July 30, 2021, Friday
२०७८ श्रावण १५

सामाजिक संजालबाट केही लिने कि गुमाउने मात्र ?

271

मोहन आचार्य

कम्प्युटर वा मोवाईलमा आधारित संजालीकृत एवम विस्तारित प्रविधिलाई सामाजिक संजाल भनिन्छ । यो एक्काइसाैँ शताब्दीमा प्रविधि विकासको उच्चतम उपलब्धि हो । आफ्ना रोजाइका व्यक्तिहरुको अभौतिक संजालीकरणबाट एउटा वेग्लै समाज बनाउन सकिने भएकोले यसलाई सामाजिक संजाल भनिएको हुनुपर्छ । यो व्यक्तिहरुको स्वतःस्फुर्त भेटघाट गर्ने एक विशाल प्लेटफर्म हो । यसको माध्यमबाट व्यक्तिका विचार, भावना, अनुभव, सुचना तथा जानकारीहरु स्वतन्त्र रुपमा प्रवाह हुन्छन् । सन् २००४ मा मार्क जुकवर्गले आफ्नो प्रेमिकासँग कुरा गर्ने प्रयोजनको लागि फेसवुकको स्थापना गरेसंगै सामाजिक संजाल विकासको जग वसेको हो । हाल फेसवुकसँगै युट्ुयव, वाट्सएप, फेसवुक म्यासेन्जर, इन्स्ट्राग्राम, टिकटक, भाइबर लगायत दर्जनौ सामाजिक संजाल प्रयोगमा छन् । युवा प्रयोगकर्ताको संख्या वढी भए पनि सामाजिक सञ्जाल सबै उमेर समुहका व्यक्तिहरुको जीवन प्रक्रियाको अभिन्न अंग भैसकेको छ । अधिकांश व्यक्तिहरु कुनै न कुनै सामाजिक संजालमा आवद्ध छन् । विश्वव्यापी तथ्यांक निकाल्ने datareportal.com को globle digital overview का अनुसार विश्वमा ४ अर्ब ३३ करोड भन्दा बढि व्यक्तिहरु कुनै न कुनै सामाजिक संजालमा जोडिएको तथ्यांक छ । जुन विश्वको कुल जनसंख्याको ५५ प्रतिशत भन्दा बढी हुन आउछ । नेपालमा पनि सामाजिक संजालको प्रयोगकर्ताहरु दिनानुदिन बढीरहेका छन् । datareportal.com को digital in nepal तथ्यांक अनुसार सन् २०२० जनवरी देखि २०२१ जनवरी सम्म एक वर्षमा मात्र ३० प्रतिशत प्रयोगकर्ता बढेका छन् । सन् २०२१ को जनवरी सम्म कुल जनसंख्याको ४४.२ प्रतिशत अर्थात् १ करोड ३० लाख जनसंख्यामा सामाजिक संजालको पहुँच पुगेको छ ।

