October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

“उहाँ” हरुको भ्रम र रोल नम्वर चार

1.2K

बिनाराम खड्का

हुनत् वर्तमान अवस्थामा “उहाँ” हरुको खेदो खन्नु भनेको ओरालो लागेको मृगलाई लखेट्नुजस्तै ‘नाक्काटो’ काम हो ! तर वर्तमान संविधान¸ “अ”व्यवस्था¸ दिशाहीन तथा अन्धाधुन्ध राज्यसंयन्त्रको कारक भुमीमा “उहाँ” हरुको विगत भ्रमपुर्ण योगदान तथा अधकल्चो निष्कर्ष पनि कार्यकारक रहेको छ !

यसो भन्दा थुप्रै हितैषीहरु रिसाउनुहोला ! मुर्मुरीनुहोला ! नकारात्मक टिप्पणी गर्नुहोला ! टिप्पणी नगरेपनि भित्रभित्रै सन्किनुहोला ! “उहाँ” हरुको नेतृत्वमा शसस्त्र संघर्ष भएको¸ सत्र हजार बढीको बलिदान भएको सही साँचो हो तर उक्त संघर्षबाट हाल न्यायपुर्ण व्यवस्था कायम रहेको¸ भएको दावी भ्रम सावित भएको पनि समकालीन यथार्थ हो !

संघर्षको दौरान सहादत प्राप्त गर्ने¸ घाइते¸ अपाङ्ग¸ वेपत्ता तथा द्वन्द प्रभावितहरुलाई अपमान नगरौँ ! उहाँहरु इमान्दार भएरै प्रभावित हुनु भो ! जो बाँचेका छन् ति कि त अत्याधिक बठ्याँई र चलाखीले बाँचे¸ कि नियतवश कपटीपुर्ण रुपमा वा वहादुरीपुर्वक बाँचे कि त भाग्यवश बाँचे ! जो अहिले विभिन्न रुप¸ रङ्ग र कलेवरमा सत्ता¸ शक्ति र पावरमा छन् वा बाहिर छन् ! उहाँहरुले खेलेका केही प्रतिनिधिमुलक ‘स्यानीमा’ का खेलहरु भ्रम सावित भएका छन् !

गणतन्त्रको भ्रम ! प्रवृत्ति र सारमा राजतन्त्र¸ पात्र मात्र फरक ! एक राजा विस्थापित गरी हजारौँ राजा पुनर्स्थापित !संघियताको भ्रम ! नेपालमा केही बर्षपछि सबैभन्दा ठूलो घाँडो संघियता हुदैछ ! ल्याउनेले किन ल्यायो ! अहिले गर्नेले के गरिरहेको छ ?! बाहिरबाहिर संघियता भित्रभित्रै केन्द्रिकरण !

समाजवादको भ्रम ! समाजवाद¸ पुजीवाद¸ नवउदारवादको सामान्य ज्ञान हुनेहरुले वर्तमान सरकारका नीति¸ प्राथमिकता¸ कार्यक्रम तथा बजेट हेरौँ ! कहाँ छ समाजवाद !?धर्म निरपेक्षताको भ्रम ! केके न ठूलै काम गरेको जस्तो ! नेपालमा लिच्छवि¸ मल्लकालदेखि सबै धर्म धर्मावलम्वीप्रति सहिष्णुभाव रहेको देखिन्छ ! समयक्रममा केही खराब शाषक र धर्मान्धहरुले विभेद गरे ! तर मुल समस्या धार्मिक थिएन ! समस्या आर्थिक विपन्नता¸ अविकास¸ वेरोजगारी¸ गरीवी र चेतनास्तरमा थियो !

पहिचान¸ प्रतिनिधित्व¸ सहभागिता ! यो मुलत सामाजिक आन्दोलन थियो ! नेपालजस्ता दशकौँ शसस्त्र संघर्ष नभएका देशमा पनि समावेशीकरणको मुद्धा उठेको छ । पुजीवादी मुलुकमा पनि समावेशीकरणलाई प्राथमिकता दिइएको छ । विश्वका कैयन सम्पन्न पुजीवादी मुलुकहरु महिला राष्ट्राध्यक्ष¸ राष्ट्रपतित्वमा संचालित छन् । हामीले मात्रै के के न गर्यौँ भन्ने होइन ! समावेशीकरण आन्दोलनको शुरुवात नै युरोपबाट भएको हो । समावेशीकरणको नाममा सबैभन्दा भद्दा र विकृत सालासाली¸ नातावाद¸ कृपावाद¸ श्रीमतीवाद¸ फरियावादको खराब अभ्यास नेपालमा भएको यथार्थ हो !

दिशाहीन र अन्धाधुन्ध देश ! अहिले देश कता गइरहेको छ ? कसले भन्न सक्छ ? देश कुन दिर्घकालीन भिजनकासाथ चलिरहेको छ !?अस्तव्यस्त सार्वजनिक प्रशासन ! पन्चायतमा शायद् व्यवस्थाप्रति जवाफदेही कर्मचारी संयन्त्र थियो होला ! कमसेकम कानुन र नियमले बाँधिएको कर्मचारीतन्त्र ! अहिले हेरौँ ! जिम्मेवारी प्रदान¸ कर्मचारीतन्त्रका स्थापित मुल्य¸ मान्यतामाथी ठाडो हस्तक्षेप ! विश्वव्यापी रुपमा प्रचलित पदसोपान पद्धतिको उल्लंघन ! सानोभन्दा सानो जिम्मेवारीको लागि पनि कमसेकम “सान्ज्याको छोरो” हुनैपर्ने वाध्यता ! कहिकतैबाट नाताको छेउटुप्पो नभेट्नेहरुको हरिविजोग हविगत ! काम गर्नु र नगर्नुको औचित्य समाप्त ! चाकडी र फरीयावादको दिग्विजय !

Recent Update