October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

यात्रु बाट मनपरि भाडा लिदै यात्रु ठग्न थालेपछि विदेशी उडानमा राेक

1.9K

चार्टर उडानका नाममा यात्रु ठगिएको गुनासो बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि विदेशमा हुने सबै चार्टर उडानमा रोक लगाउने निर्णय गरेको छ । अत्यावश्यक अवस्थामा कुनै देशका दूतावासले सीधा सम्पर्क गरेमा मात्रै उडान अनुमति दिने समेत प्राधिकरणले शनिबार निर्णय गरेको हो । 
चार्टर उडान भन्दै टिकेटिङ र ट्राभल कम्पनीलगायतले महँगो टिकट काटेर यात्रु लाने गरेको गुनासो आएकाले तत्काल व्यवस्थित नभए सम्मका लागि चार्टर उडान बन्द गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । ‘अब भोलिदेखि नै दूतावासले कारण खुलाएर अत्यावश्यक हो भनेर सीधै सम्पर्क नगरेसम्म उडान अनुमति दिँदैनौँ,’ पोखरेलले भने । 

सरकारले कोभिड–१९ को संक्रमण फैलन नदिन भन्दै गत ११ चैतदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा प्रतिबन्ध लगाएको थियो, जुन आगामी १३ असारसम्म जारी रहनेछ । नेपालबाट बाहिर जानेसँग पनि ट्राभल एजेन्सीमार्फत मनलाग्दी भाडा तोकेर चार्टर गर्ने गरेकोसमेत गुनासो पर्यटन मन्त्रालयमा पुगेको थियो ।

उता विदेशमा रहेका नेपालीसँग पनि जहाज मिलाउने र टिकट काटेर पठादिने भन्दै अग्रिम पैसा असुल गर्न थालेको गुनासो पर्यटन मन्त्रालयमा आइपुगेको छ । जसका कारण दुवैतर्फका यात्रु ठगिने देखिएपछि प्राधिकरणले व्यवस्थित कार्ययोजना नबने सम्मका लागि चार्टर उडानको अनुमति नदिने निर्णय गरेको महानिर्देशक पोखरेलले जानकारी दिए । 
केही दिनअघि नेपालबाट हङकङका नेपाली लगेको विषयमा पनि आलोचना भएको थियो । पहिले उतैका एजेन्टमार्फत हिमालय एयरलाइन्सले मिलाएको भन्दै १५ दिनदेखि रकम उठाइएको थियो । तर, अन्तिममा हिमालयले अनुमति नपाएपछि नेपाल वायुसेवा निगमले यात्रु बोकेको थियो । एजेन्टहरूले जहाज र एयरलाइन्ससमेत फिक्स नगरी यात्रुसँग रकम उठाउन थालेका छन् ।

विदेशमा रहेका सोझा नेपालीलाई यसैगरी रकम उठाउने र ठगिन सक्ने भन्दै पर्यटनमन्त्री योगेश भट्टराईकै आग्रहमा प्राधिकरणले चार्टर उडानमा रोक लगाएको छ । शुक्रबार मात्रै पर्यटन मन्त्रालयमा मनलाग्दी हवाई भाडा एजेन्टमार्फत उठाइएको भन्दै चारवटा उजुरी परेको थियो ।
जापान, दक्षिण कोरियामा नेपाली लैजाँदासमेत एजेन्टमार्फत काम भइरहेकोसमेत मन्त्रालयमा उजुरी परेको छ । ‘अहिले एजेन्टले मानिससँग पैसा उठाएर एयरलाइन्स खोज्ने काम सुरु भएको छ, भोलि विदेशमा रहेका नेपालीलाई यसै गरे भने समस्या आउँछ,’ मन्त्रालयका एक अधिकारीले भने । लकडाउनमै पनि हालसम्म निगमले मात्रै २४ वटा उडान गरिसकेको छ । हिमालयले पनि एक दर्जन उडान गरिसकेको छ । यता विदेशी एयरलाइन्सहरूले पनि ६० वटाभन्दा बढी चार्टर उडान गरेका छन्, जसबाट आठ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । याे खबर नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गरेको छ ।

Recent Update