गुणात्मक प्रयोगको अपेक्षा र वास्तविकता

सामाजिक संजाल जुन तरिकाले प्रयोग हुनु पथ्र्याे त्यसरी हुन सकिरहेको छैन । प्रयोगकर्ताको संख्या दिनप्रतिदिन वढिरहेका छ । तर पनि गुणात्मक प्रयोगकर्ता बढ्न सकेका छैनन् । गुणात्मक प्रयोगकर्ता भन्नाले प्रयोग गर्दै जाँदा यसको सान्दर्भिकता वुझ्दै जाने र सोही बमोजिम आफुलाई रुपान्तरित गर्न सक्ने प्रयोगकर्ता भन्न खोजिएको हो । सजिलो गरि भन्नु पर्दा सामाजिक संजालबाट उच्चतम लाभ लाभ लिन सक्ने र अरुलाई पनि केही दिनसक्ने प्रयोगकर्ता भन्न सकिन्छ । मुलतः यो सम्बन्ध विस्तारको साधन हो । फेसवुकका संस्थापन मार्क जुकवर्गले भनेका छन् फेसवुक कुनै कम्पनी बनाउछु भनेर होइन कि विश्वलाई कसरी खुला र एकअर्कामा आवद्ध गर्न सकिन्छ भनेर शुरुवात गरिएको थियो । सामाजिक संजालहरु भैरहेका सम्बन्धलाई थप मजबुत बनाउन र नयाँ सम्बन्ध विस्तार गर्न केन्द्रित हुनुपर्छ भन्ने उनको मनोकांक्षा रहेको बुझ्न सकिन्छ । तर सही तरिकाले प्रयोग नहुदा सम्बन्ध विस्तार भन्दा सम्बन्ध भत्काउन वढी उद्दत भएको पाइन्छ । सामाजिक संजालहरुमा हुने राजनीतिक, सामाजिक, सांस्कृतिक, क्षेत्रीय, जातजातीगत तथा वर्गिय विषयका अनावस्यक वहस तथा टिका टिप्पनीहरुले व्यक्तिहरु बीचमा विवाद तथा असहिष्णुता झन बढाएको छ । संकिर्ण, आवेगात्मक तथा उत्तेजनात्मक अभिव्यक्तिको कारण न्युनतम मानवीय मर्यादा तथा सस्ंकृतिमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको छ । यसले व्यक्तिगत तथा सामाजिक एकता भन्दा विग्रहको बाटो समाएको हो कि भन्ने चिन्ता बढाइदिएको छ । अर्काेकुरा सामाजिक संजाल आफ्नो विज्ञता एवंम् विशेषज्ञतालाई विस्तार गर्ने थलो बन्नुपर्छ । आफुसँग भएको विज्ञतालाई सबैमाझ पु¥याएर आफ्नो व्यक्तिगत ख्याति तथा प्रसिद्धि बढाउन यसको सदुपयोग हुनुपर्छ । सिर्जनात्मकता तथा क्षमता अभिवृद्धिको साधनको रुपमा उपयोग गरिनुपर्छ । तर प्रयोगकर्तामा यो हदसम्मको चेतना विकास हुन सकेको छैन ।


जीवनका सामान्य भोगाई ,इमोसन, लवाइखवाई तथा रमाइलो गर्ने चौतारीको रुपमा मात्र सिमित गर्न खोजिएको छ । खासगरि फेसवुक, टिकटक, म्यासेन्जर, भाइबर लगायतमा लामो समय झुम्मिने एक प्रकारको लत नै भएको छ । अधिकांश अपरिपक्व प्रयोगकर्ताहरु यसबाट टाढा जानै नसक्ने गरि दुव्र्यशनमा फसे जस्तो अवस्थामा पुगेका छन् । लामो समय प्रयोग गर्दा वालवालिका हरु एकोहोरो बन्ने तथा गम्भिर खालको मानसिक समस्या हुने डरलाग्दो समस्या देखिदैछ । यसलाई क्षमता विकास गर्ने साधनको रुपमा लिनुपर्छ भन्ने सामान्य चेतना सम्म देखिदैन । व्यक्तित्व विकास तथा व्यवसायिक लाभ लिने गरी उपयोग गर्ने ज्ञान तथा दक्षताको अभाव रहेको छ
। सामाजिक संजालहरु व्यवसायिकता अभिवृद्धि गर्ने उत्तम माध्यम समेत हुन् । आफ्ना उत्पादन तथा व्यवसायिक वस्तुहरुको विश्वव्यापीकरण गर्ने एक उत्तम विकल्प समेत हुन् सामाजिक संजाल । संजालीकरणको माध्यमबाट व्यावसायका प्राथमिकता तथा मागहरु पहिचान गरि वस्तु तथा सेवाहरुको सहज उपलब्धता गराउन सामाजिक संजालहरु बरदान् सावित हुन सक्छन् । विश्वमा प्रयोग भएका उपयुक्त उत्पादनका विधिहरुको ज्ञानबाट उत्पादन तथा उत्पादकत्व बढाउन सकिन्छ । यसलाई शिक्षा, स्वास्थ्य तथा पोषण लगायतका विविध जीवनपद्धतिको बारेमा ज्ञान आर्जन गर्ने उपयुक्त माध्यमको रुपमा लिन सकिन्छ । तर नेपालमा त्यसरी प्रयोग हुन सकेको छैन । गुणात्मक प्रयोगकर्ता तथा प्रयोग क्षमताको अभावमा सामाजिक संजाललाई उपयोगी बनाउन सकिएको छैन । त्यसतर्फ सबैको ध्यान केन्द्रित हुन आवस्यक छ ।


