June 23, 2021, Wednesday
२०७८ असार ९

रुकुम पश्चिमकाे स्यार्पुताल सहित पर्यटन क्षेत्रको बजेटमा परेका मुख्य क्षेत्रहरु

739

सरकारले आज प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्र अन्तर्गत रुकुम पश्चिमकाे स्यार्पुतल पनि प्राथमिकताका क्षेत्रमा परेको छ ।देशका विभिन्न पर्यटन प्राथमिकताकाे लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

नीजि क्षेत्रसँगको सहकार्यमा एकिकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धुनषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्डेदह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनि गुम्बा र कागबेनीको पिण्डस्थान पुर्ननिर्माण कार्यलाई निरन्तरता दिइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग हाइकिङ एवम् साइक्लिङ ट्रेल निर्माण गरिने, फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने भएको छ । दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तथा चुरे र महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, रिसोर्ट लगायत निर्माण गर्न नीजि क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने पनि यस वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

रारा, सेफोक्शुन्डो, खप्तड लगायतका प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकिय गन्तव्यस्थलको रुपमा विकास गर्न बजेटको व्यवस्था गरिएको छ । तल्लो डोल्पा, हुम्लाको सिमिकोट, धादिङको रुवि भ्याली लगायतको क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने, पद यात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा र उद्धारका लागि जिपिएस ट्रयाकिङ सहितको एकिकृत पर्यटन सुचना प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ ।त्यस्तै, इलामको माइपोखरी, सुनसरीको बर्जुताल, कपिलवस्तुको जगदिशपुर ताल, पाल्पाको सत्यावति ताल, रुकुम पश्चिमको स्यार्पु ताल लगायतका महत्वपूर्ण तालको संरक्षण गरी पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।