June 23, 2021, Wednesday
२०७८ असार ९

नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने 

77

अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ।सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ।

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ।ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्।सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्।नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो।त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन्।नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।बिबिसी