सामाजिक अपराध तथा द्धन्द्धको साधक

केही वर्ष अघि प्रहरी आवासीय विद्यालय समाखुशीका १४ वर्षिय कुन्दन थापाले आफ्नो केटी साथीको नाममा नक्कली फेसवुक आइडी खोले र ती केटीसँग चुम्बन गरेको तस्विर उक्त फेसवुकमा राखे । उक्त घटनाको बारेमा छलफल गर्न बोलाउन खोज्दा कुन्दन आत्तिए र आफ्नै घरको छतबाट हाम फालेर आत्महत्या गरे । सामाजिक संजालमा फोटो राखेको र त्यसबापत आफुले कार्वाही भोग्ने त्रासको कारण उनले आफ्नो ज्यान नै फाले । केही समय अघि गंगवु वसपार्कमा व्यवसाय गरि वस्ने रोल्पाका कृष्ण बहादुर बोहरा र चितवनकी कल्पना मुडभरीको बीचमा सामाजिक संजालबाट नै चिनजान भयो । छिट्टै उनीहरुबिचको सम्बन्ध नियमित भेटघाटमा रुपान्तरण भयो । घनिष्ट बनेको उनीहरुको सम्बन्ध विग्रन थाल्यो । आफ्नो वेइज्जत गर्न खोजेको सहन नसकेर कल्पनाले कृष्णको हत्या गरिन् । कृष्णको शव गंगबु आसपासमा एउटा सुटकेसमा राखिएको अवस्थामा भेटिएपछि घटना बाहिर आयो । नुवाकोटकी अनुजा लामिछाने र गाँउकै अनिल डंगोल बीचको प्रेम सम्बन्ध पनि सामाजिक संजाल दुरुपयोगकै कारण अपराधमा परिणत भयो । अनुजाले अनिलको विश्वासमा फेसवुकको पासवर्ड दिइन् । तर सम्बन्ध विग्रदै गएपछि अनिलले अनुजाकै फेसवुकबाट आपत्तिजनक अवस्थाको फोटो पोष्ट गरिदिए । यसबाट आफुलाई ठुलो वेइज्जति भएको महसुस गरि अनुजाले पुलबाट हाम फालेर आत्म हत्या गरिन् । यी प्रतिनिधि घटना मात्र हुन । पछिल्लो समय सामाजिक संजालको गलत प्रयोगबाट अपराधिक घटनाहरु वढिरहेका छन् । खासगरी युवायुवतीहरुमा यस्ता घटनाहरु वढी हुने गरेको पाइन्छ । सामाजिक संजालबाट अनावस्यक र अनपेक्षित सम्बन्ध स्थापित गर्ने र त्यसको सहज व्यवस्थापन गर्न नसक्दा अपराधसम्म पुग्ने अमानवीय संस्कृति विकास भैरहेको छ । कसैले सामजिक संजालबाट गरिएको बदनामीको कारण हत्या र आत्म हत्या सम्मको घटनाहरु भैरहेका छन्। पछिल्लो समयमा फेसवुक,भाईवर,वाट्सएप लगायतका संजालहरु ह्रयाक गरि रकम असुल्ने गिरोहहरु बढ्दै गएका छन् । यसबाट भएका अनेक प्रकारका ठगीहरु विभिन्न संचार माध्यमबाट सुन्नु परिरहेको छ । सामाजिक संजालमा व्यक्तिगत सुचनाहरु सबैको सहज पहुच हुने गरि छोड्दा यस्ता खालका अपराध हुने गरेका छन् । उच्च पदस्थ व्यक्तिहरु तथा सेलिब्रेटिहरु विरुद्ध आफ्नो आवेग तथा कुण्ठा पोख्न नक्कली आइडि बनाउने र त्यसको दुरुपयोग गर्नेहरुको संख्या अत्याधिक छ । विभिन्न जातजाती, भाषा, संस्कृति तथा मुल्य मान्यतामा आक्रमन गरी सामाजिक सहिष्णुता एवंम् सदभावमा खलल पार्न उद्दत हुने अपराधिक मानसिकता पनि व्याप्त छ । परिवारिक विवाद तथा झगडाको विषयहरु अस्वभाविक रुपमा सार्वजनिक हुदा पारिवारिक द्धन्द्धहरु झनै चुलिएको कैयांै उदाहरणहरु छन् । यी सबै उदाहरणबाट सामाजिक संजालको दुरुपयोग गरि अपराधिक कार्य हुने गरेको स्पष्ट वुझ्न सकिन्छ ।

