July 30, 2021, Friday
२०७८ श्रावण १५

नेपाल प्रहरीलाई शान्ति मिसनकाे अवसर कम हुँदै, सुडान मिसन पनि बन्द भयो 

1.3K

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट (पिजियू)का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ ।

पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ । सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि नै सुडान मिसन बन्द गर्ने निर्णय गरेको थियो । यो वर्षभित्र राष्ट्रसंघअन्तर्गत शान्ति मिसनमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता हुनेछन् । सुडानमा विभिन्न देशका १३ वटा एफपियू कार्यरत छन् । अन्य देशका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । पूर्ण रूपमा शान्ति स्थापना भइनसके पनि सुडान सरकारको दबाबमा सुरक्षा परिषद्ले मिसन अन्त्य गरेको हो । 

सुडान मिसन बन्द भएपछि केही सुरक्षाकर्मी फिर्ता आइसकेको र केही बाँकी रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । सन् २००८ सेप्टेम्बरमा स्थापना भएको प्रहरीको सुडानस्थित एफपियू मिसन त्यही हो, जसको बन्दोबस्तीका सामान खरिदमा करोडौँ भ्रष्टाचार हुँदा सिंगो प्रहरी नै बदनाम भएको थियो । जुन अनियमिततामा नेपाल प्रहरीका तीन पूर्वआइजिपीसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् । 
मिसनका लागि आवश्यक एपिसीलगायत सामान खरिदमा २८ करोड अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सुरुमा प्रयोग भएका सामान गुणस्तरहीन भएको भन्दै राष्ट्रसंघले प्रयोग गर्न नदिएपछि प्रहरीले पछि फेरि खरिद गरेर पठाएको थियो । मिसन बन्द भएसँगै ती सामान पनि अब नेपाल फिर्ता ल्याउनुपर्ने हुन्छ  । हाल सुडानमा प्रहरीका आठवटा एपिसी छन्, जसमध्ये दुईवटा भने केही महिनाका लागि राखिने भएको छ । थप सामान राष्ट्रसंघले नै नेपाल ल्याइदिनेछ ।

नेपाल प्रहरी एफपियू मिसनअन्तर्गत हाइटी र सुडानमा खटिएको थियो । हाइटी मिसन दुई वर्षअघि नै बन्द भइसकेको छ । सुडान मिसन पनि बन्द भएपछि शान्ति मिसनमा जाने प्रहरीको अवसर कम हुँदै आएको छ । एफपियूबाहेक प्रहरी पर्यवेक्षकका रूपमा ‘अनपोल मिसन’को कोटा पनि कम हुँदै गएको छ । हाल ३२ जना प्रहरी पर्यवेक्षकका रूपमा विभिन्न अफ्रिकी देशमा खटिएका छन् । अनपोल मिसनका लागि राष्ट्रसंघले लिने परीक्षा उत्तीर्ण गरेका कतिपय प्रहरी अवसर कम हुँदा जान पाएनन् । कोरोना महामारी कम भएपछि फेरि अर्काे परीक्षा लिने प्रहरी प्रधान कार्यालयको तयारी छ । याे खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।