदा किन भावविह्वल बन्छ होला? जन्म र मृत्यु जीवनका दुई पाटो हुन भने मृत्युले बोक्ने पीडाको भारी किन यति बढी भएको होला? अल्पआयुमै मात्र होइन पुरा जीवन बाचेकाहरुलाई गुमाउदा पनि मान्छे किन त्यति विक्षिप्त बन्छ? मृत्युले निम्त्याउने स्तब्धताको गहिरो प्रश्न किन अझै अनुत्तरित रहेको होला? मृत्युलाई सहज रुपमा लिने र त्यसलाई जीवनको एक महत्वपुर्ण पाटो मानेर रमाउन सक्ने परिस्थिति मानव समाजमा बन्न सक्ला त?मलाई लाग्छ यो अत्यन्तै काल्पनिक कुरा हो। यो सोच्न सकिने विषय हो तर भोग्न सकिने विषय पक्कै होइन। यो सत्य हो कि मान्छे कसैले पनि आफ्नो मृत्यु देखेको छैन। नदेखिने र भोग्न नसकिने मृत्युका बारेमा यति सहज बोध होला जस्तो लाग्दैन। त्यसैले त आइसीयु बेडमा बसेरै भएपनि एक पल आयु लम्ब्याउन चाहान्छ मान्छे।

यदी मृत्युबारे पहिले नै थाह हुदो हो त…..?

एकछिन कल्पना गरौं त यदि कुनै मान्छेले आफ्नो मृत्युबारे पहिल्यै जानकारी पाउथ्यो भने उसको जीवनमा के फरकपना हुन्थ्यो होला? यस्तो लाग्छ उसले आफ्नो समयलाई एक निजी कम्पनीको व्यस्त कार्यतालिका जस्तै कार्यविभाजन गर्दथ्यो । आफुले पाएको जीवनभित्र अधिकतम सन्तुष्टी लिन सबै इफोर्ट प्रयोग गर्दथ्यो । समय वास्तवमै सबै भन्दा शक्तिशाली वस्तु बन्थ्यो। मान्छे आफ्ना खुशीको लागि कुनै लोभलालच गर्ने थिएन। माया,मोह,दान करुणा तथा आवेगहरुमा नितान्त फरकपन अनुभुति हुन्थ्यो। मान्छे आदर्श बन्थ्यो र आफु भित्रका सबै विकार चिजहरु बाट सदा मुक्त रहन्थ्यो। मानौं मान्छेमा निजत्वको दायरा निकै साघुरो हुन्थ्यो। उ सर्वजन हितायको मान्यतामा रहेर आफुमा खुशी बढाउन चाहान्थ्यो। यी विषयसँग मेल खाने एक उदाहरणको रुपमा प्राणघातक क्यान्सर जस्तो रोगको कारण मृत्युको नजिक पुगेर पनि बाच्न सफल भएकी अभिनेत्री मनिषा कोइरालले एक अन्र्तवार्ताको क्रममा बताएकी थिइन “म मृत्यु जितेर आए देखि मेरो बाच्ने कलामै निकै सुधार गरेकी छु। मैले मृत्यु नजिकबाट देखेकी छु त्यसकारण मलाई बाच्ने कला सिक्ने अवशर प्राप्त भयो त्यसैले क्यान्सरलाई पनि एक अवसरको रुपमा बुझेकी छु”।

मृत्युबारे थोरै भए पनि सिक्ने प्रयास गरौं

मृत्युको स्वेत सत्यको अगाडी कसैको केही लाग्नेवाला छैन। संसारमा कुनै शक्ति छ भने त्यो मृत्यु हो। कुनै अप्रिय चिज छ भने त्यो मृत्यु हो। यसबाट न कोही भाग्न सक्छ न त कसैले अस्वीकार गर्न सक्छ। कुनै शक्तिले पनि रोक्न नसक्ने तथा टार्न नसक्ने मृत्युलाई यसरी नै भयको नजरबाट हेरेर मात्र किन दुःखी दुःखी बनिरहने? यसको बारेमा थोरै भए पनि सहज बोध किन नगर्ने? यो ध्रुव्र सत्य मृत्युलाई डरको पोका भित्र लुकाएर किन जीवनलाई थप पिडादायी बनाइराख्ने? यसलाई त्रासको चौघेराबाट बाहिर निकाल्दा बरु केहि फाईदा लिन पो सकिन्छ कि?त्यसो गर्दा मृत्यु भित्रका लाभको रहस्योदघाटन पो हुन्छ कि? यस सन्दर्भमा नर्मन कोउसिंस भन्छन् मृत्यु भनेको नराम्रो होइन । नराम्रो त त्यो हो, जब हामी बाँच्दा आफ्नो मनलाई मारेर बाँचिरहेका हुन्छौं । त्यसैले मनलाई कहिल्यै पनि मर्न दिनु हुन्न । हो साच्चिकै मनलाई मारेर बाँच्नु भन्दा मरेकै जाति हुन्छ किन कि मन मारेर बाँच्नेहरुले अरुलाई पनि मार्दछ। त्यसकारण मृत्युलाई सहज रुपमा लिन आजै बाट सिकौं । मृत्यु जीवनको एक पक्ष हो भनेर त्यसबाट सिर्जीत डरबाट टाढा बसौं। जसरी सुर्य अस्ताउदा हामीमा कुनै दुःख हुदैन त्यसैगरी हरेकको मृत्युलाई लिन सिकौं ।