सचेतनाको आवश्यकता ः

हाम्रो समाजमा सामाजिक संजालको विषयलाई निकै हल्का रुपमा लिइएको छ । प्रविधिको सामान्य ज्ञान समेत नहुनेहरु पनि यसको सदस्य बन्न सक्छन् । कतिपयको त एकाउन्ट नै अर्काेले खोलिदिएको हुन्छ । त्यस्तो व्यक्तिहरुलाई आफ्नो सेक्युरिटी पासवर्ड समेत आफुलाई थाह हुदैन् । यस्तो खालको अनविज्ञता हुनु हुदैन । यसको प्रयोग गर्दा आफ्नो व्यक्तिगत सुरक्षालाई विषेश ध्यान दिनुपर्छ । पासवर्ड तथा व्यक्तिगत सुचनाहरुमा सवैको सहज पहुच हुन दिनु हुदैन । विभिन्न गिरोहबाट हुनसक्ने ठगि तथा जालसाजीको बारेमा सचेत रहनुपर्छ । विषेश गरी युवा युवतीहरु अत्यन्तै चनाखो हुनुपर्छ । एकअर्काेलाई पासवर्ड शेयर गर्न हुदैन । आफु वस्ने स्थान तथा अन्य व्यक्तिगत परिचय खुलाउने खालका सुचनाहरु सबैको पहुच पुग्ने गरी सार्वजनकि गर्न हुदैन । सामाजिक संजालमा देखिने असामाजिक सामाग्रीबाट आफुलाई टाढा राख्नु पर्छ । त्यसमा आफुलाई ट्याग गर्ने, शेयर गर्ने, लाईक गर्ने लगायतका काममा लाग्नु हुदैन । सामाजिक सांस्कृतिक सद्भाव तथा मानवीय मर्यादाको धज्जी उडाउने खालका गलत सामाग्रीबाट आफुलाई टाढा राख्नुपर्छ । क्षणिक आवेग तथा कुण्ठालाई सामाजिक संजालमा राखिहाल्ने प्रवृतिको विकास गर्न हुदैन । सामाजिक संजालको दुरुपयोगबाट हुने अपराध तथा गलत कार्य दण्डनीय हुन्छन् भन्ने कुरामा सदैव सचेत हुनुपर्छ । विद्युतीय कारोबार ऐन २०६३ अनुसार सामाजिक संजालको दुरुपयोग गरी गैरकानुनी सामाग्री प्रकाशन गर्नेलाई २ लाख सम्मको जरिवाना तथा ५ वर्ष सम्म जेल वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । त्यसतर्फ एकदम सचेत रहनुपर्छ । सामान्य रमाईलोको लागि गरिएको व्यवहारले फौजदारी सजाय भोग्नुपर्ने हुनसक्छ भन्ने कुरा हरदम मनमा राख्नु पर्छ । राजनीतिक,सामाजिक, सास्कृतिक तथा सम्प्रदायिक सद्भावमा खलल पुग्ने गलत कृत्यबाट आफ्नो व्यक्तित्वमा पुग्ने क्षतिको बारेमा समेत सचेत रहनुपर्छ । सामाजिक संजालले व्यक्तिको व्यक्तित्व मापन गरिरहेको हुन्छ भन्ने विचार गरि हरेक पोष्ट गर्दा आफ्नो व्यक्तित्वलाई ख्याल गर्नुपर्छ । हामी सामाजिक प्राणी हुनुको परिचय सामाजिक संजालमा झल्किनुपर्छ । सामाजिक संजालले व्यक्तिको पारिवारिक संस्कार समेत बोकेको हुन्छ । त्यसैले यसलाई सार्वजनिक महत्वको हिसाबले सोचिनुपर्छ । धन्यबाद ।।