July 30, 2021, Friday
२०७८ श्रावण १५

कोरोना उपचारका उपकरण मर्मत गर्न कांग्रेसले खटायाे इन्जिनियरहरू

118

कांग्रेसले बायो मेडिकल इन्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरी ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ थालेको छ । कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवाका लागि अभियान थालिएको हो ।

अभियानअन्तर्गत बायो मेडिकल इन्जिनियरहरूले देशभरका अस्पताल, स्थानीय स्वास्थ्य संस्थाहरू वा होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या भए निःशुल्क मर्मत र समाधान गर्ने कांग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकूल प्रत्यक्ष अथवा वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि कुनै माध्यमबाट प्रशिक्षित गर्ने व्यवस्थासमेत मिलाइएको छ । त्यस क्रममा विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इन्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेर निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको छ,’ प्रवक्ता शर्माले विज्ञप्तिमार्फत भनेका छन् ।