July 30, 2021, Friday
२०७८ श्रावण १५

विष्टलाई नेपालको निर्देशन : ओलीसँग अन्तिम कुरा गर्नुस्, अब कि यता कि उता

568

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता नयाँ पार्टी गठनको सम्भावना रहेको संकेत गरेका छन् । आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको आइतबारको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग सहमतिको सम्भावना कमजोर रहेको भन्दै क्रान्तिकारी पार्टी गठनको विकल्प नरहेको बताएका हुन् ।

नेता नेपालले एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण विष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन पनि दिएका छन् । भर्चुअल बैठकमा विष्टले आफू अझै एकता बचाएर लैजान सकिन्छ कि भन्ने अन्तिम कोसिसमा रहेको बताएपछि नेपालले ओलीसँग वार्ता गर्न निर्देशन दिएको बैठकमा सहभागी एक विद्यार्थी नेताले जानकारी दिए ।

२ जेठ ०७५ अघिको अवस्थामा एमालेलाई फर्काउने र २३ फागुनपछिका निर्णय खारेज नभए एकता सम्भव नहुने नेपालको भनाइ छ । तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन् । नेपाल अहिले विपक्षी गठबन्धनमा सहभागी भएका छन् । एमालेका दुवै पक्ष अहिले आरोप–प्रत्यारोपमा छन् ।

बैठकमा सहभागी ती नेताका अनुसार विष्टको भनाइ थियो, ‘म अझै एमाले एकता बचाएर जानुपर्छ भन्नेमा छु, त्यसका लागि कोसिस गरिरहेको छु । केपी ओलीबाट धेरै आशा गर्ने ठाउँ त छैन, तर पाँचौँ महाधिवेशनमा मदन भण्डारीले फरक मतलाई पनि सम्बोधन गरेर पार्टी एकता बचाएर नेतृत्व दिएकाले अहिले पनि किन कोसिस नगर्ने भन्ने हो ।’